बाजुरा ः बुढीगंगा नगरपालिकामा युवाको ठूलो संख्या लागुऔषध दुर्व्यसनकाे चपेटामा परेपछि नगर सरकार नियमन गर्न थालेको छ । पछिल्लो वर्षको तथ्यांकले समस्या घट्दो नभई बढ्दै गएपछि विगतका प्रयासलाई थप गरी नियमन नियन्त्रणका लागि लागेको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
युवा खासगरी २० देखि ३५ वर्षका व्यक्ति यसको कुलतमा परेको देखिन्छ । यो उमेर समूह भनेको देशका लागि, समाज र परिवारका लागि अत्यन्तै आवश्यक जनशक्ति हो, तर कुलतमा परेको नगर प्रमुख बाँनियाको भनाई रहेको छ । एकजना युवा कुलतमा फस्नु ऊ स्वयंको जीवन बर्बादीमात्रै होइन, परिवार र समाजका लागि, देशका लागि ठूलो नोक्सानी हो ।
आफैंलाई लठ्याउने नशामा परेको परिवारको सदस्यले परिवारलाई मात्रै तनाव दिँदैन, उसकै कारण थुप्रै आर्थिक र सामाजिक क्षति समेत हुन्छ । यो व्यक्तिगत कमजोरी होइन उनको भनाई रहेको छ ।
कोही लागुऔषध दुर्व्यसनमा फस्नु परिवार र समाजकै पनि कमजोरी हो । यसको समाधानमा नगर सरकारको ध्यान गएको भएपनि समाजको समेत भूमिका रहनुपर्ने नगर उपप्रमुख माया खड्का कुवँरले बताएकी छन् ।
बुढीगंगा नगरपालिकाले आफ्नो क्षेत्रअधिकार भित्रका बाम्काबजार र बेतालमाण्डौं बजारमा लागुऔषध नियन्त्रणका लागि सचेतना लगायत अभियान सञ्चालन गरेको छ ।
दुईवटै ठाउँमा सडक नाटक र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि मार्फत सचेतनाका कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीले बताएका छन् ।
समाजमा भइरहेका दुर्घटना, चोरी, डकैती र लुटपाटजस्ता घटनाको भित्री कारण लागुऔषध दुर्व्यसन रहेको पनि देखिन्छ । तसर्थ सिंगो समाजको दायित्व यसको नियन्त्रणमा हुनुपर्छ । तर समाज भने हेरेर बसिरहेको छ । कानुन र प्रहरीको प्रयासबाट मात्रै नियन्त्रण सम्भव हुँदैन् ।
कानुनकै कुरा गर्ने हो भने लागुऔषध नियन्त्रण ऐन, २०३३ ले कारोबार र प्रयोगमा कडा सजायको व्यवस्था गरेको छ । कडा सजाय र दण्डमात्रै कुनै पनि गलत व्यवहार समाधानको उपाय पनि त होइन् । त्यो एउटा उपाय होइन, सबथोक होइन् । सबथोक त समाजमा नैतिकता, संस्कार र इमान्दारीपनको विकास गर्नु र नागरिकलाई आफैंप्रति, परिवारप्रति, समाज र देशप्रति उत्तरदायी बनाउनु हो ।
नेपालका सहर बजारमा सजिलै लागुऔषध भेटिनुको प्रमुख कारण भारतसँगको खुला सिमाना हो । त्यहाँबाट लुकीचोरी सजिलै नेपालमा लागुऔषध भित्रन्छ । नेपालबाट गाँजा, चरेस भारत जाने र उताबाट ब्राउनसुगर जस्ता लागुपदार्थ भित्रिने गरेको प्रहरीकै अनुभव छ । सीमामा कडाइ गर्न जरुरी छ ।
अनि घरगाउँ र समाजमा लागुऔषध नियन्त्रणका लागि सचेतना लगायत अभियान पनि चलाउनुपर्छ । यसै सातादेखि नेपाल प्रहरीका विभिन्न एकाइले त्यस्तो अभियान पनि चलाएका छन् । तर, प्रहरीले मात्रै यसमा सचेतना पु¥याउने र नियन्त्रण गर्ने गर्न सम्भव हुँदैन् ।
उसलाई समाजको साथको आवश्यकता हुन्छ । आज कसैको परिवारको सदस्य कुलतमा छ भनेर अरुले वास्ता नगर्ने हो भने भोली कुलतको डढेलोले जसलाई पनि खरानी बनाउन सक्छ भन्ने समाजका प्रत्येक सदस्यले मनन् गर्नुपर्छ । लागुऔषध मुक्त समाजका लागि बहुआयामिक पहल जरुरी रहेको छ ।
प्रतिक्रिया