बाजुरा : गौमुल गाउँपालिकामा रहेको घट्मुना आधारभुत अस्पतालले दिने सेवाबाट सेवाग्राही सन्तुष्ट देखिएका छन् । अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा सहज र बिरामी मैत्री रहेको भन्दै सेवाग्राहीले सन्तुष्टी जनाएका हुन् । अस्पतालमा गरिएको सामाजिक परीक्षणमा सहभागी सेवाग्राहीले सेवा प्रभावकारी र गुणस्तरीय पाईरहेको धारणा राखेका छन् ।
पीसविन, यूएनएफपीए र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा गरिएको सामाजिक परीक्षणमा स्थानीय सेवा क्षेत्रका स्थानीयले अस्पताल सञ्चालनपछि उपचार सेवामा सहज भएको बताएका छन् । अस्पताल सञ्चालन पूर्व यहाँका स्थानीय जिल्ला अस्पताल मार्तडी धाँउन बाध्य थिए ।
सेवाको गुणस्तर, सेवा प्रवाहको अवस्था, स्वास्थ्यकर्मीको व्यवहार, अस्पतालको पारदर्शीता र जवाफदेहिता, औषधीको उपलब्धता सहित सुत्केरी सेवा, पोषण, परिवार योजना, स्वास्थ्य सचेतनाका विषयलाई आधार बनाएर सामाजिक परीक्षण गरिएको छ ।
स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य, वडाका जनप्रतिनिधि, सेवाग्राही र अन्य सर्वसाधारण सहितको उपस्थितिमा सामाजिक परीक्षण गरिएको हो । भौतिक अवस्था देखि सेवा प्रवाहमा सेवाग्राहीले खुलेरै प्रशंसा गरेका छन् । कुनै दोष दिने ठाउँ नै छैन्, बोली व्यवहार देखि सेवा दिने तरिका र उपचार सेवाले स्थानीयको मन जितेको वडा अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।
घट्मुना अस्पतालमा गौमुल गाउँपालिका बाहेक छिमेकी पालिका खप्तड छेडेदह र बडीमालिका नगरपालिकाबाट पनि सेवाका लागि आउने गरेका छन् । एक गएको वर्ष मात्रै ७ हजार ४ सय बढी विरामीले अस्पतालबाट सेवा लिएका छन् ।
१८ जनाले संस्थागत सुत्केरी गराएकोमा १४१ जना परिवार योजनाका साधन प्रयोग गर्ने प्रयोग कर्ता रहेका छन् । ९८ प्रकारको औषधी राज्यले दिने गरेको र पालिकाका तर्फबाट थप १२ गरी १ सय १० प्रकारका औषधी निःशुल्क दिने गरिएको छ ।
२४ घण्टा प्रसूति सेवा दिने गरिएको छ । भने एक्सरे, ल्याव, फार्मेसी सहित सामान्य अवस्थाको सर्जरी, अप्रेशन सेवा पनि दिने गरिएको छ । दैनिक ४० देखि ५० जना बढीले सेवा लिने गरिएको कार्यालय प्रमुख डाक्टर रामानुज प्रसाद हाथीले जानकारी दिएका छन् । १७ जना स्वास्थ्यकर्मी कार्यरत अस्पतालमा नियमित चेकजाँच देखि परिवार योजनाका साधन प्रयोग कर्ताहरु बढेको देखिन्छ ।
पालिका अभिमुखिकरण, तथ्याङ्क संकलन, सेवाग्राही सहित स्वास्थ्य व्यवस्थापन समिति, स्वास्थ्य आमा समूहसँगको छलफलपछिको प्रतिवेदन सहित सामाजिक परिक्षण गरिएको हो । अस्पतालको अवस्था र सेवाको गुणस्तर हेर्दा निकैराम्रो लागेको सामाजिक परीक्षणमा सहभागी पीसविनका निर्मला खडायतले बताएकी छन् ।
बिरामी संख्या, उपचार प्रतिको कर्मचारीको जवाफदेहिता प्रशंसायोग्य छ, खडायतले भन्नु भयो । स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवम् गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको सामाजिक परीक्षणमा ६० बढी सेवा क्षेत्रका सरोकारवाला र सेवाग्राही सहभागी बनेका थिए ।
सामाजिक परीक्षणबाट एक वर्षका लागि स्वास्थ्य अवस्था सुधार बारे कार्ययोजना समेत निर्माण गरिएको छ । एमबीबीएस तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने, बर्थिङ्ग सेन्टरका लागि सोलार जडान गर्ने, व्यवस्थापन समितिको बैठक नियमित गर्ने, आमा समूहको बैठकमा स्वास्थ्यकर्मीको नियमित अनुगमन र सचेतना कक्षा सञ्चालन गर्ने, परिवार योजनाका साधन प्रयोग कर्ता बढाउने योजनामा राखिएको छ ।
यस्तै आमा समूहको बैठकमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खाजाको व्यवस्थापनका लागि पहल गर्ने, स्वास्थ्य स्वयंम सेविकाको कार्य सम्पादनको आधारमा रिक्त रहेको स्थानमा तत्काल पूर्ति गर्ने, बिरामीका लागि फिल्टरको खानेपानी व्यवस्थापन गर्ने योजना पनि अघि सारेको छ । यो वर्ष गौमुल गाउँपालिकाका घट्मुना आधारभुत अस्पताल र मानाकोट स्वास्थ्य चौकीमा सामाजिक परीक्षण गरिने भएको छ ।
प्रतिक्रिया