बाजुरा ःत्रिवेणी नगरपालिका-९, ताम्सुकी धौली रावलको परिवार माथि एकपछि अर्को ठूलो विपत्ति आइपरेको छ। केही समयअघि मात्रै श्रीमान् गुमाउनुभएकी रावल अहिले पहिरोमा परी गम्भीर घाइते भएपछि जीवन र मृत्युको दोसाँधमा उपचाररत हुनुहुन्छ।
श्रावण २८ गते राति परेको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोमा परी रावल गम्भीर घाइते हुनुभएको हो। उहाँको अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल मार्तडी, बाजुरामा प्रारम्भिक उपचार गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रेफर गरिएको हो।
हाल उहाँ सेती प्रादेशिक अस्पतालको ICU मा उपचाररत हुनुहुन्छ। चिकित्सकका अनुसार थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले आर्थिक अवस्था कमजोर रहेको परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।
एकातिर जीवन साथी गुमाउनुको असह्य पीडा, अर्कोतिर आफैं गम्भीर घाइते भएर अस्पतालको ICU मा उपचाररत हुनुपर्ने अवस्था धौली रावलको परिवार अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको छ।
परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले उहाँको जीवन रक्षाका लागि सबैको सहयोग आवश्यक परेको छ। त्यसैले धौली रावलको उपचारमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिन परिवारले सम्पूर्ण सहयोगी मनहरुसँग हार्दिक अपिल गरेको छ।
तपाईंले गर्ने सानो सहयोग पनि धौली रावलका लागि जीवनको ठूलो आशा बन्न सक्छ। मानवताको नाताले सक्दो सहयोग गरौँ, उहाँको जीवन बचाउने अभियानमा हातेमालो गरौँ। “सानो सहयोग, ठूलो राहत, धौली रावलको जीवन बचाउन आजै सहयोग गरौँ।”
प्रतिक्रिया