गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३१
Dho

संघीय सरकारले निर्माण गरिरहेको डिभोटी–पिपलचौतारा सडकमा विवाद

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २३, २०७८
संघीय सरकारले निर्माण गरिरहेको डिभोटी–पिपलचौतारा सडकमा विवाद

वीरेन्द्र भट्ट, धनगढीः धनगढीमा संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत निर्माणाधिन सडकमा विवाद देखिएको छ। एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा निर्माण सुरु भएको डिभोटी–पिपलचौतारा सडक कालोपत्रे नहुँदै विवादित बनेको हो। 

आयोजनामार्फत निर्माणाधिन ८ सय ७० मिटर लामो सडक कालोपत्रे गर्दा मापदण्डविपरीत निर्माण सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयले विरोध गरेका छन्।  सडक कालोपत्रे गर्दा निर्माण सामग्री नै कमसल प्रयोग भएपछि सडक निर्माण विवादमा परेको स्थानीय धर्मराज पन्तले बताए। ‘सडक कालोपत्रे गर्दा सानो आकारको गिट्टी प्रयोग गर्नुपर्नेमा ठुलो गिट्टी प्रयोग हुन थालेपछि निर्माण कार्य रोक्नुपरेको हो’ उनले भने, ‘हाल चार दिनदेखि निर्माण कार्य ठप्प छ।’

विगत लामो समयदेखि अलपत्र यो सडक अहिले आएर कालोपत्रे सुरु भएपनि मापदण्डविपरीत निर्माण सामग्रीको प्रयोग भएको पाइएपछि स्थानीयले अहिलेकै अवस्थामा निर्माण गर्न नहुँने भन्दै विरोध गरेको अर्का स्थानीय महेश महताले बताए।

सडक निर्माणको काम इस्टिमेट विपरीत भएपछि निर्माण कार्य अहिले रोकिएको हो। होटल डिभोटी र पिपलचौतारामा गरी दुई स्थानमा निर्माण सामग्री राखिएपछि आवागमन नै रोकिएको छ।  स्थानीयले मापदण्डअनुसार निर्माण कार्यलाई अघि बढाउन क्षेत्रीय सहरी विकास आयोजना र ठेकेदार कम्पनीलाई आग्रह समेत गरेका छन्। 

एशियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा साढे १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ। तर निकै ढिलोगरी कालोपत्रेको काम सुरु गरिएको डिभोटी पिपलचौतारा सडक सुरुमै विवादमा परेपछि सडक कालोपत्रेको काम ठप्प छ। सडक कालोपत्रे गर्दा पूर्णरुपमा मापदण्डको पालना हुनुपर्ने स्थानीयको माग छ। 

स्थानीयले निर्माण कार्य अघि बढ्न नदिएपछि क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले इस्टिमेटअनुसार नै काम अघि बढाउने बताएको छ। निर्माण सामग्रीको प्रयोग गर्दा थोरै कमजोरी देखिएकाले निर्माण कार्य रोकिन गएको आयोजना कार्यालय धनगढीका प्रमुख प्रविन शाहले बताए। ‘सडक कालोपत्रे गर्दा प्रयोग हुने गिट्टीको साइजमा फरक परेकाले पुनः सुधार गरेर काम अघि बढाउने तयारी भइरहेको छ,’ शाहले भने।

संघीय सरकार अन्तर्गत धनगढीमा निर्माणाधिन अन्य सडकको काम पनि सुस्त छ। धनगढी मुख्य बजारस्थित ट्राफिक चोकदेखि कैलाली नालासम्म, धनगढी मुख्य बजारदेखि उत्तर जोड्ने मालपोत सडक र धनगढी–गुल्म–चर्च सडकको काम अझै सुरु भएको छैन।
 

प्रतिक्रिया