गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४३
Dho

बाजुराबाट दिल्ली पुगेर छिमेकीको हत्या,अभियुक्त पक्राउ

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
बाजुराबाट दिल्ली पुगेर छिमेकीको हत्या,अभियुक्त पक्राउ

बाजुरा : भारतको दिल्लीस्थित चाँदनी चोक पुगेर योजनाबद्ध ढंगले आफ्नै छिमेकीको हत्या गरी फरार भएका एक जना अभियुक्तलाई बाजुरा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी चतुर्भुज ओझाका अनुसार बुढीगंगा नगरपालिका–७ बस्ने १९ वर्षीय देबेन्द्र बिक भनिने देबेन्द्र बहादुर लुहार पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

डिएसपी ओझाका अनुसार देबेन्द्र आफ्नै ३८ वर्षीय छिमेकी मंगल सिंह भनिने मंगले लुहारको हत्या गरी फरार भएका थिए । भारतीय प्रहरीको सहयोगमा बाजुरा ल्याएर उनी माथि कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

‘योजनाबद्ध ढंगले हत्या गरेको देखिन्छ,’ डिएसपी ओझाले भन्नु भयो । ‘गत फागुन १५ गते बिहान उनी आफ्नो उद्धेश्य पुरा गर्न दिल्ली पुगेको खुलेको छ । त्यो दिन मौका कुरेर बसेको र भोलिपल्ट राति ३ बजे चाँदनी चोक नजिकको सदर मार्केटमा मृतक सुतेको घरको ग्यालरीमा गई हत्या गरेको प्रमाण फेला परेको छ ।’

देबेन्द्रले सुतिरहेकै अवस्थामा टाउकोमा काठको मुंग्रोले ६ पटक प्रहार गरी हत्या गरेका थिए । सिसिटिभी फुटेजले त्यो रहस्य खोलिदिएको छ । हत्यापछि फरार रहेका अभियुक्तको नाममा चैत १५ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा मृतकका छोराले किटानी जाहेरी दिएका थिए ।

फरार अभियुक्तलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरी हिरासतमा राखी अनुसन्धान कार्य सुरु गरिएको छ । घटनास्थलबाट प्राप्त सिसीटिभि फुटेजमा अभियुक्तको हत्यामा संलग्नता रहेको खुलेको थियो ।

उक्त मुद्दाका अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले प्रतिवादीसँग जिल्ला न्यायाधिवक्ता समक्ष लिएको बयानमा समेत पूर्व रिसीवी साँध्न हत्या गरेको साबिति बयान दिएको बताइएको छ । 

ओझाले बाजुरा प्रहरीको नेतृत्व सम्हालेपछि फरार अभियुक्तहरुलाई पक्राउ गर्न अभियान नै चलाएका छन् । जघन्य अपराध गरी भारतमा घरजम गरेकाहरुलाई पनि कानूनी कठघरामा उभ्याउन उनी सफल भएका छन् ।  

प्रतिक्रिया