गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:५२

एमालेको तीन दिने जिल्ला स्तरीय प्रशिक्षण सदरमुकाम मार्तडीमा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १२, २०८१
एमालेको तीन दिने जिल्ला स्तरीय प्रशिक्षण सदरमुकाम मार्तडीमा सुरु

बाजुरा : नेकपा एमाले बाजुराले तीन दिने पार्टी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । पार्टी जिल्ला कमिटीका सदस्य नेताहरु लक्षित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।

कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा जारी रहेको छ । गएको ज्येष्ठमा सम्पन्न आठौं जिल्ला अधिवेशन पछिको बैठकले असोजमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । नेता, नेतृत्व, संगठनात्मक पार्टी संरचना, जनताको बहुदलीय जनवाद, पार्टी सञ्चालन शैक्षिक र सामाजिक सञ्जाल प्रयोग बारे नेताहरुलाई प्रशिक्षण दिन लागिएको हो ।

प्रत्येक जिल्ला कमिटी सदस्यलाई पार्टीको प्रशिक्षक कै रुपमा उत्पादन गर्ने र जिम्मेवारी पाएका वडा, पालिका कमिटीका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने लक्ष्य एमाले बाजुराले राखेको छ । बाजुरामा लामो समयपछि तीन दिन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो ।

पार्टी जिल्ला कमिटीका पदाधिकारी, सदस्य, एमाले पार्टीमा आस्थावान पालिका प्रमुख उप्रमुख र लेखा आयोगका पदाधिकारीहरुलाई प्रशिक्षणमा सहभागी गराईएको छ । दैनिक १२ घण्टा अनिवार्य प्रशिक्षण कक्षा सञ्चालन तालिका बनाईएको सचिव काँशी विकले जानकारी दिएका छन् ।

प्रशिक्षणका लागि तीन दिनको बसाई लिएर नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली बाजुरा आएका छन् । स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवाली, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, पोलिटव्यूरो सदस्य समेत रहेका विभागका सदस्य राजेन्द्र सिंह रावल सहितले प्रशिक्षण दिने कार्य तालिका तय गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही सहितले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । नेकपा एमालेले यतिबेला देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नेतृत्व क्षमता विकासका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमले पालिका, वडा र टोल स्तरका नेता कार्यकर्तालाई समेत योग्य र जिम्मेवार बनाउने गरी क्षमता विकास गर्ने योजनामा एमाले देखिएको छ । जिल्ला कमिटीमा बस्ने, जिम्मेवारी लिने तर नेता, नेतृत्व र संगठन बारे जानकारी नहुने समस्या बढीरहेको निष्कर्ष सहित एमालेले देशव्यापी प्रशिक्षण सुरु गरेको हो ।

पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहको सञ्चालन सचिव काँशी विकले गरेका छन् । प्रशिक्षणमा सामाजिक सञ्जालको प्रयोग र उपलब्धी बारे पनि जानकारी गराईने भएको छ । प्रशिक्षणमा ९० जना बढी जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको छ ।
 

प्रतिक्रिया