बाजुरा ः बुढीगंगा नगरपालिका-२ बल्देस्थित बुढीगंगा नदीको किनारमा एक ८२ वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब ११ बजेको समयमा नामथर तथा ठेगाना नखुलेका एक पुरुषको शव नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बिट बल्देबाट तीन जना प्रहरी घटनास्थलमा पुगेका थिए। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगन सिंह भाटको नेतृत्वमा सात जनाको प्रहरी टोली समेत घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे मृतकको पहिचान खुलेको हो।
मृतक त्रिवेणी नगरपालिका-९ का अन्दाजी ८२ वर्षीय पदम खत्री रहेको उनका छोरा बलबहादुर खत्रीले सनाखत गरेका हुन्। प्रहरीले शव सडेगलेको अवस्थामा फेला परेको जनाएको छ। स्थानीयका अनुसार खत्री करिब एक सातादेखि घरबाट सम्पर्क विहीन थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।





प्रतिक्रिया