बाजुरा : बाजुरामा भरुवा बन्दुक प्रहार गरी एक जना घाईते भएका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ रिउडाका ५४ वर्षीया वीर बहादुर शाही बन्दुकको गोली लागेर घाईते भएका हुन् ।
असोज ५ गते राति १० बजे तिर सोही रिउडा टोलकै अन्दाजी २७ वर्षीया प्रवेश शाहीले सोही ठाउँका अन्दाजी ४० वर्षीया धिरेन्द्र शाहीलाई बन्दुक प्रहार गर्न खोज्दा वीर बहादुर शाहीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताएका छन् ।
प्रवेशले आफूलाई बन्दुकको गोली हान्न खोज्दा धिरेन्द्र शाहीले बन्दुकको नाल समातेर साईट लगाउन खोज्दा प्रवेश शाहीले बन्दुक पड्काएपछि वीर बहादुर शाहीको निधारमा चोट लागेर घाईते भएका हुन् ।
बन्दुक पड्काउने प्रवेश शाहीलाई प्रहरी चौकी स्वामीकार्तिक र ईलाका प्रहरी कार्यालय कोल्टीबाट खटेको टोलीले असोज ६ गते भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बोहराले जानकारी दिएका छन् ।
शाहीलाई बाजुरा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (ज्यान मार्ने उद्योग) र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
घाईते वीर बहादुर शाहीको कोल्टी आधारभुत अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया