गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२१
Dho

नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

गाैमुल खबर डटकम
सोमबार, फागुन २३, २०७८
नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ ।

रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर हल्का रूपमा लिइरहेका छन् ।

युद्धविराम हुने वा लम्बिने कुरा आफ्नो ठाउँमा छँदैछ, तर यसको असर कच्चा तेल तथा यससँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिने साना–ठूला व्यापारमा पर्न थालिसकेको छ । यसबारे चिन्ता पनि व्यक्त हुन थालिसकेको छ ।

युरोप तथा एशियामा युद्धको असर देखिन सुरु भैसकेको छ । उदाहरणका लागि नेपालमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिन सकिन्छ । यस युद्धले विश्व बजारमा विभिन्न रूपमा असर गर्ने देखिन्छ । ती असरहरूको चर्चा यस आलेखमा गरिनेछ ।

कृषि उपज बजारमा प्रभाव

रूस एक्लैले वार्षिक चार करोड टन गहुँ निकासी गर्दछ, जुन विश्वको लगभग २४ प्रतिशत निकासी हुने गहुँको मात्रा हो । यदि रूसले गहुँ निर्यातमा मूल्य वृद्धि गर्‍यो भने त्यसको असर नेपालमा पनि पर्नेछ ।

किनकि नेपालले भारत तथा रूसबाट ठूलो मात्रामा गहुँ निर्यात गर्दछ । हामी खाद्यान्नमा गहुँमा महँगीको मारमा पर्न सक्छौं । रूसले आफूले युद्धमा गरेको खर्च सन्तुलन गर्नका लागि गहुँको मूल्य वृद्धि गर्ने कुरा निश्चितप्रायः नै छ ।

यस्तै विश्वव्यापी गहुँ व्यापारमा युक्रेनले ९ प्रतिशत भाग ओगट्छ । युक्रेन र रूसले विश्वव्यापी गहुँ व्यापारको ३३ प्रतिशत साझा गर्छन् जसले गर्दा दुवै देशमा रूसको शासन भए पश्चात गहुँको मूल्य वृद्धि पक्का छ ।

विश्वमा युक्रेन सूर्यमुखी, मकै र जौको सबैभन्दा ठूलो उत्पादक हो । यदि रूसको शासन युक्रेनमा चलेमा वा युक्रेनले आफैं पुनः जीवित हुन खोजेमा उसले सूर्यमुखी तेलसँगै मकै तथा जौको मूल्यमा युद्ध घाटा सन्तुलन गर्न वृद्धि गर्नेछ । यसको असर नेपालको भान्सा-भान्सामा पर्नेछ ।

भारतले युक्रेनबाट लगभग ७४ प्रतिशत सूर्यमुखी तेल आयात गर्दछ । कतिपय अवस्थामा अब कृषिको उत्पादन नहुने अवस्था आउनेछ तथा सूर्यमुखी तेल, गहुँ, मकै, जौ आदिको उत्पादनमा कमि आउनेछ ।

यसबाट स्वाभाविक रूपमा आपूर्तिमा गिरावट आउनेछ । अर्थशास्त्रको नियम अनुसार माग बढेमा मूल्य पनि बढ्नेछ । नेपालले आफ्नो प्रयोग अनुसारको उत्पादन गर्न नसकिरहेको सन्दर्भमा निर्यातमा हामी महँगो मूल्यमा पर्नेछौं ।

रूस-युक्रेन युद्धको ऊर्जा बजारमा प्रभाव

रूस विश्वको तेस्रो ठूलो तेल निर्यातक हो । रूसले प्रतिदिन करिब ५ मिलियन ब्यारल तेल निर्यात गर्दछ । यदि रूस आफ्नो गन्तव्यमा पुग्न समय लगाउँछ भने ऊर्जा बजार महँगो हुनेछ किनकि रूसले तेलमा मूल्य वृद्धि गर्दै जानेछ ।

तीन महिना पहिले प्रति ब्यारल ६८ डलर भएको कच्चा तेल आज ११४ पुगेको छ । रूसबाट युरोपमा त्यहाँको खपतको ४०-५० प्रतिशत ग्याँस निर्यात हुन्छ । यदि रूसले ग्याँसमा मूल्य वृद्धि गर्‍यो भने पूरा युरोपमा महँगी बढ्नेछ र युरोपबाट विश्वभरि जाने सामानहरू महँगो हुनेछ । त्यसको असर स्वाभाविक रूपमा विश्व बजारमा पर्नेछ । फलस्वरूप मुद्रास्फीति बढ्नेछ ।

रूस-युक्रेन संकटको नेपालमा पर्ने आर्थिक प्रभाव मूलतः तेलको मूल्यसँग सम्बन्धित हुन्छ । भारत तेलको ठूलो उपभोक्ता हो । हामी भारतबाटै तेल आयात गर्छौं । तीन महिना अगाडि ६८ अमेरिकी डलर प्रति ब्यारल रहेको कच्चा तेल हाल ११४ अमेरिकी डलर प्रति ब्यारल पुगेको छ ।

त्यस्तै, रूस प्राकृतिक ग्याँसको दोस्रो ठूलो उत्पादक पनि हो । रूसमा संसारको सबैभन्दा ठूलो १६८८–टीसीएफ (ट्रिलियन क्युबिक फिट) ग्याँस भण्डार छ र रूसले यसलाई संसारभरि निर्यात गर्ने गर्दछ । रूसको ग्याँस निर्यातको तथ्यांक हेर्दा युरोपमा ८३ प्रतिशत, पूर्व सोभियत संघमा १२ प्रतिशत, चीनमा २ प्रतिशत, अन्यमा ३ प्रतिशत गर्ने गर्दछ ।

एक्लै विश्वको कच्चा तेलमा रूस १२ प्रतिशत हिस्सा उत्पादन गर्दछ । जबकि विश्वको बाँकी ८८ प्रतिशत ओपेक सहितका अरु देश उत्पादन गर्दछन् । रूसबाट कच्चा तेल निर्यातको तथ्यांक हेर्ने हो भने युरोपमा ५३ प्रतिशत, एशियामा ३९ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत हुने गरेको देखिन्छ ।

यदि रूसले आफ्नो लडाईं घाटा सन्तुलन गर्नुपर्ने भए ऊर्जा बजारमा आफ्नो उत्पादन महँगोमा बेच्नेछ । यसको प्रभाव संसारभरि पर्ने हुन्छ । प्रतिफलमा प्रत्येक वस्तु महँगो हुँदै जानेछ र मुद्रास्फीति बढ्नेछ ।

धातु बजारमा असर

रूस आल्मुनियमको दोस्रो ठूलो उत्पादक हो । रूससँग विश्वव्यापी आल्मुनियम उत्पादनको ६ प्रतिशत बजार छ । रूसमा विश्वको तामाको १० प्रतिशत भण्डार छ । साथै रूस निकल, प्यालेडियम र प्लेटिनमको पनि ठूलो उत्पादक हो । रूस संसारको तेस्रो ठूलो निकल उत्पादन गर्ने देश हो ।

रूसले प्यालेडियमको विश्वव्यापी आपूर्तिको ४३ प्रतिशत उत्पादन गर्दछ । एलएमई आल्मुनियम मूल्य रेकर्ड निकेलको मूल्य १५ वर्षकै उच्च भएको छ । यसको कारण पनि युद्ध नै हो ।

यदि यो युद्ध लामो समय रहिरह्यो भने तथा रूसलाई अन्य देशहरूले प्रतिबन्ध लगाएमा रूसका यी उत्पादनको विकल्प संसारका अन्य देशहरूले दिनुपर्नेछ । यस अर्थमा यी धातुहरूको बजारमा कमि हुनेछ तर, माग घट्ने अवस्था हुनेछैन । प्रतिफलमा धातुबजार महँगो हुनेछ । हामीले घर बनाउनु पर्दा लाग्ने प्रत्येक धातुमा मूल्य वृद्धिसहितको सामान प्रयोग गर्नुपर्नेछ ।

नेपालमा असर र केही सुझाव

रूस युक्रेन युद्धले नेपाललाई कत्तिको असर गर्दछ भन्ने प्रश्न आज आम नेपालीको दिमागमा छ । नेपाललाई पर्ने असर भने आम नागरिकलाई पर्ने असर पनि हो । रूस-युक्रेन युद्धले हामी नेपाली जनताको खल्तीलाई कसरी असर पार्न सक्छ वा पर्नेछ र यसबाट कसरी बच्न सकिन्छ भन्ने प्रश्नको वस्तुनिष्ठ जवाफ खोज्नुपर्ने बेला भएको छ ।

रूस-युक्रेन संकटको नेपालमा पर्ने आर्थिक प्रभाव मूलतः तेलको मूल्यसँग सम्बन्धित हुन्छ । भारत तेलको ठूलो उपभोक्ता हो । हामी भारतबाटै तेल आयात गर्छौं । तीन महिना अगाडि ६८ अमेरिकी डलर प्रति ब्यारल रहेको कच्चा तेल हाल ११४ अमेरिकी डलर प्रति ब्यारल पुगेको छ । यसले व्यापार घाटा र मुद्रामा मात्र नभई मुद्रास्फीति र वित्तीय अवस्थालाई पनि असर पार्ने सम्भावना रहन्छ ।

संघीय बजेट र राष्ट्र बैंकको मौद्रिक नीति घोषणा यस संकटभन्दा धेरै अगाडि आएका थिए, जसमा कच्चा तेलको प्रभावलाई कुनै कारकको रूपमा उल्लेख गरिएको थिएन । मूल्य वृद्धिको झट्का अगाडि बढ्न हाम्रो लागि थप चुनौती हुनसक्छ । आम नागरिकलाई यसको प्रत्यक्ष प्रभाव परेको जस्तो नदेखिए तापनि पछि ठूलो संकट निम्त्याउन सक्छ । यसले नेपाली अर्थतन्त्रमा ठूलो जोखिम निम्त्याउन सक्छ ।

तेलको उच्च मूल्य वृद्धिले बाह्य स्थायित्व र मुद्रा आवागमनमा जोखिम निम्त्याउँछ । यसबाहेक, मुद्रास्फीतिमा उच्च मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव बाहेक अन्य क्षेत्रहरूमा ‘पास-थ्रु’ प्रभाव राष्ट्र बैंकले अपेक्षा गरे अनुसार अस्थायी नहुन सक्छ । यसबाहेक, सरकारले ‘क्यालिब्रेट’ गर्नुपर्ने हुनसक्छ र सही वित्तीय अडान जरूरी हुन्छ ।

प्रतिक्रिया