गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५९
Dho

जीर्ण गुईगाड पुलमा जोखिम मोलेरै यातायात सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०१, २०८१
जीर्ण गुईगाड पुलमा जोखिम मोलेरै यातायात सञ्चालन

बाजुरा : बाजुरा जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साफे मार्तडी सडक खण्डमा पर्ने गुईगाड खोलाको पक्की ट्रस ब्रिज पुल निर्माण कम्पनीको लापरबाहीका कारण जीर्ण भएको छ। 

जसका कारण जोखिम पूर्ण ट्रस ब्रिजमा सवारी साधन सञ्चालन गर्न स्थानीय बाध्य छन्। २०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ५ करोड ९६ लाख १ सय १२ रुपैयाँमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो। 

निर्माणको जिम्मा पाएको कम्पनीले विभिन्न बहाना बनाउँदै सम्झौता अनुरूप काम सम्पन्न गर्न सकेन। सम्झौता अनुरूप काम सम्पन्न नगरेपछि थप २०७१ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपेको थियो। थप गरिएको समयमा समेत निर्माण सम्पन्न नगरे गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले बताएको छ। 

ताकेता दिँदा २०७५ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी पछि पक्की ट्रस ब्रिजको चेकजाँच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनुपर्ने सामग्री इस्टिमेट अनुसारको जडान नभएको सडक डिभिजन कार्यालय साँफेबगरले बताएको छ। 

६ वर्षअघि मात्रै निर्माण कार्य सम्पन्न भएको ६० मिटर लम्बाइ पुलले ४५ टन लोड भार धान्नुपर्ने हुन्छ। पुलको लोड टेस्टका लागि सडक डिभिजन कार्यालय साँफेबगर अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा ३० टन लोड समेत धान्न नसकेर पुल लच्किएर चर्किएपछि पुल पास भएको छैन। 

जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेर पुल सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ। पुलले स्टिमेट अनुसारको क्षमता अनुरूप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुलको पुनः निर्माण हुनुपर्ने स्थानीयहरूले बताएका छन्। 

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले पुलको लोड जाँच गर्दा धेरै लोड धान्न नसकेपछि दुर्घटना नहोस् भन्ने उद्देश्यले एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताएका छन्। पुलको साइटमा एक पटक एक मात्र सवारी साधन आउजाउ गर्न साइन बोर्ड टाँसिएको छ। कुन सवारी साधन कति क्षमताको भन्ने नै छैन। एउटा मोटर साइकल मात्र आउजाउ गराउने की बस मात्र गराउने की लोड ट्रकहरू गराउने नखुल्दा बढी जोखिम भएको यातायात व्यवसायीहरूले बताएका छन्। 

२०६८ साल निर्माण कार्य सुरु गरिएको पुल गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेर लामो समयसम्म निर्माण कार्य पूरा नभएपछि पुलको साइटबाट लेन्टर खुइलिएर सरिया देखिन थालेका छन्। साइटका पिलरका भाग गुईगाड खोलाले बगाएर जमिन भन्दा माथि निस्किएका छन। पिल्लरको सुरक्षाका लागि कसैले पनि ध्यान नदिएको स्थानीय बताउँछन्। 

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गुईगाड पुल जोखिममा रहेको छ। पिल्लर सुरक्षाका लागि सडक डिभिजन कार्यालय साँफेबगरलाई धेरै पटक जानकारी गराएको बताए। निर्माण कम्पनीले पुल हस्तान्तरण नगरेकाले सडक डिभिजनले काम गर्न नमिल्ने जवाफ आउने गरेको प्रमुख जिल्ला अधिकारी पोडेलले बताए।

सडक डिभिजन कार्यालय साँफेबगर अछामका प्रमुख  रमेश चौधरीले निर्माण कम्पनीले काम पुरा नगरेको  बताए। पुल जोखिम हुँदै गएको छ निर्माण कम्पनी राजेन्द्र थिगिन जेवीले सडक डिभिजनलाई हस्तान्तरण नगरेको बताए। आफूले निर्माण कम्पानीलाई ट्रस ब्रिज पक्की पुल आवश्यक मर्मत गरेर हस्तान्तरण गर्न धेरै पटक पत्राचार गरेको भएपनि अटेर गरेका कारण मर्मत कार्य अलपत्र परेको प्रमुख चौधरीले बताए। निर्माण कम्पनीले हस्तान्तरण नगर्दासम्म सडक डिभिजनले मर्मत कार्य गर्न नमिल्ने बताए। 

सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ। ५ करोड ९६ लाख १ सय १२ रुपैयाँमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा ५ करोड २८ लाख २० हजार ५७ रुपैयाँ निकासा भइसकेको छ।  

प्रतिक्रिया