गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०३

बडीमालिकाको भेटी व्यक्तिको होइन, सिंगो बाजुरा र सुदूरपश्चिमको सम्पत्ति बन्नुपर्छ ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन १८, २०८३
बडीमालिकाको भेटी व्यक्तिको होइन, सिंगो बाजुरा र सुदूरपश्चिमको सम्पत्ति बन्नुपर्छ ?

बाजुरा ः सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक पर्यटनको अनुपम गन्तव्य बडीमालिका पछिल्लो समय नयाँ स्वरुपमा देखिन थालेको छ । समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र ऐतिहासिक महत्वले भरिपूर्ण क्षेत्र हो ।

बाजुरामा पर्ने बडीमालिका क्षेत्र करिब पाँच सय वर्ग किलोमिटरमा फैलिएको छ । यहाँ २२ वटा हरिया पाटन, त्रिवेणी क्षेत्र, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार लगायतका प्राकृतिक तथा धार्मिक महत्वका स्थल छन् । वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्री बडीमालिका पुग्ने गरेका छन् ।

पछिल्लो वर्ष भने उल्लेख मात्रामा तीर्थयात्री बढेका छन् । बडीमालिका जति प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, त्यति नै धार्मिक आस्थासँग जोडिएको छ । सत्यदेवीका अङ्ग पतन भएको स्थानमा शक्तिपीठ स्थापना भएको धार्मिक मान्यता अनुसार बडीमालिकामा देवीको बायाँ कुम पतन भएको जनविश्वास छ । यहीँ आस्थाका कारण जनैपूर्णिमाको अवसरमा बडीमालिकामा विशेष पूजा तथा मेला लाग्ने गर्दछ ।

करोडौँको लगानीमा नयाँ स्वरुप

बडीमालिकाको धार्मिक महिमा झल्किने गरी नेपाली सेनाले आन्तरिक स्रोतबाट करिब दुई करोड रुपैयाँ भन्दा बढी खर्च गरेर मन्दिर तथा यज्ञशालाको पुनःनिर्माण गरेको छ । कलात्मक शैलीमा निर्माण गरिएको मन्दिरमा सिमेन्ट र फलामको प्रयोग गरिएको छैन् ।

सिमेन्टको विकल्पमा काठमाडौँबाट ल्याइएको चुना र सुर्की, धनगढीमा तयार गरिएको सालको काठ, स्थानीय क्षेत्रमा सङ्कलन गरिएका ढुङ्गा तथा काठमाडौँमा तयार गरिएको पित्तलको छाना प्रयोग गरिएको बताइएको छ ।

बडीमालिकाका पुजारी नेत्रराज पाध्यायका अनुसार मन्दिर पुनः निर्माणका लागि लामो समयदेखि पहल हुँदै आएको थियो । हाल नेपाली सेनाको अगुवाइमा मन्दिर पुनः निर्माण सम्पन्न भएपछि बडीमालिकाको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढेको छ । 

अब बहस मन्दिरको होइन, बडीमालिकाको समग्र व्यवस्थापनको

मन्दिरको पुनः निर्माणसँगै बडीमालिकाको विकास र व्यवस्थापनबारे नयाँ बहस सुरु भएको छ । बडीमालिका पुग्ने भक्तजनले चढाउने नगद भेटी, जिन्सी तथा अन्य बहुमूल्य सामग्रीको व्यवस्थापन कसरी गर्ने ? त्यसको आय-व्यय कसरी सार्वजनिक गर्ने ? र त्यसबाट बडीमालिका तथा सिंगो क्षेत्रको विकास कसरी गर्ने ? भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ ।

बडीमालिका कुनै एक व्यक्ति, परिवार, पुजारी वा संस्थाको मात्रै सम्पत्ति नभएको भन्दै यहाँ आउने भक्तजनबाट संकलन हुने भेटी तथा अन्य आम्दानीलाई सिंगो बाजुरा र सुदूरपश्चिमको साझा धार्मिक तथा सांस्कृतिक सम्पत्तिका रुपमा व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

बाजुराबासीको माग छ बडीमालिकाको भेटी र अन्य आम्दानी व्यक्तिगत वा अनौपचारिक रुपमा व्यवस्थापन गर्ने होइन, कानुनी आधार सहितको छुट्टै संस्थागत संरचना बनाएर पारदर्शी ढंगले सञ्चालन गर्नुपर्छ । त्यस्तो संस्था मार्फत भेटी तथा अन्य आम्दानीको नियमित लेखापरीक्षण, सार्वजनिक आय-व्यय विवरण, डिजिटल अभिलेख र सामाजिक परीक्षणको व्यवस्था गरिनुपर्ने माग छ ।

पाथीभरा जस्तै व्यवस्थित बनाउनुपर्ने माग

बाजुराबासीले बडीमालिकालाई ताप्लेजुङमा रहेको पाथीभरा क्षेत्रजस्तै संस्थागत, व्यवस्थित, पारदर्शी र दीर्घकालीन योजना बनाएर सञ्चालन गर्नुपर्ने माग अघि सारेका छन् । पाथीभरा क्षेत्रमा धार्मिक आस्था र पर्यटनसँग जोडिएका गतिविधिलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै पूर्वाधार, तीर्थयात्री व्यवस्थापन, आम्दानीको परिचालन र क्षेत्र विकासलाई संस्थागत बनाउने अभ्यासबाट बडीमालिकाले पनि सिक्नुपर्ने स्थानीयको भनाइ रहेको छ ।

बडीमालिकाबाट प्राप्त हुने आम्दानीलाई मन्दिरको नियमित पूजा व्यवस्थापनमा मात्रै सीमित नगरी पदयात्रा मार्ग, खानेपानी, शौचालय, आवास, फोहोर व्यवस्थापन, आपत्कालीन उद्धार, सूचना केन्द्र, पर्यटक गाइड, सञ्चार तथा संरक्षणका क्षेत्रमा लगानी गर्नुपर्ने माग छ । यसका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, पुजारी, स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायको प्रतिनिधित्व रहने गरी बलियो संस्थागत संयन्त्र बनाउनुपर्ने आवाज उठेको छ ।

बडीमालिकाको सम्पदा जोगाउने चुनौती

बडीमालिका धार्मिक आस्थाको केन्द्र मात्र होइन, दुर्लभ जैविक विविधताको खजाना पनि हो । यहाँ कुट्की, वनलसुन, सुगन्धवाल, पदमचाल, भूतकेश, बायोजडी, पाँच औँले लगायत ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने बताइएको छ ।

डाँफे, मुनाल लगायतका चराचुरुङ्गी तथा विभिन्न वनस्पति र वन्यजन्तुका कारण बडीमालिका प्राकृतिक अनुसन्धान र पर्यटनका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । सरकारले विगतमा बडीमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने घोषणा गरेपनि त्यस अनुसार ठोस काम हुन नसकेको गुनासो स्थानीयको छ ।

आस्था बढ्दैछ, अब व्यवस्थापन पनि बदलिनुपर्छ

बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन पुग्छन् । नेपालका विभिन्न जिल्लासँगै भारतको उत्तराखण्ड, कुमाउँ, गढवाल र पिथौरागढ लगायत क्षेत्रबाट समेत तीर्थयात्री आउने गरेका छन् । जुम्लाबाट चन्दननाथको डोली तथा डोटीबाट सरकारी पूजा सामग्री पठाउने परम्पराले बडीमालिकाको धार्मिक र ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाएको छ ।

नेपाली सेनासँग समेत बडीमालिकाको लामो धार्मिक सम्बन्ध रहँदै आएको छ । यति ठूलो धार्मिक आस्था, प्राकृतिक सम्पदा र पर्यटकीय सम्भावना बोकेको बडीमालिकाबाट वर्षभरि संकलन हुने भेटी तथा अन्य आम्दानीको पारदर्शी र संस्थागत व्यवस्थापन अबको मुख्य सवाल बन्नुपर्ने स्थानीयको भनाइ छ ।

बाजुराबासीको जोड छ, बडीमालिकाको भेटी कुनै व्यक्तिको निजी आम्दानी होइन, भक्तजनको आस्था र विश्वासबाट प्राप्त सिंगो बाजुराको सम्पत्ति हो । त्यसैले यसको संरक्षण, व्यवस्थापन र परिचालन पनि सामूहिक र संस्थागत हुनुपर्छ ।

बडीमालिकालाई वर्षमा एकपटक पूजा हुने धार्मिक स्थलका रुपमा सीमित नराखी पाथीभरा जस्तै व्यवस्थित धार्मिक-पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके बडीमालिकाबाट बाजुरा मात्रै होइन, सिंगो सुदूरपश्चिम सहित नेपालको आर्थिक तथा पर्यटन विकासमा ठूलो योगदान पुग्न सक्ने स्थानीयको अपेक्षा छ ।

अब बडीमालिकाको चर्चा ‘भू-स्वर्ग’ भनेर गर्ने कि त्यसको सम्भावना, सम्पदा र भक्तजनको आस्थाबाट प्राप्त स्रोतलाई पारदर्शी रुपमा व्यवस्थापन गरेर साँच्चिकै समृद्धिको आधार बनाउने ? यसको जवाफ खोज्ने समय आएको छ ।
 

प्रतिक्रिया