रसुवा : लेन्देखोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण रसुवामा ३,७८४ जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। हालसम्म १,४६१ जनाको उद्धार भएको छ भने १५ जनाको सनाखत भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सनाखत हुनेहरूमा उत्तरगया गाउँपालिका-५ का ३४ वर्षीय जनक आचार्य, ६५ वर्षीया गंगादेवी श्रेष्ठ, ८६ वर्षीया पुदुली तामाङ, ५९ वर्षीय आशावीर तामाङ र ३२ वर्षीय आशिष बानियाँ रहेका छन्।
त्यसैगरी गोसाइँकुण्ड गाउँपालिका-६ का ४३ वर्षीया छिरिङ ग्याम्जो तामाङ, वडा नं. २ का फुर्पुडिण्डुप तामाङ, वडा नं. ५ का लाक्पा तेन्जिङ तामाङ, नुवाकोटको बेलकोटगढी नगरपालिका-५ का रामबहादुर भुजेल, विदुर नगरपालिका-५ का राकेश न्यौपाने, धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ का ३२ वर्षीय विमल त्रिपाठी, कास्कीको पोखरा महानगरपालिका-२६ का सरोज पाण्डे, विदुर नगरपालिका-१० का तिलकबहादुर थापा मगर, सोही वडाका श्यामबहादुर थापामगर र रामेछापको मन्थली नगरपालिका-११ का मिनराज मोक्तान रहेका छन्।
हालसम्म रसुवामा १९९ जनाको शव संकलन भएकोमा १५ जनाको मात्र सनाखत भएको हो। बाँकी शवहरूमध्ये १३८ जनाको मुचुल्का उठाएर डीएनए परीक्षणका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव अधिकारीले जानकारी दिए।





प्रतिक्रिया