गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१७
Dho

मुक्तिकोटमा कुपोषणले फेरि एक बालिकाको मृत्यु

२२ जना बालबालिका कडा कुपोषित
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १३, २०८१
मुक्तिकोटमा कुपोषणले  फेरि एक बालिकाको मृत्यु

बाजुरा : जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बुधबार कुपोषणबाट ग्रसित एक बालिकाको मृत्यु भएको छ ।

कुपोषणले ग्रसित सोही वडाकी दुमली वि.क.की १७ महिने छोरी जमुना वि.क.को मृत्यु भएको मुक्तिकोट शहरी स्वास्थ्य केन्द्रका प्रमुख वृज वि.क.ले जानकारी दिएका छन् ।

स्वास्थ्य केन्द्र प्रमुख वि.क.ले दिएको जानकारी अनुसार जन्मेदेखि नै बालिका कुपोषित भएको र पोषणयुक्त खानेकुराको अभावले बालिकाको उपचार नपाएर मृत्यु भएको बताएका छन् ।

आर्थिक अभावका कारण कुपोषित बालिकाको उपचार गर्न सम्भव नभएपछि मृत्यु स्वास्थ्य केन्द्र प्रमुख वि.क.को भनाई रहेको छ ।

१७ महिने छोरी कुपोषणबाट प्रभावित भईरहदा आमाको पेटमा अर्को बच्चा रहेको र श्रीमान भारतमा रहेकाले उपचार गर्न नसकेको दुमली वि.क.कले बताए ।

कुपोषणबाट ग्रसित बालिकालाई उपचारका लागि मुक्तिकोट स्वास्थ्य चौकीले रिफर गरेपनि अन्यत्र लिने पैसा नहुदा घरै मृत्यु भएको हो ।

सदरमुकाम मार्तडीमा रहेको अस्पताल बाजुरामा पोषण पुर्नस्थापना केन्द्र भएपनि त्यहाँसम्म पुर्याउन  पैसा नहुदा मृत्यु भएको हो ।

मुक्तिकोट गाउँमा बैशाख यता मात्र २२ जना कडा कुपोषित बालबालिका रहेको इन्चार्ज वृज विकले  बताएका छन् ।   २२ बालबालिकाले  स्वास्थ्य संस्था मार्फत उपचार गरिरहेको उनले बताए ।

गाउँमा कुपोषणको निकै कहर रहेको छ, हामीले कडा कुपोषित बच्चा मात्र उपचार गर्ने गरेका छौ, बाँकी मध्यम र सामान्य धेरै वालवालिका कुपोषण रहेको वि.क.को भनाई रहेको छ ।

मुक्तिकोट गाउँमा रिता वि.क.की १३ महिनाकी छोरी सलिना वि.क कडा कुपोषणबाट ग्रस्त रहेकी छन् । घरमा पोषिलो खानेकुरा नहुदा सलिना मात्र नभइ आमा रिता पनि कुपोषणको सिकार बनेकी छन् ।

उहाँका अन्य सन्तान पनि कुपोषित रहेका छन् । स्थानीयका अनुसार २०७९ साल यता मात्र १३ जना बालवालिकाको मृत्यु भएको छ ।

सधैका वर्षमा कुपोषणले यो गाउँमा बालवालिकाको मृत्यु हुने गरेको छ । २०७८ सालमा मात्र आठ जनाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य चौकीले जनाएको छ ।

२०७८ सालमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित पछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

रिपोर्टमा बालबालिका मात्र नभइ किशोर, किशारी, वयबृद्ध, महिला, गर्भवती तथा सुत्केरी आमा कुपाषित रहेको तथ्याङमा उल्लेख छ । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

मुक्तिकोट गाउँमा वर्षेनी धेरै वालवालिका कुपोषणको चपेटामा परेको भएपनि राज्यको ध्यान नगएको स्थानीय डवल वि.क.ले बताउनु भएको छ । कुपोषणले बच्चा मर्ने यहाँका लागि सामान्य रहेको उनले  बताए ।

मुक्तिकोटमा सबै परिवार दलित परिवार रहेका छन् । यो नेपालको सबैभन्दा गरिब गाउँका रुपले परिचित गाउँमा रुपमा रहेको छ । गाउँमा शत प्रतिशत बालविवाह रहेको छ । 

यहाँ २० वर्ष उमेरका  कुनै व्यक्ति अविवाहित भेटिने गरेका छैनन् । गरिवी र आर्थिक अभाव भएपनि  धेरै सन्तान जन्माउने गरेका छन् । 

प्रतिक्रिया