नाम : प्रदीप रोदन,
वास्तविक नाम : प्रदीप पाण्डे
ठेगाना : पालुङ्टार नगरपालिका-९ पाण्डेबेंसी गोरखा।
कृति : मफलर (गजल संग्रह)
उनको परिचय यत्ति साँघुरो छैन। आङ सिरिङसिरिङ पार्ने गरी महफिल गुञ्जाउने उनको गजल गगन भेदन गर्नेगरी उकालो लागिरहेका छन्। राजधानी वा मोफसलका साहित्यिक संस्था अथवा समुद्रपारका नेपाली डायस्पोरामा उनको माग बढिरहेको छ।
मेला महोत्सवका दर्शकदीर्घा प्राय : पप र र्याप गीतले मात्र उचाल्ने गर्छन् तर पछिल्लो दशकयता महोत्सवका दर्शकदीर्घा उनका गजलले पनि उचाल्ने, उफार्ने गरेका छन्। गीत, संगीतका पारंगतहरूले मात्र नेपालमा एकल साँझ मनाउने गर्छन् तर, उनले यसमा पनि नयाँ प्रवृत्ति भित्र्याए।
अहिले प्रदीप रोदन एकल साँझ मनाउने परम्परा बसेको छ। उमेरले दुईबिसे नकटेका उनका गजलका शेरहरू कहिले सांसदले संसद्मा सुनाउँछन्, कहिले नेताहरूले भाषणका मञ्चहरूमा। उनले सिर्जेका शेरहरू कहिले म्युजिक भिडियोका इन्ट्रोका रूपमा प्रयोग हुन्छन्, कहिले व्यापारिक विज्ञापनमा।
अमेरिकी लेखक मार्क टेन भन्छन् : जीवनका दुई दिन मान्छेका लागि अति महत्त्वपूर्ण हुन्छन्। पहिलो ऊ जन्मेको, दोस्रो किन जन्मेको भनेर थाहा पाएको दिन। उनी २०७३ सालमा दोस्रो जन्म भएको सम्झन्छन्। गजल साधनाको एक दशक नबित्दै यत्तिका सफलता हात पार्ने उनका अनुभव र अनुभूति कम्ती रोचक छैनन् ।
उमेरले ३० कटिसकेको थिएँ। पेसाले शिक्षक थिएँ। अनि आंशिक समय रेडियो कार्यक्रम प्रस्तोता पनि। तैपनि मन तुलबुल तुलबुल, चञ्चल चञ्चल भइरहन्थ्यो। गरिरहेको काममा मन अडिरहेको थिएन। योचाहिँ मैले गर्न खोजेको काम होइन भन्ने भइरहेको थियो।
कुरा २०६४ सालतिरको हो, रेडियो प्रस्तोताको नाताले साथीहरूले मलाई गोरखा बजारको कुनै होटलमा मोती जयन्ती मनाउन बोलाउनु भयो। सहभागीहरूले गजल वाचन गर्न थाल्नुभयो। एकसे एक गजल सुनेपछि एकाएक मेरो मन एकाग्र भयो। अनि मेरो हृदयले खोजिरहेको यही गजल त होइन भन्ने सोच्न थालेँ। कार्यक्रमभरि मन अडियो। सन्तुष्टि मिल्यो। मलाई बाहिरी कुराले, अन्य कुराले छोएन, अरू आकर्षणले तानेन। यहाँनेर चाहिँ मेरो मन शीतल भयो।
त्यहाँबाट फर्केपछि मैले विस्तारै गजलमा कलम चलाउन सुरु गरेँ। तर गजल साधना चाहिँ त्यसको चार वर्षपछि मात्र गर्न थालेँ। मलाई गजलमा चुर्लुम्म पार्ने मेरो पुरानो घरको त्यो झ्याल सम्झन्छु। भूकम्प आउनुअघिको त्यो घर २०७२ सालको भूकम्पले माटोमा मिलाइदियो।
प्राय : साँझको समय, आफ्नै कोठाको उत्तर फर्केको एउटा झ्याल थियो। त्यसको एकछेउ, ध बाहिरी संसार चियाउन मिल्थ्यो। त्यही मेरो गजल साधना गर्ने थलो थियो। मेरो दोस्रो जन्म भएको त्यही झ्याल हो, जहाँबाट आकाशको ठूलै भाग देखिन्थ्यो, खोलानाला, जंगल पनि देखिन्थ्यो। जसले मलाई जन्मायो त्यो अहिले छैन।
गजल लेख्न म कहिले छतमा निस्कन्छु, कहिले चौतारोमा। परिवारले पनि मलाई पूरै साथ दिनुभएको छ। सुरुसुरुमा त किन देशमा बसिरा’छस्, किन गाउँमै बसिरा’छस् भनेर आर्थिक समृद्धिको बाटो रोज्न बाध्य पार्नु भएको थियो। तर मलाई त्यसो गर्न आएन।
३० वर्षको हुँदासम्म दोहोरी गाउने, खेलकुदमा रमाउने खालका साथी संगतिमात्र जोडिरहेको थिएँ। तर त्यसपछि त्योभन्दा अलिक फरक परिवेश, फरक वातावरण, फरक साथी संगति, फरक संसार फेला पारेँ। २०७३ सालको त्यो प्रस्थानबिन्दु जहाँ, मेरो दोस्रो जन्म भयो जस्तो लाग्छ।
सुरुवाती साधनामा दिनकै १०, १२ वटा गजल लेखेँ। सबै गजल सामाजिक सञ्जालमा राखेँ। कस्ता गुणस्तरका हुन्थे कुन्नि, पाठक दर्शकले चाहिँ रुचाउनु हुन्थ्यो। ठीकै लेखेझैँ लाग्छ। अहिले पनि साधना घटेको चाहिँ छैन, मात्रा घटेको हुन सक्छ। नलेखेको दिन त छैन।
पूरै गजल लेखिन भने पनि कुनै न कुनै मन छोएको शेरचाहिँ लेख्छु। हिजो परिचय बनाउनुभन्दा अघि मेरो सेरोफेरोमा साहित्यिक संघसंस्था थिएन अथवा कम थिए। मैले टेक्ने हाँगो, समात्ने डालो कम छ त्यसैले अघि बढ्ने हो भने मैले सामाजिक सञ्जालको फेरो समातेर हिँड्नुपर्छ भन्ने निचोडमा पुगेको थिएँ। मलाई अहिले पनि लाग्छ, मलाई यत्तिको बनाएको नै सामाजिक सञ्जाल, फेसबुकले नै हो।
हरेक दिन जब फेसबुक खोल्छु, त्यहाँ तिम्रो दिमागमा के छ प्रदीप ? भनेर सोधिरहेको देख्छु। अनि यसले मलाई केही लेख्न चुनौती दिएको सम्झन्छु। मेरो दिमागमा केही पनि नभएको त होइन नि भन्ने ठानेर लेख्न बस्छु। यसरी जन्मन्छन् प्राय : मेरा गजलहरू।
लेखेका अधिकांश गजल राज्य व्यवस्थासँग सम्बन्धित हुन्छन्। समय बदलिएसँगै लालटिन बेच्ने सन्दर्भका जस्ता कतिपय गजल समयसापेक्ष नहुँदा मर्न सक्छन्। जीवन नभएका, आयु नभएका गजलहरू पनि छन् तर, हाम्रो दुर्भाग्य त्यस्ता गजल पनि सितिमिति मरेका छैनन्।
म अहिले पनि गाउँमै बस्छु, गाउँमै लेख्छु। मलाई लेख्न संसारमा अर्को ठाउँ छ जस्तै लाग्दैन। म जुन माटोमा लडेँ, जुन खोला तरेँ, जुन रुखमा चढेँ म त्यहीँ बसेर लेखिरहेको छु। लेखिरहनेछु।
गाउँमा बसेर मैले संसारमा पछिल्लो चरणमा चलेका धार वा प्रवृत्तिसँग अपडेट हुनुपर्छ भन्ने लाग्दैन। मैले आफैंसँग अपडेट हुनुपर्छ भन्ने मात्र लाग्छ। हिजो हामीले गजल लेख्न सुरु गर्दा शृंगारिक धारका गजलहरू थिए।
त्यसमा अलिकति जोखिम मलेर समसामयिक परिवेश, राज्य व्यवस्थासँग सम्बन्धित गजलहरू लेख्ने धारको विकास गरेँ। धर्म, दर्शनसँग सम्बन्धित गजलहरू पनि छन्, त्यस्ता गजल सामाजिक सञ्जालमा राख्दिनँ। त्यो सबैलाई रुचि नहुन सक्छ भनेर। मेरो अर्को बानी चाहिँ के छ भने म अरूको गजल पढ्दिनँ। गजलमा म मेरै फ्लेभर दिनुपर्छ भन्ने लाग्छ। अरूको पढेँ भने अरूको प्रवृत्तिबाट प्रभावित हुन्छु कि भन्ने डर लाग्छ त्यसैले अरुको गजल पढदनँ। बरु अरु नै विधा पढ्छु।
कतिवटा गजल लेखेँ भनेर त गनेको छैन तर, मेरा गजलहरूले २२, २५ वटा डायरी भरिएका छन्। जानेर, नजानेर मफलर गजल संग्रह प्रकाशन गरिहालेँ। अब गजलसंग्रह प्रकाशन गर्दिनँ। म संग्रहित भएर हेरिहालेँ। अब नगर्ने, खुल्लै छोड्ने, छरपस्ट छोड्ने।
सामाजिक सञ्जालमा सजिएका सबै मेरो संग्रह नै हो, ओपन संग्रह। मेरा गजलहरू सबै उस्तै छन्। मेरा सिर्जनाहरू मेरा लागि बराबर हकदार हुन्। कुनैलाई रोजेर पुस्तकमा सजाउने, कुनैलाई छोड्ने गर्दा पक्षपात गरेजस्तो हुन्छ। अब सबैलाई समान हैसियत दिने।
सामाजिक सञ्जाल, युट्युब च्यानलमा राखिदिने, ओपन बुक बनाउने। खोज्नेले पाऊन्। गाउँ पनि नछोड्ने, गजल संग्रह पनि ननिकाल्ने यही हो मेरो आफ्नोपन। जतिबेला मलाई पैसा चाहिन्थ्यो, जतिबेला बैंक ब्यालेन्स गर्नुपथ्र्यो, जतिबेला मैले घरघडेरी जोड्नुपथ्र्यो त्यतिबेला पैसाभन्दा मेरा लागि सिर्जना ठूलो भनेर हिँडेको हुँ। अब गाउँ छोड्नु पनि छैन, संग्रहित हुनु पनि छैन, बाँधिनु पनि छैन। अरू क्षेत्रले लोभ्याएको पनि छैन।
गाउँमा गजल साधनामा लाग्ने म एक्लै हो। साथी सर्कलमा गजलसम्बन्धी बहसै हुँदैन। संगत पनि छैन। संगतले फेरि ज्ञानमात्र दिँदैन, गफ सुन्ने पनि बनाउँछ, गफ गर्ने पनि बनाउँछ। म एक्लै छु। कापीसँग कुरा गर्छु, कलमसँग कुरा गर्छु। मेरा लागि त्यो गाउँ, त्यो एकान्त नै काफी छ।
दाइ के लेखेको छस् सुना न भन्ने एक, दुईजना भाइहरू नै काफी छन्। अहिलेसम्म कतिवटा गजलका कार्यक्रममा सहभागी भएँ भन्ने सूची नै छैन। दुई सयभन्दा धेरै कार्यक्रममा गएँ जस्तो लाग्छ। यी सबै प्राय : एकल गजल वाचन नै हो।
111Shares
प्रतिक्रिया