बाजुरा ः लामो समयदेखि वर्षा नहुँदा बाजुरा जिल्लामा हिउँदेबाली सुक्न थालेको छ । महिनौँदेखि पानी नपरेपछि बाजुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लाका किसानहरू चिन्तामा परेका छन् ।
खडेरीका कारण गहुँ, जौ, मसुरो, तोरी र केराउजस्ता हिउँदेबाली सुक्न थालेका छन् ।गौमुल गाउँपालिका-६ का किसान सन्तोष चदाँराका अनुसार असोजयता पर्याप्त वर्षा नहुँदा बाली हुर्कन नपाउँदै सुकेको हो ।
“लामो खडेरीका कारण हिउँदेबाली सुकिसकेको छ,” उनले बताएका छन् । जिल्लामा अधिकांश किसान आकाशे पानीकै भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधा सीमित हुँदा वर्षा नपरेपछि बालीमा गम्भीर असर परेको छ ।
सिँचाइ सुविधा भएका केही स्थानमा समेत खोलानाला सुकेकाले कुलोमा पानी नआउँदा बाली नष्ट हुँदै गएको गौमुल गाउँपालिका-४ की किसान यलिना रोकायाले बताएकी छन् । हिउँदे वर्षा नहुँदा बाली रोप्ने समयमा समेत पानी नपरेपछि कतिपय ठाउँमा बीउ नै उम्रिन सकेको छैन् ।
जिल्लामा कुल २३ हजार ३७ हेक्टर जमिनमध्ये करिब २२ हजार हेक्टरमा खेती हुँदै आएको छ । तीमध्ये केवल ५ हजार २ सय ३५ हेक्टर जमिन मात्र वर्षभर सिँचाइयोग्य रहेको छ ।
कृषि तथ्यांक अनुसार बाजुरामा करिब ६ हजार ९ सय १५ हेक्टरमा पाखा धान खेती, १० हजार ४ सय ६० हेक्टरमा गहुँ र करिब १ हजार ३ सय ५० हेक्टर क्षेत्रमा मकै खेती हुने गरेको छ ।
लामो खडेरीले हिउँदेबालीमा क्षति बढ्दै गएपछि किसानहरूले तत्काल वर्षा वा वैकल्पिक सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।





प्रतिक्रिया