गाैमुल खबर डटकम मङ्गलबार १६, भदौ २०८३ १०:०८

कैलालीको एकै गाउँका ५ जना रसुवा बाढीमा भाग्यले बाँचेर अटो चढेर घर फर्किए

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ १६, २०८३
कैलालीको एकै गाउँका ५ जना रसुवा बाढीमा भाग्यले बाँचेर अटो चढेर घर फर्किए

धनगढी ः भदौ १० गते त्रिशूलीको थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा सरिया (फलामे डण्डी) मिलाउने काम गर्दै थिए कैलालीको भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरी । उनी त्यहाँ गएको एक महिना १० दिन भएको थियो ।

भदौ १० गते बिहान सुरुङभित्रै काम गरिरहेको अवस्थामा एक्कासि ठुलो हावाहुरी चलेको जस्तो भयो । उनीसँगै काम गर्ने एक जना चिनियाँ नागरिक ‘के भएको रहेछ, म हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिर निस्किए । सन्तोष र उनका साथीहरू भने सुरुङभित्रै काम गरिरहेका थिए ।

बाहिर गएका ती चिनियाँ नागरिकले माथिबाट ठुलो बाढी आउँदै गरेको भन्दै सुरुङभित्रका मानिसलाई खबर गरे । त्यसपछि सन्तोष र उनका साथीहरूले बाढी आएको थाहा पाए । ‘सुरुङभित्र धेरै जना काम गरिरहेका थियौँ । कति थियौँ भन्ने यकिन सङ्ख्या त थाहा छैन,’ सन्तोषले भने ।

बाहिरबाट बाढी आएको खबर पाएपछि ज्यान जोगाउन हतार–हतार बाहिर निस्किएको उनले सुनाए । नभन्दै बाढी सुरुङ आसपासको क्षेत्रमा आइपुग्यो । उनीसँगै करिब ४० जनाजति बाहिर निस्किए । उनी र उनका साथीहरू भाग्दै माथि उच्चो भागतर्फ चढे ।

‘कति साथी भाग्न पाए, कति साथी भाग्न पाएनन् भन्ने थाहा भएन । भजनी, टीकापुर र जानकीका गरी कैलालीबाट गएका १३ जना नै भाग्न सफल भयौँ,ु सन्तोषले भने ।

सन्तोषका अनुसार सुरुङबाट निस्किएर करिब ४० जनाको टोली पहाडतिर चढ्यो । उनीहरूसँगै काम गर्ने ती चिनियाँ नागरिकले पनि उनीहरूलाई डेरातिर नजान र माथि चढ्न भनेका थिए । ‘अझै नदी बढ्छ, माथि–माथि चढ’ भन्दै उनले सचेत गराएका थिए ।

बाढी केही शान्त भएपछि मात्रै उनीहरू डेरामा फर्किए । उनीहरू बसेको कोठामा भने क्षति भएको थिएन, तर आसपासका बैंक, कम्पनीका कार्यालय र धेरै घर नदीले बगाएको थियो ।

त्यो दिनभरि मोबाइलको नेटवर्क थिएन । घरमा फोन गरेर आफू सकुशल रहेको खबर दिनसमेत नपाएको उनले सुनाए । राति निन्द्रा पनि लागेन । भदौ ११ गते उनीहरू फेरि सबैभन्दा उच्चो डाँडामा गए । उद्धारका लागि हेलिकप्टर आउने आशामा उनीहरू त्यहाँ पुगेका थिए, तर हेलिकप्टर आएन । त्यसपछि उनीहरू फेरि कम्पनी रहेको ठाउँमा फर्किए ।

त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गर्‍यो । उनीहरूलाई सेनाको क्याम्पमा लगियो ।

‘हामी सबै साथीहरू कैलालीबाट काम गर्न सँगै गएका टोलीका हौँ । हामीमध्ये कसैलाई केही भएन । ज्यान बचाएर भाग्यौँ,’ सन्तोषले भने ।

सन्तोषको गाउँ भजनीकै पाँच जना त्यहाँ काम गर्न गएका थिए । कैलालीका टीकापुर, जानकी र भजनीका अन्य वडाका गरी उनीहरू १३ जना थिए । तीमध्ये सबैजसो सकुशल फर्किएका छन् ।

भदौ १२ गतेको रात सेनाको क्याम्पमा उनीहरूलाई खाना र बस्ने व्यवस्था गरियो । भोलिपल्ट भदौ १३ गते सेनाले बसमार्फत उनीहरूलाई काठमाडौँ पठायो । काठमाडौँमा भदौ १४ गते उनीहरूलाई घर फर्किन पाँच हजार रुपैयाँ भाडा दिइयो । त्यसपछि उनीहरू कैलालीतर्फ आए ।

भदौ १५ गते सोमबार सन्तोषसहित एउटै गाउँका पाँच जनाको टोली घर आइपुगेको छ । अटो चढेर गाउँ पुग्दा गाउँलेहरु सबै खुसी भएको सन्तोषले सुनाए ।

‘हामी बाँच्न सफल भयौँ । नयाँ जीवन लिएर घर फर्किएका छौँ,ु सन्तोषले भने । उनका अनुसार सुरुङभित्र काम गर्ने अरू धेरै मानिस अझै सम्पर्कविहीन छन् ।

सन्तोषको घरमा आमाबुवा र दाजु छन् । छोरा सकुशल घर फर्किएपछि परिवारमा खुसी छाएको छ । उनीहरूसँगै काम गर्ने टीकापुर नगरपालिकाका जीतराम चौधरी, अनिषकुमार डगौरा थारु, टीकापुर–६ का, प्रदेशी चौधरी, टीकापुर–५ का, गौरवा चौधरी, जानकी गाउँपालिका–७ का लगायत पनि सकुशल फर्किएका छन् ।

सन्तोष चौधरीसँगै भजनी नगरपालिका–१ का सरोजकुमार चौधरी, लक्ष्मण डगौरा, आकाश डगौरा, सुधराम थारु, भजनी नगरपालिका–८ का, रामस्वरूप चौधरी, टीकापुर नगरपालिका–१ का बालकृष्ण चौधरी, भजनी नगरपालिका–१ का प्रेमबहादुर डगौरा र जानकी गाउँपालिका–७ का छुनुकराम डगौरा पनि सकुशल घर फर्किएका छन् ।

उनीहरु भाग्यले बाँचेको बताउँछन् । केही क्षण ढिला भएको भए अवस्था अर्कै हुन सक्थ्यो, सन्तोषसँगै फर्केका आकाश डगौराले भने ।

सुदूरपश्चिमका धेरै परिवारका लागि अझै प्रतीक्षा सकिएको छैन । सुदूरपश्चिममा अझै १ सय ४० भन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइएको छ । आफन्तहरू उनीहरूको खोजीका लागि दैनिक सम्बन्धित निकायमा फोन गरिरहेका छन् ।

प्रहरीका अनुसार आइतबारसम्म ३६ जना सम्पर्कमा आइसकेका छन् । तीमध्ये कैलाली र कञ्चनपुरका ३५ जना छन् । एक जना भने डडेल्धुराका छन् ।

प्रतिक्रिया