गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ११:४१

ताम्सु पहिरोमा परी घाइते महिलालाई थप उपचारका लागि रिफर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन २९, २०८३
ताम्सु पहिरोमा परी घाइते महिलालाई थप उपचारका लागि रिफर

बाजुरा ःबाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा गएराति पहिरोमा परेर घाइते भएकी महिलालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

अबिरल वर्षासँगै घर पुरिँदा त्यसमा परी घाइते भएकी अन्दाजी ४० वर्षीय धौली देवी रावललाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको हो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घाइते रावलको टाउको, शरीर र दाहिने खुट्टामा चोट तथा नाकको हड्डी भाँचिएकाले सिटी स्क्यानका लागि रिफर गरिएको बताए । उनका अनुसार जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत घाइते रावललाई थप उपचारका लागि लगिएको छ ।

यस्तै उक्त घटनामा परी घाइते भएका अर्का सोही ठाउँ बस्ने ४० वर्षीय धर्म थापाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीका अनुसार पहिरोमा परी ज्यान गुमाएकी २० वर्षीय प्रतिक्षा थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

घरमाथिबाट आएको पहिरोले ताम्सुका स्थानीय धर्म थापा र कर्ण बहादुर थापाको घर परिएर पूर्ण रुपमा क्षति भएको छ ।कर्ण बहादुर थापाको घर परिँदा उनकी छोरी प्रतिक्षा थापा पनि सोही घरभित्र बेपत्ता भएकोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु खटिएर खोजी कार्य गर्दा करिब १० घण्टापछि मात्रै शव भेटिएको थियो । साथै उक्त गाउँमा केही अन्य घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया