गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१४
Dho

वर्षा र हिमपातपछि जौ गहुँ छर्दै बाजुराका किसान

गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ २०, २०८०
वर्षा र हिमपातपछि  जौ गहुँ छर्दै बाजुराका किसान

बाजुरा : झट्ट सुन्दा अच्चम जो कोहीलाई पनि लाग्छ । माघ महिनामा समेत बाली लगाउँछन् होला भनेर । कल्पना बाहिरको कुरा भएपनि बाजुराको गौमुल गाउँपालिका–६ बसालाका किसानहरुलाई यतिबेला भ्याइनभ्याई भएको छ । वर्षा र हिमपातको पर्खाइमा रहेका यहाँका किसानहरुलाई हिजो आज जौ, गहुँ छर्ने चटारो नै चलेको छ ।

सुख्खा खडेरीका कारण हिउँदे बाली जौ र गहुँ छर्ने बाँकी राखेका जमिनमा यतिबेला किसानहरु छर्नमा व्यस्त देखिएका छन् । कतै यसअघि नै जौ गहुँ छरिसकेका किसानहरुले सुख्खा खडेरीका कारण सुकेर पूर्ण रुपमा नष्ट भएपछि हिमपात र वर्षाको वेग र प्रतिक्षामा त्यहाँका किसानहरु रहेका थिए ।

केही भाग जमिनमा सुख्खा खडेरीले बाली छर्न बाँकी रहेको स्थानमा हिमपात र वर्षापछि हिजो आज बाली छर्ने क्रम जारी रहेको स्थानीय हिमाल थापाले बताएका छन् । बाली नै छर्न बाँकी रहेका कारण पानी नपर्दा यहाँका किसान मर्कामा परेका थिए । पर्याप्त सिँचाइ सुविधा नभएको भिरालो जमिन भएका कारण जिल्लाका विभिन्न ठाउँमा लगाएको गहुँ र तरकारी बाली सुकिसकेको थियो । 

अधिकांशले लगाएको जौ, गहुँ बाली नै राम्रोसँग उम्रिएको थिएन । आकाशे पानीको भरमा लगाएको गहुँ र तरकारी बाली पानी नपरेका कारण सुकेको सुकेको भएपनि वर्षा र हिमपातपछि राहत महसुस बाजुराका किसानले गरेका छन् । बर्खे बाली राम्रोसँग उत्पादन नभएको बताउने यहाँका किसान हिउँदे बाली नै बिग्रिएपछि थप मर्कामा परेका हुन् । सिँचाइ सुविधा भएका खेतमा मात्र केही गहुँ राम्रो भए पनि ठाडो, भिरालो जमिनमा लगाएको गहुँ, मुसुरो र जौ सुकेका थिए ।

जिल्लामा सिँचाइ सुविधा अभावले बाजुरामा ८० प्रतिशत जमिनमा किसान आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् । बाजुरामा कुल क्षेत्रफल २ लाख ३० हजार ३७ हेक्टर रहेको छ । जसमा खेतीयोग्य जमिन २६ हजार १ सय ६० हेक्टर रहेको छ । सञ्चित ५ हजार दुई सय ८५ रहेको छ । पाखो २२ हजार ९ सय छ भने २० हजार १ सय ५५ हेक्टर जमिनमा खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीन प्रसाद जैशीले बताएका छन् । 

जिल्लामा १० हजार ४ सय ६० हेक्टर जमिनमा जौ, गहुँ खेती गरिँदै आएको छ । कुल उत्पादनको ११ दशमलब ३७ प्रतिशत मध्ये २० प्रतिशत अर्थात् ५ हजार २ सय ४५ हेक्टर जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशत अर्थात् झण्डै १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका तथ्याङ्गकमा उल्लेख गरिएको छ । 

मंसिर लागेसंगै जिल्लाका अधिकांश किसानहरु मुख्य बाली धान, मकै लगायत खेती उठाएर खेत बारीमा हिउँदे बाली लगाउने तयारीमा जुट्ने गर्दछन् । तर यो वर्ष ढिलो गरी वर्षा र हिमपात भएको छ । 

प्रतिक्रिया