बाजुरा ः बाजुरामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका-७ कोसेडी निवासी अन्दाजी ३४ वर्षीय खडक अयडीको सोमबार दिउँसो करिब साढे ४ बजे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत वैशाख ४ गते शुक्रबार साँझ सदरमुकामबाट बाम्का तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ब २३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। मोटरसाइकल ऐडी आफैंले चलाइरहेका थिए।
दुर्घटनापछि मोटरसाइकल सडकमै पल्टिएको थियो भने चालक अयडी करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो। चार दिनदेखि बेहोस अवस्थामा रहेका अयडीको उपचारकै क्रममा मृत्यु भएपछि यतिबेला परिवार तथा आफन्तजन शोकमा डुबेका छन्।





प्रतिक्रिया