गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:२८

कराते खेलाडीको क्षमता अभिवृद्धि : बालविकास माविमा प्रथम दिक्षान्त ग्रेडिङ समारोह सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ३०, २०८३
कराते खेलाडीको क्षमता अभिवृद्धि : बालविकास माविमा प्रथम दिक्षान्त ग्रेडिङ समारोह सम्पन्न

बाजुरा ः गौमुल गाउँपालिका-३ माझपालीमा बालविकास माध्यमिक विद्यालयमा ‘करातेको जोश, सफलताको खोज’ भन्ने नारा सहित प्रथम दिक्षान्त ग्रेडिङ समारोह सम्पन्न भएको छ ।

नेपाल सितोरियो कराते महासंघ, शाखा कार्यालय मार्तडी, बाजुराको आयोजनामा तथा बालविकास माध्यमिक विद्यालयको व्यवस्थापनमा शुक्रबार औपचारिक कार्यक्रमकाबीच समारोह सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा गौमुल गाउँपालिका-३ का वडा अध्यक्ष गोरख बोहरा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य कौशल विक, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक तीर्थ चौधरी, शिक्षक, विद्यालय सेवा क्षेत्रका अभिभावक तथा कराते खेलप्रति रुचि राख्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयमा अध्ययनसँगै खेलकुदको विकास र विद्यार्थीको शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बोहराले बताएका छन् ।

समारोहमा विद्यार्थी तथा खेलाडीहरुले कराते खेल सम्बन्धी आफ्नो सीप, अनुशासन र क्षमता प्रस्तुत गरेका थिए । ग्रेडिङ कार्यक्रम मार्फत खेलाडीहरुको अभ्यास, दक्षता र प्रगतिका आधारमा आगामी चरणका लागि क्षमता मूल्याङ्कन गरिएको शिक्षक तथा गुरु गणेश विकले जानकारी दिएका छन् । 

करातेले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती, आत्मरक्षा तथा नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालय तहबाटै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।

ग्रामीण क्षेत्रका विद्यार्थीमा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गरी उनीहरुलाई जिल्लादेखि प्रदेश तथा राष्ट्रिय स्तरसम्मको प्रतियोगितामा सहभागी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।

कार्यक्रमका सहभागीहरुले विद्यालयमा नियमित रूपमा कराते प्रशिक्षण सञ्चालन गरी विद्यार्थीको प्रतिभा विकाससँगै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षासँगै खेलकुदका माध्यमबाट अनुशासित, आत्मनिर्भर र सक्षम बनाउने वातावरण निर्माण गर्न विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।

‘करातेको जोश, सफलताको खोज’ भन्ने मूल भाव सहित सम्पन्न कार्यक्रमले विद्यार्थीमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै स्थानीयस्तरमै खेल प्रतिभा उत्पादन गर्ने वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको छ ।
 

प्रतिक्रिया