काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लक्ष्मीपूजाको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू लक्ष्मीपूजाको शुभकामना दिएका हुन्।
प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमा लेखेका छन्,'आज तिहारको लक्ष्मीपूजा, सबैको घरआँगन उज्यालो होस् ,सबैको परिवारमा सुखशान्ति छाओस्।' सन्देशमा उनले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गरेका छन्।
आज तिहारको दोस्रो दिन। यस वर्षको तिथिको घटबढका कारण बिहान कुकुर पूजा र साँझा लक्ष्मीको पूजा गरिँदैछ। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधाना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर रातो माटोले लिपपोत गरेर चामलको पीठो र अवीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ।
आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ। आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्स्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए।
वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ।
भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका अवसरमा आज सहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ।
प्रतिक्रिया