काठमाडौं ः प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष–२०८२ मा नयाँ सरकार बन्ने आशा गरेका छन् । आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग वर्तमान सरकार धेरै चल्न सक्ने अवस्था नरहेको बताएका हुन् । ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ ।
त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने, ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’ राजावादी आन्दोलनविरुद्ध नेकपा एमाले सडक प्रदर्शनमा उत्रिनुपर्ने परिस्थितिलाई प्रचण्डले सरकार सञ्चालनको असहजतासँग जोडेका छन् । प्रचण्डले यो सरकारको विकल्पबारे पनि सार्वजनिक प्रस्ताव गरेका छन् ।
केही दिन अघिको एक अन्तर्वार्तामार्फत् पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए । यद्यपि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नजाने बताउन थालेको पनि धेरै भइसक्यो ।
प्रधानमन्त्री ओलीले ‘सरकार ढल्दैन’ भन्नु र प्रचण्डले ‘सरकार धेरै चल्दैन’ भन्नु सार्वजनिक भाषणका अनिवार्य विषय बनिसकेका छन् । कांग्रेस र एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति गरी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय भए लगत्तै प्रचण्डले पनि सरकारमा फर्कन सकिने विकल्प खोज्न थालिसकेका थिए ।
गत २६ साउनमा बसेको माओवादी स्थायी समिति बैठकको निर्णयले कांग्रेस–एमाले सत्ता समीकरण भत्काउने उद्देश्य राखेको प्रष्ट अनुमान लगाउन सकिन्छ । ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिने होइन । बृहत वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरू पनि आउँदै गर्दा खासखास नेताहरू अहिले कम्युनिष्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ’, त्यस दिनको बैठकले गरेको निर्णय थियो ।
अर्थात् प्रचण्डले जुनसुकै बेला कम्युनिष्टहरू एकताबद्ध हुन सक्छन् र त्यसको पहलकदमी आफूले लिने सार्वजनिक सन्देश दिएका थिए । प्रधानमन्त्रीबाट हट्नासाथ समाजवादी मोर्चाको ब्यानरमा गतिविधि बाक्लो बनाउँदै पार्टी एकतासम्मको उद्देश्य राख्नुले पनि वाम एकताकै सन्देश प्रचण्डले दिइरहेका छन् ।
समाजवादी मोर्चामा रहेका दलहरू लगभग कम्युनिष्ट वा कम्युनिष्ट पृष्ठभूमिका छन् । त्यसैले जुनसुकै बेला कम्युनिष्ट एकता फेरि हुन सक्ने सन्देश प्रचण्डले दिइरहेका छन् । २०७४ मा चुनावी सहकार्य र २०७५ मा एमालेसँग पार्टी एकता नै गरेको पृष्ठभूमिमा प्रचण्डले दिइरहेको सन्देशलाई बेवास्ता गर्न सकिने अवस्था छैन ।
तर सार्वजनिक अभिव्यक्तिहरुमा भने प्रचण्ड ठीक उल्टो सुनिँदै आएको छ । कांग्रेस र सभापति देउवा भन्दा बढी ओली र एमालेप्रति प्रचण्ड आक्रामक छन् । हुनत प्रचण्ड प्रमुख विपक्षी दलका नेता भएकाले प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु स्वभाविक पनि हो ।
तर कांग्रेसका संस्थापन इतर नेताहरूसमेत प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका बेला प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई चासोकै साथ हेरिएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला र उनी पक्षीय नेताहरुले यसअघिबाटै सरकारप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
केही समय यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत सरकारले अपेक्षित काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् । यद्यपि नेताहरू सार्वजनिक अभिव्यक्तिकै कारण वर्तमान सरकार संकटमा नपर्ने बताउँछन् ।
ओली र देउवाबीचको सम्बन्धमा समस्या नआएसम्म सरकारलाई कुनै असर नपर्ने कांग्रेस–एमालेकै नेताहरु बताउँछन् । माओवादी केन्द्रका एक पदाधिकारी पनि प्रचण्डको अभिव्यक्तिकै कारण राष्ट्रिय राजनीतिमा कुनै परिवर्तन आउन सक्ने सम्भावना देख्दैनन् । ‘पार्टीले त्यस्तो कुनै निर्णय गरेको छैन । अध्यक्षले के बोल्नु हुन्छ, त्यतातिर नजाऔं’ ती पदाधिकारी भन्छन् ।
सत्ता मोह
कांग्रेस–एमालेले सत्ता सहकार्य थालेपछि विकल्पहीन बनेका प्रचण्डले सत्ताको खेलमा नअल्मलिने र जनताको बीचमा जाने घोषणा गरेका थिए । सरकारबाट हट्नासाथ पार्टी निर्माणको कार्यक्रम पनि सार्वजनिक गरिएको थियो ।
प्रचण्डले त यो संसदीय कार्यकालमा सरकारमा जाँदै नजाने र जानु परे आफू नजाने घोषणा पनि गरेका थिए । ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउछु’, २३ साउन २०८१ मा विराटनगर पुगेका प्रचण्डले भनेका थिए । अर्थात् माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाए भने पनि अर्कै नेतालाई प्रधानमन्त्री बनाउने प्रचण्डको घोषणा थियो ।
त्यसबेला प्रचण्डले पार्टी निर्माणमा अपिल गर्नेगरी भावुक मन्तव्य पनि दिएका थिए । नेताहरू नसुध्रिएर आँखै अगाडि माओवादी सकिने प्रचण्डको भनाइ थियो । ‘… हामी जनयुद्धको तयारी गर्ने, जनयुद्ध उठाउने, हजारौं मान्छेहरूको बलिदानपूर्ण महान् क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेहरुलाई हेर्दाहेर्दै पार्टी सिद्धिन लागेको कुरा त कम पीडादायी हुन्छ होला त !’, पार्टी निर्माणमा खटिन प्रचण्डको अपिल थियो ।
सरकारको खेलमा नअल्मलिने घोषणा गरेका प्रचण्डले केही समय नबित्दै वर्तमान सरकार धेरै नजाने बताउन थालेका छन् । उनको दाऊ भने ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु रहेको लुक्दैन । जसका निम्ति प्रचण्डले गत माघ पहिलो साता विपक्षीहरूको ८० सांसद आफ्नो साथमा उभिन तयार रहेको सन्देश नै दिएका थिए ।
निकट विगत हेर्दा पनि प्रचण्डमा लामो समय विपक्षीमा बस्ने धैर्यता देखिदैन । २५ असोज २०७२ मा ओलीलाई प्रधानमन्त्री मानेर सरकारमा जान थालेको माओवादी लगातार ९ वर्ष सरकारमा बसेको थियो । ५ पुस २०७७ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको सात महिना र गत ३१ असार यता बाहेक माओवादी संधै सरकारमा छ ।
आफ्नो नेतृत्वको सरकार ढल्दै गर्दा पनि प्रचण्डले यो संसदीय कार्यकालको पाँचै वर्ष आफू प्रधानमन्त्री हुन सक्ने सम्भावना रहेको सार्वजनिक भाषण गर्थे । ‘… अहिले डेढ वर्ष भयो, तर म बसेकै छु र मैले जे देदखेको छु सबै परिस्थिति ।
तरिका मिल्यो भने पुरै अवधि बसिन्छ’ प्रचण्डले गत ८ असारमा मात्र भनेका थिए, ‘हामीलाई हटाउन सजिलो छैन इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनका कारणले र हाम्रो जादु नम्बरका कारणले पनि ।’ यद्यपि यस्तो भाषण गरेको एक साता नबित्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै ओली प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया