गाैमुल खबर डटकम सोमबार ०८, बैशाख २०८२ ०६:०३

नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थी भर्ना अन्यौलमा, शिक्षक आन्दोलनमा, निजीमा धमाधम भर्ना

बाजुरा
रमित वि.क.
बुधबार, बैशाख ०३, २०८२
नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थी भर्ना अन्यौलमा, शिक्षक आन्दोलनमा, निजीमा धमाधम भर्ना

बाजुरा ः यस वर्षको नयाँ शैक्षिक शत्र सुरु भएको छ । वैशाख २ गतेदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षक कर्मचारी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।

काठमाडौँ नगएका शिक्षकहरू समेत विद्यार्थी भर्ना अभियान लगायत कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिइरहेका छन् । नेपाल शिक्षक महासंघले विद्यालय खोल्ने र विद्यार्थी भर्ना अभियानमा संलग्न हुने शिक्षक तथा विद्यालय माथि निगरानी राखेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पूरा नहुँदासम्म कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताए ।

कतिपय विद्यालयमा शिक्षकहरू भर्ना अभियानमा सक्रिय रहेको जानकारी आएको बताउँदै सुवेदीले उनीहरू माथि सुक्ष्म निगरानी गर्दै आएको बताए । आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले समेत महासंघको चेतावनीपछि विद्यार्थी भर्ना अभियान बहिष्कार गरेका छन् ।

कतिपय विद्यालयले त सार्वजिनक सूचना नै जारी गरेर विद्यार्थी भर्ना अभियान अनिश्चितकालका लागि स्थगित गरेको जनाएका छन् । केही विद्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको उपस्थितिमा अभियान सुरु भएको छ ।

गौमुल गाउँपालिका-६ बसालामा रहेको घटाल आधारभुत विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाले एक सूचना जारी गर्दै शिक्षक आन्दोलनमा उठाइएका माग पूरा नहुँदासम्म सम्पूर्ण शैक्षिक क्रियाकलाप स्थगित गरिएको बताएका छन् ।

सरकारले भने शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला मन्त्रालय मार्फत भर्ना अभियान सञ्चालन गर्न परिपत्र गरे पनि शिक्षकहरूको आन्दोलनका कारण ती सबै कार्य ठप्प भएका हुन् । महासंघले नयाँ वर्षको दिन समेत सडकमा प्रदर्शन जारी राखेको थियो ।

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडान कायमै राखेको छ । शैक्षिक हडताल सहितको शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानका साथै एसईईको उत्तरपुस्तिका परीक्षण समेत रोकिएको छ । वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा समेत प्रभावित हुने भएको छ ।

महासंघले विद्यार्थी भर्ना अभियानबाट शिक्षक अलग रहने, कक्षा १२ को परीक्षामा शिक्षक तथा कर्मचारी सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण पनि नगर्ने निर्णय गरेको थियो । ७७ वटै जिल्ला, ७ प्रदेशको आन्दोलन परिचालन समितिको बैठक बसेको थियो । उक्त बैठकले शैक्षिक हडताललाई थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको थियो ।

महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने तीन वटा विकल्प सरकारलाई दिएको छ । सरकारले शिक्षकका माग सम्बोधनका लागि पहल भइरहेको दाबी गर्दै आएको छ । शिक्षा मन्त्रालयले त झन् वैशाख २ गतेभित्र घर फर्किनेगरी सहमतिको प्रयास भइरहेको दाबी गरेको थियो । यद्यपी अहिलेसम्म सहमति जुट्न सकेको छैन् ।

शिक्षकहरूले आन्दोलन कठोर बनाउँदै लगेका छन् । जिल्लाका सरकारी  विद्यालयका  सम्पूर्ण शिक्षक १४ दिनदेखि काठमाडौंमा छन् । प्रत्येक दिन आन्दोलनमा सहभागी हुन्छन् । ‘माइतघर टु बानेश्वर’ गरिरहेका छन् । ‘विद्यालय बन्द छन, शैक्षिक हड्ताल छ ।’ भर्ना अभियान रोकेर देशभरबाट शिक्षकहरू अझैं काठमाडौं आउने र जाने रोटेसन बनाईरहेका छन् ।

वैशाख १ गते देखी शैक्षिकसत्र २०८२ सुरु भयो । तर शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हड्तालको घोषणा गरेको छ । २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

जसका कारण बाजुरा लगायत देशभरका सामुदायिक विद्यालय ठप्प छन् । यता शिक्षाका जानकारहरुले भने शैक्षिक गुणस्तर सुधारमा समेत शिक्षकहरुले आफ्ना माग राखेर आन्दोलन गरे जस्तै ध्यान दिएमा शैक्षिक गुणस्तर सुधार हुने टिप्पणी गरिरहेका छन् ।
 

प्रतिक्रिया