बाजुरा ः प्लान इन्टरनेश्लन नेपाल र पीसविन नेपालको सहकार्यमा सञ्चालन हुन गईरहेको किशोरीहरुको अधिकार र उत्थानशीलता आभा परियोजनाको जिल्ला स्तरीय परियोजनाको परिचय र समन्वय कार्यशाला सम्पन्न भएको छ ।
बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालन हुने उक्त परियोजनाले शिक्षा, उद्यम विकास, यौन तथा प्रजनन् स्वास्थ्य र युवा सशक्तिकरणको क्षेत्रमा काम गर्ने परियोजना संयोजक पदम कठायतले बताएका छन् ।
चारवटै पालिकाका माध्यामिक विद्यालय लक्षित भएर कार्यान्वयन गरिने परियोजना मार्फत विद्यालय बाहिर रहेका १५ वर्ष मुनिका बालबालिकाहरुलाई विद्यालय भित्र ल्याउनका लागि विशेष पहल गरिने भएको छ ।
पाँच वर्षसम्म लागू हुने यो परियोजनाका लागि २० करोड बजेट व्यवस्थापन गरिएको प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय कार्यक्रम व्यवस्थापक मीना पराजुलीले बताएकी छन् ।
उनका अनुसार उक्त परियोजनाले बालअधिकारको कार्यान्वयन, निर्णयक तहमा महिला नेतृत्व र युवा सशक्तीकरण समानता र न्यायपूर्ण जवाफदेही, उत्तरदायी समाज विकासका लागि टेवा पुग्ने बताएकी छन् ।
त्यस्तै उक्त परियाजनाले युवाहरुलाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउने पनि कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।
परियोजना परिचय र समन्वय कार्यशाला गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, चारवटै पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, चारवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुख, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहको थियो ।
पीसविन नेपाल बाजुराका अध्यक्ष बिमला थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पीसविन नेपाल कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले गरेका हुन् ।
प्रतिक्रिया