गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२३
Dho

भारतमा चोरी गर्ने गिरोह सक्रिय, फस्दै सुदूरपश्चिमका निर्दोष मजदुर

गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २६, २०७८
भारतमा चोरी गर्ने गिरोह सक्रिय, फस्दै सुदूरपश्चिमका निर्दोष मजदुर

धनगढीः केही दिन अगाडि भारतीय प्रहरीले पंजावमा नगदसहित केही सामान चोरी गरेको आरोपमा डोटीका चार जनालाई पक्राउ गर्‍यो। चोरी भएको घटना सत्य भए पनि पक्राउ परेकाहरु भने उक्त चोरीमा संलग्न भएका थिएनन्। उक्त चोरीमा संलगन भएका चार जना भने नेपाल प्रवेश गरिसकेका थिए।

दुई लाख बढी नगदसहित अन्य सामान चोरी गर्नेहरु फरार भएपछि निर्दोष मजदुर भारतीय प्रहरीको फन्दामा पर्ने गरेको भारतमा मजदुरी गर्दै आएका सिद्धराज बमले बताए। ‘ती चोरहरुका कारण हामी जस्ता इमान्दार मजदुरी गरी खानेलाई दुःख छ,’ उनले भने, ‘यहाँको प्रहरी प्रशासनले हाम्रो कुरा सुन्ने पनि गरेको छैन।’

उक्त चोरीको घटनामा संलग्न भएकालाई कैलाली प्रहरीले पक्राउ समेत गरिसकेको छ। तर भारतमा पक्राउ परेका नेपालहरु भने भारतीय प्रहरीको हिरासतबाट छुटेका छैनन्। चोरीमा संग्लन व्यक्ति पनि नेपाली भएकै कारण भारतीय प्रहरीले डोटीका सोझा चार जना मजदुरलाई पक्राउ गरेको भारतमै मजदुरी गर्दै आएका कविराज बमले बताए। ‘हामीलाई यहाँको कानूनको बारेमा पनि केही थहा छैन,’ उनले भने, ‘नेपाल प्रहरीलाई सहयोग गर्न माग गर्दछु।’

यस्तै चैत पहिलो साता ससुराली घरबाट अपहरणमा परेका भनिएका कैलालीका एक पुरुष भारतीय प्रहरीको हिरासतमा फेला परे। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरका मीनबहादुर शाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ स्थित ससुराली घरबाट नेपालीले नै भारतीय प्रहरीको हिरासतमा पुगाएको खुल्यो।

अनुसन्धान गर्दै जाँदा शाह पनि भारतमा चोरीमा संलग्न रहेको खुलेको कञ्चनपुर प्रहरीले जनाएको छ। चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो। तीनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतसम्म पुगाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। ‘अन्य नेपालीलाई पनि त्यो घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘चोरी गर्नेहरुका कारण अन्यलाई समेत समस्या हुने गरेको छ।’

भारतमा चोरी गर्ने नेपालीहरुलाई दुबै देशको कानूनको बारेमा समेत ज्ञान हुने हुँदा उनीहरु भाग्न सफल हुने गरेका छन्। कतिपय घटनामा संलग्नहरु मात्रै पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ। तर चोरीका घटनाले इमान्दारिताका साथ काम गर्ने नेपाली मजदुरहरुलाई भने समस्यामा पार्न थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘यसरी चोरी गर्नेहरु व्यवसायीक रुपमा नै लागेका छन्। उनीहरुलाई दुबै देशको कानूनको बारेमा पनि जानकारी हुन्छ। तर, अन्य मजदुरी गर्नेलाई भने यसले गर्दा मर्का पर्ने गरेको छ,’ उनले भने। 

भारतमा चोरी गर्ने केही नेपालीका कारण अन्य मजदुर भारतीय प्रहरीको नियन्त्रणमा पुग्नु पर्ने बाध्यता छ। यो प्रवृतीको अन्त्यका लागि नेपाली प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने माग भारतमा मजदुरी गर्दै आएका नेपालीको छ।

प्रतिक्रिया