गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०३:०७

यस वर्षकाे एसईई नतिजा केन्द्रीत समीक्षा गर्दै शिक्षा समन्वय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार २१, २०८१
यस वर्षकाे एसईई नतिजा केन्द्रीत समीक्षा गर्दै शिक्षा समन्वय

बाजुरा : जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा केन्द्रीत छलफल गर्ने भएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा पुगेर समग्र यस वर्षको (एसईई) नतिजाका विषयमा व्यापक रुपमा छलफल गर्ने शिक्षा तथा समन्वय इकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका छन् ।

जिल्ला शिक्षा समितिको बिहीबार बसेको बैठकले सबै पालिकामा टोली गएर जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक लगायत सरोकारवालासंग घनीभूत छलफल गर्ने भएको छ ।

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सन्तोषजनक रुपमा नआएको निष्कर्ष बैठकले गर्दै समग्र शैक्षिक गुणस्तर सुधार केन्द्रीत बन्ने गरी शिक्षा समन्वय सक्रिय बन्ने भएको छ ।

जिल्लामा (एसईई) परीक्षाको नतिजा लाजमर्दो आएको आलोचना भईरहेको बेला जिल्ला शिक्षा समितिको बैठक बसेको हो । बैठकले नतिजा खस्किनुमा सबैको कमजोरी भएको समीक्षा गरिएको छ ।

सम्पूर्ण स्थानीय तहका विद्यालयगत रुपमा सरोकारवालाहरुसंग समन्वय गरी समीक्षा गर्ने र न्यून नतिजा देखिएका विद्यालयहरुलाई प्राथमिकतामा राखेर शैक्षिक सुधारबम लागि योजना निर्माणमा सहजीकरण र योजना कार्यान्वयन अनुगमन गर्ने निर्णय बैठकले गरेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेयले बताएका छन् ।

१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाका ६७ वटा विद्यालयहरु परीक्षामा सामेल भएका थिए भने ६ वटा विद्यालयहरुले शुन्य नतिजा प्राप्त गरेका छन् ।

(एसईई) २०८० को नतिजा विश्लेषण गर्दा जिल्लाबाट सम्मेलित कुल २ हजार ८ सय ३४ परीक्षार्थी सहभागी भएका मध्ये ३५.४६ प्रतिशत अर्थात् १००५ जनाले २.० देखि ४.० सम्म जीपीए प्राप्त गरेका र १ हजार ८ सय २९ जनाले ननग्रेड प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको नतिजा विश्लेषणमा बाजुरा तेस्रो स्थानमा र जिल्लामा संस्थागत विद्यालय क्रियटर जोन एकेडेमी पहिलो बनेको छ । उक्त विद्यालयका परीक्षामा सहभागी विद्यार्थी किरण खड्का उत्कृष्ट भएका छन् ।

जिल्लामै सबैभन्दा बढी (एसईई) २०८० को नतिजामा ३.८० जीपीए ल्याएर खड्का जिल्ला उत्कृष्ट भएका हुन् । त्यस्तै सामुदायिक विद्यालयतर्फ भानोदय मावि नौविसका विद्यार्थी जीवन जैशीले ३.६९ जीपीए ल्याएर उत्कृष्ट भएका छन् ।

भने क्रियटर जोन एकेडेमी अर्को विद्यार्थी प्रतिविम्ब विकले ३.६७ जीपीए ल्याएर उत्कृष्ट भएका हुन् । यस्तै सामुदायिक विद्यालयतर्फ जनप्रकाश मावि कोल्टीका विद्यार्थी छात्रातर्फ ओलीभीया भण्डारीले ३.६६ जीपीए ल्याएर उत्कृष्ट स्थान ल्याउन सफल भएकी छन् ।
 

प्रतिक्रिया