बाजुरा ःसुदूरपश्चिमको प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य बडीमालिकामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीको आगमन उल्लेख्य रुपमा बढ्दै गएको छ । विशेषगरी आर्थिक वर्ष २०८२/०८३ मा बडीमालिका दर्शन तथा भ्रमण गर्नेको संख्या बढेसँगै यस क्षेत्रको धार्मिक, पर्यटकीय र आर्थिक सम्भावनासँगै यसको व्यवस्थापनबारे पनि बहस सुरु भएको छ ।
समुद्री सतहदेखि करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र ऐतिहासिक महत्वले भरिपूर्ण क्षेत्र हो । बाजुरामा पर्ने बडीमालिका क्षेत्र करिब पाँच सय वर्ग किलोमिटरमा फैलिएको छ । यहाँ २२ वटा हरिया पाटन, त्रिवेणी क्षेत्र, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार लगायतका धार्मिक तथा प्राकृतिक महत्वका स्थल रहेका छन् ।
पछिल्लो समय बडीमालिका प्रतिको आकर्षण बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा बताउँछिन् । उनका अनुसार पछिल्लो एक महिनादेखि बडीमालिका दर्शनका लागि जाने तीर्थयात्री तथा पर्यटकको संख्या निरन्तर देखिन थालेको छ ।
“एक महिनादेखि बडीमालिका दर्शनका लागि १५ देखि २० जनासम्म जाने गरेको देखिन्छ,” प्रहरी नायब उपरीक्षक बोहराले बताइन् । विगतमा मुख्यतः जनैपूर्णिमाको अवसरमा मात्रै तीर्थयात्रीको ठूलो चाप देखिने बडीमालिका क्षेत्रमा अहिले अन्य समयमा पनि मानिसहरुको आवागमन बढ्न थालेको स्थानीयको भनाइ छ । यसले बडीमालिकालाई वर्षमा एकपटक मात्रै पूजा गरिने धार्मिक स्थलका रुपमा सीमित नराखी वर्षभरि सञ्चालन हुने धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता देखाएको छ ।
मन्दिरको स्वरुप फेरियो, अब व्यवस्थापनको पालो
बडीमालिकाको धार्मिक महिमा झल्किने गरी नेपाली सेनाले आन्तरिक स्रोतबाट करिब दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेर मन्दिर तथा यज्ञशालाको पुनः निर्माण गरेको छ । कलात्मक शैलीमा निर्माण गरिएको मन्दिरमा सिमेन्ट र फलामको प्रयोग गरिएको छैन ।
सिमेन्टको विकल्पमा काठमाडौंँबाट ल्याइएको चुना र सुर्की, धनगढीमा तयार गरिएको सालको काठ, स्थानीय क्षेत्रमा संकलन गरिएका ढुङ्गा तथा काठमाडौंमा तयार गरिएको पित्तलको छाना प्रयोग गरिएको बताइएको छ । तर मन्दिरको भौतिक स्वरुप परिवर्तनसँगै अब बडीमालिकाको समग्र व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न झनै महत्वपूर्ण बनेको छ ।
भेटी कसको ? प्रश्न भन्दा ठूलो विषय व्यवस्थापन
बडीमालिका पुग्ने भक्तजनले चढाउने नगद भेटी, जिन्सी तथा अन्य सामग्रीको व्यवस्थापन कसरी गर्ने ? त्यसबाट प्राप्त हुने आम्दानीको आय-व्यय कसरी सार्वजनिक गर्ने ? र उक्त स्रोतलाई बडीमालिकाको विकासमा कसरी परिचालन गर्ने ? भन्ने प्रश्न अहिले गम्भीर रुपमा उठ्न थालेको छ ।
बडीमालिका कुनै व्यक्ति, परिवार, पुजारी वा कुनै सीमित समूहको मात्रै सम्पत्ति नभएको भन्दै भक्तजनबाट संकलन हुने भेटी तथा अन्य आम्दानीलाई सिंगो बाजुरा र सुदूरपश्चिमको साझा धार्मिक तथा सांस्कृतिक सम्पत्तिका रुपमा व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
स्थानीयको माग छ, भेटी तथा अन्य आम्दानी व्यक्तिगत वा अनौपचारिक रुपमा व्यवस्थापन गर्ने होइन, कानुनी आधार सहितको छुट्टै संस्थागत संरचना बनाएर पारदर्शी ढंगले सञ्चालन गर्नुपर्छ ।
त्यसका लागि भेटी तथा अन्य आम्दानीको नियमित लेखापरीक्षण, सार्वजनिक आय-व्यय विवरण, डिजिटल अभिलेख, सामाजिक परीक्षण र नियमित सार्वजनिक सुनुवाइको व्यवस्था गर्नुपर्ने माग छ ।





प्रतिक्रिया