गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:४७

मौलिक पर्व ‘मैझाडो’ र इतिहास

गोरुलाई छुट्टी दिने उत्सव
बाजुरा
रमित वि.क.
बिहीबार, मङि्सर ०६, २०८१
मौलिक पर्व ‘मैझाडो’ र इतिहास

आज भन्दा १४१४ वर्ष अगाडी अर्थात् ६ सय ६७ वर्ष पहिले धल्काँडा स्थित कालिका भगवती मन्दिरमा ७ (राठी) जात जम्मा भए । पुसको महिनामा जम्मा भएका सबै स्थानीयले एक आपसमा सल्लाह गरे । अब हामी एकजुट हौं र बसौं भनेर छलफल सुरु भयो ।

राठी अर्थात् जात धामी, बोहरा, मज्याडी बोहरा, माझपाले रोकाया, पडीकोटे रोकाया, गदाडी सार्की, दयाल जेठारा जम्मा भए । अब के गर्ने भनेर आपसी सल्लाह भयो ।सातै राठीले भगवतीको गातमा माथि गहुत हालेर हात धुदाँ तल भुईँमा कैलाश र धल्पुरो देवताको शक्तिका कारण दुध बन्यो र धर्म बाँधियो ।

त्यसपछि दुई परिवार तल्ला आँले र बेहरीका परिवार हामी यस्तो धर्म नमान्ने अर्थात् हात नधुने भनेर बाहिरिए । तर उनीहरु मैझाडोमा नलाग्ने र त्यो दिनबारमा देवताको सेवाका लागि आउने भनेर नलाग्ने निधाेँ गरे ।

त्यसपछि पनि मानाकोट पडीकोटका रोकाया र गदाडी सार्की र बझाङ्गी दयाल जेठारा मैझाडो नमान्ने गरी अलग्गिए तर धर्म मानिरहनेमा उनीहरु लागे । त्यसपछि क्रमशः चार (राठी) जात धामी, बोहरा, मज्याडी बोहरा र रोकाया मात्र मौलिक पर्व मैझाडो मनाउने गरी एक जुट भए ।

चारै राठी कैलाश देवतालाई दिनबार माग्ने गरी फेरि देवता कहाँ लगन माग्न गए । कैलाश देवताले दिनबार लगन दिएपछि त्यसपछि खेतबारीमा कार्तिके बाली भित्र्याउने र हिउँदे अन्नबाली छर्न स्थानीयहरु निस्के र अन्नबाली छरेर सकाउँछन् ।

गाउँभरिका सबैले अन्न्बाली छरेर सकेपछि स्थानीयबीच सल्लाह भयो । मौलिक पर्वको रुपमा किसान दिवस मनाउनुपर्छ भनेर छलफल भयो । छलफलबाट प्रत्येक वर्षको मंसिर ७ गते मौलिक पर्व मैझाडो मनाउने निर्णय भयो ।

कैलाश देवताले दिएको लगन अनुसार त्यसपछि चार (राठी) जातका बल्द गोरुहरु एकै ठाउँमा जम्मा गरे । जम्मा गरेपछि गाउँको बुढ्याली अर्थात् देवताका धामीले मंसिर ७ गते कालिका भगवतीको मन्दिरमा गएर गाउँभरिकालाई घण्ट बजाएर एकै पटक एउटै स्वरमा (बल्द) ४ सय गोरुको काँध माथि राखेको (जु) खुन आवाज दिन्छन् ।

यति बुढ्यालीले बजाएको घण्ट र बोलाएको स्वरमा सबैले एकसात गोरुको काँध माथिको जुवा नखोलेमा अनिष्ट हुन्छ भन्ने धार्मिक मान्यता बस्यो त्यो इतिहास हालसम्म निरन्तर कायमै रहेको छ । (जु) एकसात खोएका स्थानीयले आफ्नो घरमा विभिन्न मिठामिठा परिकार पकाएर मैझाडो मनाउने र घरपरिवार एकसात बसेर खाएर मैझाडो पर्व मनाउने स्थानमा जान्छन् ।

बल्द गोरुको (जु) खोएपछि त्यो रातभर स्थानीयले डेउडा, मागल, फाग, भुवा, चाली लगायत विभिन्न संस्कृतिहरुलाई रातभर स्थानीयले जगेर्ना गर्न थाल्छन् । त्यसरी नै गौमुल गाउँपालिका–३ स्थित धल्काँडामा किसान पर्व मैझाडो मनाउने क्रम हालसम्म चलिआएको स्थानीय संस्कृतका जानकार ७१ वर्षीया मान बहादुर बोहराले बताएका छन् ।

उबेला धल्काँडामा मैझाडो, दहकोटमा चौधस, मानाकोटको दसैं, जुगाडामा गौरा, बार्जुकोटको दसैं, ताप्रामा हरिनो र मार्तडीमा अनन्ते हुने चलन थियो । असारमा लगाएको धान, कोदो, मकै लगायत बाली भित्र्याएर गहुँ, जौ लगाएपछि गोरुलाई आराम दिने र किसान स्वयं पनि आराम गर्ने दिनका रूपमा मैझाडो मनाईन्छ ।

२०७० सालयता गाउँलेकै पहलमा यो पर्व ‘किसान दिवस’ का रूपमा भव्यताका साथ निरन्तर मनाइँदै आएका छन् । मैझाडोका दिन धल्काँडामा अवस्थित कालिका भगवती मन्दिरमा मेला लाग्छ । मेलामा बाजुरा मात्र नभई बझाङ, बैतडी, डडेल्धुरा र दार्चुलादेखि मानिसहरू हेर्न आउने गर्छन् ।

प्रविधिको विकास, बदलिँदो जीवनशैली र युवामा देश छोड्ने लहडका बीच यस्तो मौलिक पर्वलाई निरन्तरता दिनु चुनौती रहेको स्थानीय जोगमल बोहरा भन्छन् । पछिल्लो समय त्यहाँका स्थानीयले मैझाडो पर्वलाई मौलिक पर्वको रुपमा हालसम्म निरन्तर मनाउने गरेका छन् ।

इतिहास र वर्तमानमा केही फरक तरिकाले मैझाडो पर्व मान्दै आएका छन् । केही वर्ष यता मैझाडो पर्वमा विभिन्न साँस्कृतिक कार्यक्रम र जनचेतनामूलक गतिविधिका साथ कार्यक्रमलाई व्यवस्थित गर्दै लिएको स्थानीय रण धामी बताउँछन् ।

आफ्ना सामाजिक सांस्कृतिक मूल्यहरूमा आफ्नो पनि पहिचान खोज्नुभन्दा आयातीत संस्कृतिमा रमाउनुमा गर्व गरिरहेका हामीले भावी पुस्तालाई कस्तो संस्कृति र संस्कार दिइरहेका छौँ भन्ने पनि सोच्न भ्याउँदैनौँ ।

मलाई सम्झना छ, काकाको बिहेको निम्तो दिन आएकी किशोरीलाई ठट्टामा सोधेको थिएँ– ‘डेउडा खेल्ने निम्ता छ कि छैन नि ?’ उनको जवाफ थियो ‘आन्टी पनि के कुरा गरिस्या ? अब पनि के डेउडा खेल्ने ?

उनी खितखिताउँदै हाँसिन् र भनिन् ‘संगीतको कत्रो तयारी भइरहेको छ आन्टीलाई भने रत्यौली...π’ मेरो कुरा सुनेर ती किशोरीले हाँसो थाम्न सकेकी थिइनन् तर म भने आफ्नो परम्परा र संस्कृति हराउँदै जान लागेकोमा दुखेको थिएँ । यतिबेला पनि म त्यसरी नै दुखिरहेको छु ।

हाम्रा मौलिक पर्वहरू न केवल मनोरञ्जनका साधन हुन् न त आर्थिक हैसियतको प्रतिस्पर्धाका माध्यम नै हुन् । यिनमा त सामाजिक सद्भाव तथा मानव कल्याणको भाव निहित हुन्छ । ‘सर्वै भवन्तु सुखिनः’ भन्ने पूर्वीय दर्शन संस्कृतिभित्रको कल्याणकारी भावको प्रसार अहिलेको आवश्यकता बनेको देखिन्छ ।

पूर्वीय दर्शन, संस्कृति, त्यसभित्रका मिथक र बिम्बहरूको अपव्याख्या गर्दै पुँजीवादी अर्थतन्त्र र विश्वव्यापीकरणले स्थापित गर्न खोजेको एकल संस्कृतिको प्रभावबाट हाम्रो संस्कृतिलाई जोगाइराख्नु पनि आजको चुनौती बनेको छ ।

यसका लागि हरेक पिँढीले आफ्नो मौलिक परम्परालाई मूल मर्ममा प्रहार नहुने गरी आवश्यकता अनुसार परिमार्जन गर्दै निरन्तरता दिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने देखिन्छ भने यसमा नयाँ पुस्ता गम्भीर बन्नुपर्दछ ।

    

प्रतिक्रिया