गाैमुल खबर डटकम मङ्गलबार ३०, बैशाख २०८२ ०६:५१

‘वन्यजन्तुको सुरक्षा गर्न वासस्थान सुरक्षित राख्नुपर्छ’

गाैमुल खबर डटकम
सोमबार, फागुन २३, २०७८
‘वन्यजन्तुको सुरक्षा गर्न वासस्थान सुरक्षित राख्नुपर्छ’

के थाहा पाउनुपर्छ भने– राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भनेको संघीय क्षेत्रअन्तर्गत पर्दछन् । र, यो भनेको निषेधित क्षेत्र हो । जनावरले निकुञ्जको सिमाना कहाँसम्म हो भनेर हेर्दैन । त्योभन्दा बाहिरको वन क्षेत्र पनि वन्यजन्तुको वासस्थान हो । वन्यजन्तुको सुरक्षाका लागि यसको वासस्थान सुरक्षित राख्नुपर्दछ भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता हो ।

जब त्यो कुरा बिर्सिएर, गिट्टी, बालुवालगायत अन्य स्रोतहरू मेरो क्षेत्रमा पर्दछ भनेर राजनीतिक सिमानाको आधारमा व्यवहार गर्न मिल्दैन । यस्तो अवस्था भयो भने यसले संरक्षणमा दीर्घकालीन असर पर्दछ । त्यसबेला निकुञ्जले कानुन बमोजिमको अधिकार प्रयोग गर्दछ । 

यो हाम्रो मात्र सरोकारको विषय होइन । यसमा संसारले हामीलाई हेरिरहेको हुन्छ । हामीले संरक्षणको विषयलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा हस्ताक्षर गरेका छौं । यसको अर्थ के हो भने यदि हाम्रा क्रियाकलापबाट संरक्षणमा असर पुग्यो भने हामीले अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत जवाफ दिनुपर्दछ । त्यसबेला हामीले के गर्ने ?

जहाँबाट पनि विकास गर्नुपर्दछ । स्रोतहरूको प्रयोग गर्नुपर्दछ र जहाँबाट पनि खोला थुनेर हाइड्रोपावर बनाउनुपर्दछ भनियो भने त्यसबाट समस्या पैदा हुन्छ । हामीले प्रकृतिलाई मासेर होइन, त्यसलाई बचाएर पो विकासका काम गर्नुपर्दछ । अहिले स्थानीयस्तरमा भइरहेको द्वन्द्वको चुरो कुरा यही हो । 

केही स्थानीय तहहरूले मध्यवर्ती क्षेत्रको प्राकृतिक स्रोत, साधन प्रयोग गर्न नपाएको कुरा गर्नुभएको छ । त्यसमा उहाँहरूले ऐन, नियम पल्टाएर हेर्नुपर्‍यो । निकुञ्जको सिमानाको पारिपट्टि खोलाको गिट्टी, ढुंगा प्रयोग गर्न पाइएन भनेर जसरी भनिएको छ, यो त संरक्षणको सिद्धान्त अनुसार नै नमिल्ने कुरा हो ।

हामीले वातावरण र संरक्षणमा क्षति नपुग्ने गरी गिट्टी, ढुंगा, बालुवा दिनसक्ने गरी योजना पनि बनाएका छौं । कहाँ कुन परिणाममा निकाल्ने भन्ने सबै मापदण्डमा उल्लेख छ । त्यसो हुनाले अनावश्यक गुनासोको कुनै अर्थ रहन्न ।

यसरी बनाइएको मापदण्ड अनुरूप कुन खोलाको, कुन क्षेत्रबाट कति बालुवा, गिट्टी, ढुङ्गा निकाल्न सकिन्छ भनेर मापदण्ड बनाइएको छ । त्यहाँबाट निकालेर स्थानीय विकास गर्न कुनै आपत्ति छैन । तर त्यसअनुसार प्रक्रिया पुर्‍याउनुपर्‍यो । आफूखुसी सामग्री उत्खनन गर्न पाइएन भनेर गुनासो मात्रै गरेर हुन्न ।

एउटा कुरामा प्रष्ट हुनुपर्छ– मध्यवर्ती क्षेत्रमा पर्ने खोला तथा नदीहरूको नदीजन्य वस्तुहरू व्यापारिक प्रयोजनले ठेक्का लगाएर बिक्री–वितरण गर्न असम्भव छ र यो मिल्दै नमिल्ने विषय हो । यस्तो काम गर्न प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूले पनि अनुमति दिंदैनन् ।

(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. कँडेलसँग पत्रकार मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया