बाजुरा : नेकपा (एमाले) बाजुराले मंसिर १६ गते हुने उपनिर्वाचन केन्द्रीत हुने निर्णय गरेको छ । पार्टी जिल्ला कमिटीको मार्तडीमा बसेको तेस्रो पूर्ण बैठकले मंसिर १६ मा उपनिर्वाचन हुने गरी मिति तोकिएसँगै तयारी केन्द्रीत हुने निर्णय गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचन हुने भएको छ । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
पार्टीको बैठकले उपनिर्वाचन केन्द्रीत भएर गतिविधी अघि बढाउने तयारी थाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका नेकपा एमालेको किल्ला हो । २०४८ सालदेखि नै साविक जुकोट, वाई साप्पाटा गाविस एमालेकै प्रभावमा रहेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।
तर नेकपा पछिको एमाले विभाजन पछि स्वामीकार्तिकमा नेपाली काँग्रेसले पकड जमाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र अलग–अलग उम्मेदवारका साथ लडेपछि एमाले दोस्रो स्थानमा झरेको हो । ५ वटा वडा मध्ये १ मा मात्रै जित हात पारेर एमालेले चित्त बुझाएको छ ।
यो पटकको उपनिर्वाचनमा एमालेले उपाध्यक्ष भएपनि एक पद आफ्नो पक्षमा पार्ने योजना सहित अघि बढ्ने निर्णय गरेको छ । पार्टी चुनावी गतिविधी अघि बढाउने, विपक्षसँगको रणनीति तय गर्ने गरी टिम बनाउने जिम्मा सचिवायलाई दिएको छ । पार्टी जिल्ला कमिटीको पूर्ण बैठकले सबै अधिकार सचिवालयलाई दिएको हो । नेकपा एमालेमा २३ सदस्यीय सचिवालय बनेको छ ।
पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि पार्टी उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली रहेका थिए । ज्ञवाली प्रशिक्षण कार्यक्रममा भाग लिन बाजुरा आएका हुन् ।
पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश उपाध्यक्ष कालीबहादुर शाही सहित बैठकमा सहभागी थिए ।
बैठकबाट पार्टी जिल्ला कमिटीको आगामी कार्ययोजना पनि पारित गरिएको छ । वडा, टोल देखि पालिकासम्मका संगठन निर्माण, प्रशिक्षण सहितका कार्यक्रम योजना सहित सञ्चालन गर्न एमाले बाजुराले वार्षिक कार्ययोजना बनाएको छ ।
प्रतिक्रिया