बाजुरा ः धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा यस वर्ष दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै पूजा, सुरक्षा, स्वास्थ्य, बासस्थान तथा समग्र व्यवस्थापनलाई व्यवस्थित बनाउने गरी १४ बुँदे निर्णय गरिएको छ । निर्णय अनुसार बडीमालिका भगवतीको पूजा २०८३ भदौ १ गतेदेखि प्रारम्भ गरी हरेक दिन भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।
जनैपूर्णिमाको अवसरमा बडीमालिका, बुढीनन्दा, नाटेश्वरी, शुनन्दा, डडुल्ले, भण्डारथुम लगायतका शक्तिपीठमा हुने पूजा तथा दर्शनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवालाबीच समन्वय गरेर तयारी अघि बढाइने भएको हो ।
यस वर्षको व्यवस्थापनमा विशेषगरी धार्मिक क्षेत्रमा मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तुको निषेध, होटल तथा पसलको मूल्य नियन्त्रण, फोहोर व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार, उद्धार र सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको छ ।
भदौ १ देखि दैनिक पूजा
दर्शनार्थीको चाप बढ्दै गएपछि मुख्य पूजाको दिन मात्र भीड केन्द्रित हुन नदिन बडीमालिका भगवतीको पूजा भदौ १ गतेदेखि नै सुरु गरी हरेक दिन दर्शन गर्न सकिने व्यवस्था गरिने भएको छ ।
बडीमालिका तथा बुढीनन्दा दर्शनका लागि आउने भक्तजनलाई स्वागत गर्न सम्बन्धित स्थानीय तहले उपयुक्त स्थानमा स्वागतद्वार निर्माण गर्नेछन् । यात्रालाई सहज बनाउन विभिन्न पैदल मार्ग तथा रुटमा साइनबोर्ड, संकेत चिन्ह तथा सूचना पाटी राखिने भएका छन् ।
मदिरा, लागूपदार्थ र मासुमा पूर्ण प्रतिबन्ध
मेला तथा पूजा अवधिभर धार्मिक क्षेत्रमा मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तुको विक्री–वितरण र प्रयोग पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको छ । निषेधित कार्य गर्ने वा गराउनेलाई प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याइनेछ ।
धार्मिक क्षेत्रको वातावरण स्वच्छ र मर्यादित राख्न त्रिवेणी पाटन क्षेत्रमा बडीमालिका नगरपालिका तथा कालिकोट जिल्लासँग समन्वय गरी फोहोर व्यवस्थापन गरिनेछ ।
बडीमालिका मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनका लागि त्रिवेणी नगरपालिकासँग समन्वय गरिनेछ । होटल तथा आवासीय व्यवसायबाट उत्पादन हुने फोहोर भने सम्बन्धित व्यवसायीले आफैं व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
होटल-पसलमा मूल्यसूची अनिवार्य
बडीमालिका क्षेत्रमा दर्शनार्थीलाई बासस्थान तथा उपभोग्य वस्तु उपलब्ध गराउने व्यवसायीले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने भएको छ । बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको समन्वयमा बासस्थान तथा उपभोग्य वस्तुको न्यायोचित मूल्य निर्धारण गरिनेछ ।
मूल्यसूची, निषेधित वस्तुको विक्री-वितरण तथा होटल व्यवसायको अनुगमन सम्बन्धित स्थानीय तहले गर्नेछन् । त्यसैगरी होटल, पसल, आवासीय टेन्ट तथा शौचालय सञ्चालनका लागि बुढीमाईको थान वा त्रिवेणी पाटन हुँदै जाने रुटमा चाँदनी शंकरसम्म तथा मना, कोर्ध वा नाटेश्वरी मन्दिर हुँदै जाने रुटमा विष्णुपानीसम्म क्षेत्र निर्धारण गरिनेछ ।
यसको कार्यान्वयन तथा अनुगमन स्थानीय सरकार र सुरक्षा निकायले गर्नेछन् । दर्शनार्थीका लागि खानेपानी तथा थप शौचालयको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नेछन् ।
लेक लागे तत्काल उद्धार, स्वास्थ्य टोली परिचालन
बडीमालिका क्षेत्रमा लेक लाग्ने, बिरामी हुने वा अन्य कुनै कारणले श्रद्धालुलाई आकस्मिक उद्धार गर्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारले तत्काल परिणाममुखी उद्धार पहल गर्ने निर्णय गरिएको छ ।
दर्शनार्थीको आकस्मिक प्राथमिक उपचारका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गरी संयुक्त स्वास्थ्य उपचार टोली खटाउनेछन् । उक्त स्वास्थ्य टोलीको व्यवस्थापनमा जिल्लास्थित नेपाली सेनाले नेतृत्व गर्नेछ ।
मेला तथा पूजा क्षेत्रमा हुन सक्ने झैझगडा, हुलहुज्जत तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको छ ।
मार्तडीमा अस्थायी बासस्थानको व्यवस्था
बडीमालिका दर्शनका लागि आउने भक्तजनको चाप व्यवस्थापन गर्न मार्तडीमा रहेका कभर्ड हल, खुला मञ्च, विद्यालय तथा अन्य उपयुक्त खुला स्थललाई आवश्यकता अनुसार बासस्थानका रूपमा प्रयोग गरिने भएको छ ।
यसका साथै नागरिक सहायता सेवा, डिजिटल सहायता, धर्मशालाको सरसफाइ, पैदल बाटो मर्मत तथा सुधार, दर्शनार्थीको तथ्याङ्क व्यवस्थापन र लाइन व्यवस्थापनका लागि स्काउट परिचालन लगायतका काम बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाले आपसी समन्वयमा गर्नेछन् ।
बुढीनन्दा र नाटेश्वरीमा पनि सरकारी पूजा
बुढीनन्दा तथा नाटेश्वरीमा सरकारी पूजाको व्यवस्थापन गरिने भएको छ । बुढीनन्दामा बुढीनन्दा नगरपालिका र नाटेश्वरी मन्दिरमा त्रिवेणी नगरपालिकाले पूजा व्यवस्थापनको जिम्मेवारी लिनेछन् ।
यसैगरी बडीमालिका, बुढीनन्दा तथा सम्बन्धित धार्मिक क्षेत्रको दीर्घकालीन विकास र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तथा नेपाल सरकारलाई आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
एकल सरकारी टोलीबाट प्रतिनिधित्व
जनैपूर्णिमाका अवसरमा बडीमालिका, बुढीनन्दा लगायतका शक्तिपीठमा हुने पूजामा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायबाट छुट्टाछुट्टै ठूलो टोली परिचालन नगरी सीमित आधिकारिक व्यक्तिको संयुक्त सरकारी टोलीबाट प्रतिनिधित्व गर्ने व्यवस्था गरिनेछ ।
१४ बुँदे निर्णय कार्यान्वयनका लागि जिल्ला समन्वय समिति, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका लगायतका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी लिने भएका छन् ।
बडीमालिका दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने कालिकोट, डोटी, अछाम लगायतका जिल्लासँग समेत आवश्यक समन्वय जिल्ला समन्वय समिति, बाजुरा र जिल्ला प्रशासन कार्यालय, बाजुराले गर्ने निर्णय भएको छ ।
यस वर्ष बडीमालिका दर्शनमा विगतको तुलनामा बढी भक्तजन आउने अपेक्षाबीच गरिएको १४ बुँदे निर्णयले पूजा व्यवस्थापनसँगै भक्तजनको सुरक्षा, स्वास्थ्य, बासस्थान, खानेपानी, सरसफाइ, मूल्य नियन्त्रण र आकस्मिक उद्धारलाई एउटै व्यवस्थापन प्रणालीमा जोड्ने प्रयास गरेको देखिन्छ ।





प्रतिक्रिया