बाजुरा ः बाजुराको कोल्टीमा जारी बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव नसकिदै अर्को महोत्सव सञ्चालन भएको छ । जिल्लामा पछिल्लो समय महोत्सवको तीव्र आलोचना भइरहेको भएपनि महोत्सव भने दिनप्रतिदिन थपिन थालेका छन् । जनताका आधारभूत आवश्यकता उस्तै रहेपनि महोत्सवका नाममा स्थानीय तह ब्रहमलुट मच्चाईरहेका छन् ।
स्थानीय सरकार सहआयोजक रहेर व्यक्तिका कम्पनीलाई मुख्य आयोजक बनाएर महोत्सवका नाममा रकम कुम्ल्याउने योजना बनिरहेको प्रति स्थानीयको आक्रोश छ । बुढीनन्दामा जारी निजी व्यक्तिको नाममा रहेको प्रा.लि.बाट सञ्चालन गरिएको महोत्सवको संयोजक नै पालिकाबाट गरिएको र अध्यक्षता समेत नगर प्रमुखले नै गरेपछि आलोचनाको विषय बनेको थियो ।
उक्त आलोचनाको विषय सेलाउन नपाउदै फेरि माथिल्लो क्षेत्रकै स्वामीकार्तिक खापर गाउँपालिकामा बृहत् लोक सांस्कृतिक उत्सव आयोजना गरिएको छ । जो बुढीनन्दामा आयोजना गरिएको उत्सव भन्दा ३० मिनेटको दुरीमा पर्छ। स्वामीकार्तिकमा हुने उत्सवको आयोजक सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान, सहआयोजक स्वामीकार्तिक खापर गाउँपालिका र रीता देवी फाउण्डेशनसंग सहकार्य गरिएको छ ।
“कलाको सम्मान र संस्कृतिको पहिचान” भन्ने मुल नाराका साथ आयोजना हुने सांस्कृतिक उत्सवको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गर्ने भएका छन् । सरकारमाथि व्यक्तिका कम्पनी हाबी बनाएर विभिन्न उत्सव जिल्लामा आयोजना हुने विषय प्रति नकारात्मक टिप्पणी बढ्न थालेका छन् ।
स्वायत्त स्थानीय सरकारले व्यक्तिका कम्पनीलाई मोलमोलाई गरेर घुमाउरो बाटोबाट जनताले तिरेको कर माथिको रजाइँ गर्ने माध्याम बनाएको कतिपयले विश्लेषण गरेका छन् । सहकार्य र आयोजनाको नाम दिने र आन्तरिक सेटिङ्ग मिलाएर बजेट कुम्ल्याउने खेलोमेलो मात्र भएको जानकारहरुको बुझाई रहेको छ ।
कृषि, पर्यटनदेखि कलाको सम्मान नाम दिएर गरिने महोत्सवको नाराप्रति स्थानीय सन्तृष्ट छैन् । व्यापारीदेखि कलाकारसम्म बाहिरबाट बोलाउने र रकम सबै जिल्ला बाहिर नै पठाउने कुरामा स्थानीयको आपत्ति छ । व्यवहारमा लागू नहुने तर महोत्सवका नाममा शब्दका नारा दिएर जनताको आँखामा छारो हालेर बद्मासी गर्ने मात्र योजना भएको बौद्धिक तप्काको बुझाई रहेको छ ।
जिल्लामा लाग्ने महोत्सवमा निजी कम्पनीको कार्यक्रममा स्थानीय सरकारका प्रमुख नै हर्ताकर्ता बनेपछि आलोचना सही नसक्नु छ । बुढीनन्दा महोत्सवमा मालाश्री स्टुडियो आयोजक र बुढीनन्दा नगरपालिका सह-आयोजक र जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका सहप्रवद्र्वक रहेको कुरा व्यानरमा उल्लेख छ ।
उता स्वामीकार्तिक खापर गाउँपालिका सह-आयोजक रहेर बृहत् लोक सांस्कृतिक उत्सव आयोजना गर्दा नागरिक झन् आश्चार्य चकित भएका छन् । रीता देवी फाउण्डेशन रीता शाहीको एकल स्वामीत्वको कम्पनी हो । उक्त फाउण्डेशनसंग सहकार्य गरेर बृहत् लोक सांस्कृतिक उत्सव लाग्दैछ ।
शाहीले यस अघि प्रज्ञा प्रतिष्ठानसँगकै सेटिङमा अघिल्लो पटक त्रिवेणीको तोलीमा पनि कार्यक्रम गरेकी थिईन् । प्रतिष्ठानले काँग्रेस निकट संस्था वा व्यक्तिलाई रकम दिने र सँस्कृति बचाउने नाममा बद्मासी गर्ने गरेको आरोप लाग्दै आएको छ । कैलालीमा दर्ता भएको फाउण्डेशनलाई बाजुरामा कामका लागि सहकार्य गर्न दिने कुरामा पनि प्रश्न उठेको छ ।
अरुसँग सहयोग मागेर समाज सेवा गर्ने उदेश्य राखिएको फाउण्डेशनले सँस्कृति बचाउने कुराको अगुवाईमा जानकारहरु असन्तुष्ट छन् । पालिका एक तहको सरकार हुन् । जसले जनताका काम गर्दछ । जनताको हितमा रहेर विकास निर्माण, प्रशासन सञ्चालन, न्याय निरूपण तथा जनतालाई शान्ति सुरक्षा प्रदान कार्य राज्य सरकारले गर्दछ ।
उत्सव विशुद्ध नाफा कमाउने उद्देश्य अनुसार आयोजना भएको । जसमा जनताले टिकट काटेर महोत्सव स्थल प्रवेश गर्नुपर्ने हुन्छ । महोत्सव र उत्सव पैसा आर्जन गर्ने उद्देश्यले आयोजना गरेको प्रष्ट देखिन्छ । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका प्रमुख टीएन जोशीले आयोजक आफुहरु नै भएको र रीता देवी फाउण्डेशनसंग सहकार्य मात्र गरिएको बताएका छन् ।
बुढीनन्दा महोत्सव नसकिदै स्वामीकार्तिकमा किन सांस्कृतिक उत्सव भनेर सोध्दा समन्वय र प्रस्ताव आएन त्यस कारणले रीता देवी फाउण्डेशनले समन्वय गरेको जोशीले बताएका छन् । यता स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बृहत् लोक सांस्कृतिक उत्सवमा आफुहरुको कुनै संलग्नता नरहेको तर सहयोग गरिदिन भनेपछि सहयोग गरिएको बताएका छन् ।
प्रतिक्रिया