जिन्दगी आफैमा एउटा यात्रा हाे-‘याे यात्रामा कहिले उकाली त कहिले ओराली,विभिन्न उतारचढाव र संघर्ष।रहरका पखेटा फिँजाएर सुनाैलाे आकाश छुने इच्छा।कुनै सहर नक्सामा भेटिन्छन्,कुनै शहर आँखामा बस्छन्; काठमाडौं एउटा त्यस्ताे सहर हाे-जहाँ हजारौं मानिसका सपना,संघर्ष र आशाहरु एउटै सहरकाे सडकसँगै हिडिरहेका हुन्छन्।’
करिब तीन साताअघि असाेजकाे पहिलो हप्ता साहित्यिक भेटघाट,आत्मियता र मनमा उत्सुकता बाेकेर काठमाडौं पुगेकाे थिएँ।एउटै उदेश्य थियाे- ‘जिन्दगीको यात्रा’ पुस्तक लाेकार्पण समाराेहमा सहभागी हुनु।आफ्नै कृति,त्यसैमा उत्साह।सुदूरकाे विकट बाजुराबाट संघीय राजधानी काठमाडौं पुग्न त्यति सहज भने थिएन्।
बाजुराबाट काठमाडौंसम्म बसकाे यात्रा।मनमा अनेकौं रहर अनि उत्साह।पुस्तक लाेकार्पण हुने कार्यक्रम केवल वाहिर हेर्दा सामान्य कार्यक्रम थियाे हाेला,तर मेरा लागी त्याे शब्दसंग साक्षात्कार गर्ने,विचारसंग नजिकिने र जीवनका अनुभूतिलाई साहित्यकाे ऐनामा नियाल्ने विशेष अवसर समेत थियाे।
काठमाडौं मेराे यात्राकाे एउटा गन्तव्य मात्रै थिएन्;याे त, एउटा रहर,साहित्यिक पहिचान,भेटघाट,संवाद,र सम्झनाकाे एउटा आत्मीय सेतु थियाे।यहीँ यात्राका अनेक माेडमध्ये काठमाडौंकाे यात्रा मेरा लागी केवल भूगाेल परिवर्तनकाे प्रसङ्ग मात्रै बनेन;अनुभूति,साहित्य र स्मृतिकाे सङ्गम बनेर मनकाे गहिराइमा बसिह्याे।
काठमाडौं पुगेकाे त्याे पहिलो विहान: जहाँ म नउठ्दै काठमाडौं निद्राबाट व्युउँझिसकेकाे थियाे।घामका किरण धर्तिमा पर्न नपाउँदै जाग्छन्,अनेकौं रहरहरु।सडकमा मानिस र गाडीहरुकाे भीड संगै समय एकआपमा दाैडिन्छन्।व्यस्त मानिसहरु आ-आफ्नाे गन्तव्यतर्फ लम्किरहेका देखिन्छन्।कसैले सफलता खाेजिरहेका छन्,त कसैले पहिचान र सम्मान।
कसैकाे आँखामा भविष्यकाे सपना,कसैकाे काँधमा जिम्मेवारीकाे भारी।कसैकाे मनमा समयमै पूरा गर्नुपर्ने रहरहरु।भीडकाे याे महासागरमा उभिएर टाेलाईरहेकाे म,मनमनै साेच्छु-मानिसका यी कयौं अनगिन्ती रहरहरु साँच्चिकै पूरा हाेलान्।कयौँ समस्या र बाध्यताहरु पार लाग्लान्।मानिस सहरमा मात्रै हाेईन्,आफ्नै भाग्यकाे खाेजीमा पनि यात्रा गरिरहेका छन्।
बिस्तारै सुर्य उदय भएर घामका किरणहरु धर्तिमा देखा पर्छन्।सडकमा मानिस र गाडीहरुकाे चाप पहिलेकाे भन्दा झन बढ्दै जान्छ।सडक,चाेक र गल्लीगल्लीमा जताततै काेलाहल सुनिन्छ।लाग्छ: ‘याे सहर केवल इँटा,ढुङ्गा र कङ्क्रिटले बनेकाे संरचना हाेईन्;याे अनगिन्ती आकांक्षाहरुकाे आश्रयस्थल,अथक संघर्षहरुकाे साक्षी,सपनाहरुकाे संरक्षक र सम्भावनाकाे मुल हाे।’
यहाँका प्रत्येक गल्लीले कुनै कथा बाेकेकाे अनुभूति हुन्छ।प्रत्येक माेडले कुनै यात्राकाे संकेत गर्छ र प्रत्येक अनुहार भित्र जीवनका अनगिन्ती अध्यायहरु लुकेका हुन्छन्।गाउँकाे शान्त वातावरणमा जन्मिएर त्यहाँकै माटाेमा लडिबुडी खेलेकाे मान्छेलाई काठमाडौं छुट्टै आकर्षक थियाे।अग्ला भवन,फराकिला सडक,झिलिमिली बत्ति,र आधुनिक जीवनशैलीका मानिस।
यहाँको रहर,संघर्ष र सम्भावनाकाे कथा सुन्दा कुनै सपनाकाे सहरजस्तै:लाथ्याे।काठमाडौं केवल सहर मात्र नभई यहाँ अनेकौं सम्भावना,संघर्ष र सफलता लुकेकाे छ।हरेक मानिस आ-आफ्नो लक्ष्य लिएर यहाँ आएका छन्।त्यसैमा काठमाडौं नेपालकाे संघीय राजधानी समेत हाे।काठमाडौंका विहानहरु आफ्नै किसिमकाे हताराे बाेकेर उदाउँछन्।घामका किरण धर्तिमा झर्न नपाउँदै सडकमा पाइलाकाे भीड ओर्लिसकेकाे हुन्छ।
आँखामा भविष्यकाे उज्यालाे,मनमा परिवारकाे अनुहार र कसैकाे हृदयमा आफूले देखेकाे सपना पूरा गर्ने अदम्य अभिलाषा।सहरका सडकमा मानिसहरु मात्र हिँडिरहेका हुदैनन्,उनीहरुसँगै हिँडिहरेका हुन्छन्,आशा,अभाव,विवशता र सम्भावनाका असङ्ख्य यात्राहरु।जुन यात्रा निरन्तर चलिरहन्छ। मानिस थाक्दैनन्,र थाक्न छुट समेत छैन्।
दिउँसोकाे करिब तीन बजेकाे थियाे।कामकाे सिलसिलामा सडकमा हिड्दै थिए।पेटले नास्ता मागिरहेकाे थियाे।नजिकैकाे एउटा हाेटलमा छिरे।हाेटमा साउजी समाेसा पकाउँदै हुनुहुन्थ्यो।मैले भनेँ “अंकल खाजा के छ।” उहाँले तुरुन्तै जवाफ दिनुभयाे,“चाउमिन,समाेसा,म:म यस्तै छ।के खानुहुन्छ।”
मैले भनेँ,“तिन वटा जति समाेसा राख्दिनुस्:।” मेराे आग्रह पछि उहाँले एउटा प्लेटमा चटनी सहित तिनवटा समाेसा राख्दिनुभयाे।मैले समाेसा खादै गर्दा साउजीले साेध्नुभयाे, “कहाँबाट के-कति कामले पाल्नु भएको हाेनी।घर कहाँ हाे,हजुरकाे?” मैले मुस्कुराउँदै जवाफ दिए,“घर बाजुरा हाे। पुस्तक लाेकार्पणकाे लागी आएकाे हुँ।”
अलि खुसी हुदैँ उहाँले भन्नुभयाे,“शुभकामना छ,बाबू । रहर, संघर्ष र सफलताको सहरमा यहाँलाई हार्दिक स्वागत सहित बधाई छ।” उहाँको याे तीन कुरा रहर,संघर्ष र सफलताले मेराे ध्यान तान्याे।साँच्चिकै भनाैँ,काठमाडौँ,केवल एउटा सहर मात्र नभई,याे रहर,संघर्ष र सफलताको संगम रहेछ।
हामीले काठमाडौंलाई केवल सहरकाे रुपमा मात्रै लिने कि?सपना,संघर्ष,रहर र सफलता दिलाउने गन्तव्यकाे रुपमा लिने भन्ने प्रश्न महत्त्वपूर्ण बन्याे। साउजीकाे त्याे कुरालाई मनन गर्दै,मैले काठमाडौंका सडक, यहाँकाे चहलपहल र जीवनकाे तिब्र गतिलाई नियाल्दा मनमा अनेकौं विचार र तरङ्गहरु उठे।
सहर जति विशाल देखिन्छ,मानिसका सपना उत्तिकै विशाल।तर ती सपनाकाे भार बाेक्ने काँधहरु कति थाकेका छन्,भन्ने कुरा भीडले देखाउँदैन्।चम्किला भवनहरुकाे छायामुनी कति संघर्षहरु माैन् छन्।सबैकाे उज्ज्वल भविष्य यहीँ सहरसंग जाेडिएकाे छ।
मैले साेँचे साँच्चिकै अघि साहुजीले भनेकाे कुरा सत प्रतिशत सही छ।काठमाडौँ घरैघरकाे विशाल सहर मात्र हाेईन्,यहाँ अनगिन्ती नागरिकका सपना,उज्ज्वल भविष्य, निर्माण,सम्भावनाकाे ढाेका,रहर र संघर्षकाे चाैतारी जस्तैः रहेछ।
जुन चाैतारीले चर्काे गर्मीमा समेत सितलता प्रदान गर्छ।काठमाडौं बस्ने हरेक व्यक्ति केही न केही उदेश्य लिएर बसेका हुन्छन्।कतिपयले संघर्ष गर्दै आफ्नो उज्जवल भविष्य बनाएर सफलता प्राप्त गर्छन्।भने कतिपयले संघर्ष गर्दागर्दै पनि सफलता प्राप्त गर्न सक्दैनन्।
सफलताका चम्किला दृश्य पछाडी असफलताले आफूलाई सम्हालिरहेका हुन्छन्,यी सबै कुरा अनुभूत गर्न दरिलो मन चाहिँने रहेछ।असफलता हुनुमा काठमाडौँकाे दाेष छैन्।
दाेष त,केवल आफ्नो संघर्ष र मेहेनतमा छ।सायद यहीँ कारणले काठमाडौं मलाई केवल राजधानी लागेन्;याे त,जीवनकाे खुला पुस्तकजस्ताे लाग्याे,जहाँ प्रत्येक पृष्ठमा नयाँ कथा भेटिन्छ।यहीँ विशाल सहरकाे समयले मानिसलाई छिटाे हिड्न सिकाउँछ।
दु:ख र संघर्ष गर्न सिकाउँछ।बाध्यता,समस्या र परिस्थितिले दृढ बनाउन सिकाउँछ।र हरेक रहर र अनुभवले जीवनकाे गहिराई बुझ्न प्रेरित गर्छ।यहीँ सहरले कसैलाई अवसर र सम्भावनाका ढाेका खाेलिदिन्छ,कसैलाई चुनाैती;कसैलाई नयाँ परिचय दिन्छ,त कसैलाई आफ्ने अस्तित्वसंग प्रश्न गर्न बाध्य बनाउँछ।तर अन्तत: प्रत्येक मानिसले आफ्नाे बाटाे आफैँ पहिल्याउनुपर्ने सत्य भने सबैका लागी समान गरिदिन्छ।
मेराे काठमाडौंकाे बसाइँ भने लामाे थिएन्।छाेटाे बसाइँ पनि सिंगाे काठमाडौँ नियाल्दा लाग्याे; ‘याे रहरहरुकाे सहर त पक्कै हाे।तर ती रहरहरु भित्र कयौं संघर्ष र सपना लुकेका छन्।
संघर्ष गर्दै ती सपना पूरा गर्नु हाम्रो कर्तव्य हाे।’ छाेटाे समयमा त्यहीँ सहरले मलाई एउटा साहित्यिक क्षेत्रमा परिचय स्थापित गर्न सिकायाे।बरिष्ठ साहित्यकारहरु संग भेटघाट गर्ने अवसर जुरायाे।त्यति मात्र हाेईन्,त्याे अन्जान सहरले मलाई संघर्षकाे पाठ सिकायाे।
जीवनका केही क्षणहरु भए पनि दिर्घकालसम्म स्मृतिमा बाँच्छन्।तिनलाई सम्झँदा समय फेरि पछाडी फर्के जस्तो लाग्छ,दृश्यहरु आँखाअघि उभिन्छन्। मन फेरि त्यहि परिवेशमा घुमिरहन्छ। काठमाडौंसँग जाेडिएकाे याे साहित्यिक यात्रा पनि मेरा लागी त्यस्तै स्मरणीय अनुभूति बन्याे।फेसबुकबाट चिनचाज भएका व्यक्तिहरुकाे अपार माया,साथ,सहयाेग,प्रेरणा र हाैसला नै मेरा लागी अविस्मरणीय बने।
ती क्षण सम्झिँदा काठमाडौंले केवल संघर्ष र सफलताको पाठ मात्र सिकाउँदैन्,यसले आपसी सद्भाव,माया र अपनत्वकाे भावना ग्रहण गर्न सिकाउँछ।मानिसले जीवनमा धेरै कुरा प्राप्त गर्छ,धेरै कुरा गुमाउँछ,धेरै ठाउँ पुग्छ र अनेक मानिससंग परिचित गर्छ।तर ती सबैमध्ये केही अनुभवले मात्र आत्माकाे ढाेकामा छुने गर्छ। पुस्तक विमाेचनकाे अवसर र काठमाडौंकाे परिवेशले मेराे जीवनयात्रामा यस्तै एउटा अर्थपूर्ण अध्याय थप्याे।
‘एउटा नाम,अनेकौं कथा।एउटा भूगाेल,अनगिन्ती अनुभूति।कसैका लागी सपनाकाे पहिलो खुड्किलाे,कसैका लागी बाध्यताकाे लामाे बाटाे,कसैका लागी सम्भावनाकाे खुला आकाश त कसैका लागी आफ्नै रहरहरुसँग सम्झाैता गर्नुपरेकाे एउटा माैन अध्याय।’त्यसैले याे सहर केवल भवनहरुकाे सङ्ग्रह हाेईन्,याे त मानिसका अधुरा चाहना,
सपना,पीडा,सम्भावना र नथाक्ने आशाहरुले निर्मित जीवन्त आख्यान हाे। अपरिचित भीडमा मिसिनु केवल ठाउँ परिवर्तन गर्नु हाेईन्, याे आफ्नै जीवनकाे एउटा परिचित अध्याय बन्द गरेर अनिश्चित भविष्यकाे नयाँ पाना पल्टाउनु हाे।अपरिचित सहरमा आफ्नो परिचय आफैले बनाउनुपर्छ।आफ्नाे अस्तित्व आफैले जाेगाउनुपर्छ,र सपनाहरुलाई वास्तविकताकाे कठाेर धरातलमा उभ्याउन संङर्घ गर्नुपर्छ।काठमाडौंले रहर देखाउँछ,तर रहरकाे मूल्य पनि माग्छ।
संघर्षका पहाडहरु खडा गर्छ,ती पहाड फाेर्न कठिन हुन्छ।काठमाडौंँले समस्या मात्र हाेईन्,थुप्रै अवसर देखाउँछ।जुन अवसर प्राप्त गर्न आफूलाई अवसर लायक बनाउनुपर्छ। सपनाका आकाश फराकिला छन्,तर आकाशमा पुग्ने भर्याङ सहज हुदैन्।बाहिर हेर्दा सामान्य देखिने जीवनमा भित्रभित्रै आँधी चलिरहेकाे हुन्छ।फेरि त्याे आँधीकाे आवाज मनबाहेक कसैले सुन्दैन्।त्यसैले काठमाडौंलाई,‘रहर,संघर्ष, अवसर र सफलताको सहर भनिएकाे हाे।जहाँ रहर पनि छ।अवसर पनि छ।संघर्ष सँगै सफलता पनि छ।’
काठमाडौंकाे सबैभन्दा ठुलाे पाठ यहीँ हाे,‘जीवनमा सपना देख्नु जति सहज छ,सपनाकाे भार बाेकेर बाँच्नु त्यति नै कठिन।यहाँ मानिसले सफलताको चमक मात्रै देख्दैनन्, त्यसका लागी तिर्नुपरेकाे मूल्य समेत बुझ्न थाल्छ।घरहरु नजिक छन्।तर मनहरु धेरै टाढा।समयकाे महत्त्व, सम्बन्धकाे आत्मियता,अभावकाे पीडा र आत्मसम्मानकाे वास्तविक अर्थ यहिँ सहरका गल्लीहरुमा हिड्दै सिकिन्छ।’
त्यतिवेला लाग्छ,काठमाडौँका प्रत्येक झ्यालभित्र एउटा कथा छ,प्रत्येक सडकमा एउटा यात्रा,र प्रत्येक अपरिचित अनुहार भित्र छुट्टै संसार।जसलाई वाहिरबाट हेर्दा मात्र बुझ्न सकिँदैन।
एउटै सहरमा काेही हाँसिरहेका छन्,काेही राेईरहेका छन्।काेही आफ्नो सफलतामा उत्सव मनाईरहेका छन्।भने काेही असफलतासँग सम्झौता गर्न सिकिरहेका छन्।जीवनमा यति कुराहरुलाई एउटै आकाशमुनी अँगालेर बाँच्नु नै सायद काठमाडौंकाे नियति हाे।
मैले अन्तमा मनन गरे,“काठमाडौं केवल पुगिने ठाउँ हाेईन्, अनुभूत गरिने जीवन हाे।यहाँ रहरहरुले मानिसलाई तान्छन्,संर्घषले उसलाई परिपक्क बनाउँछ।सम्झनाले उसकाे यात्रालाई अर्थ दिन्छ।भने सफलताले उसले आफ्नो छुट्टै पहिचान र परिचय बनाउँछ।यहाँ सबैका सपना पूरा नहाेलान्,संघर्षले चाहेजस्तो परिणाम नदेला।तर हरेक अनुभवले मानिसकाे भित्रि संसारमा केही न केही लेखेर जान्छ।”
साहस,धैर्य,संघर्ष,आत्मवाेध र जीवनप्रतिकाे नयाँ दृष्टि नै सफलताको सारथी बन्छन्।याे सहरले हरेका सबै सपना पूरा गरिदिएन् हाेला,तर सपना देखिरहने र तिनका लागी संघर्ष गरिरहने साहस भने अवश्य दियाे।मेराे अनुभूतिमा काठमाडौं,“एउटा विशाल सहर मात्र हाेईन्,संघर्ष,सफलता र रहरहरुकाे सहर हाे।
मानिसलाई आफ्नै मनभित्रका कथा खाेज्न प्रेरित गर्ने माध्यम हाे।त्यति मात्रै हाेईन्,समयसँग दाैड्न,परिस्थितिसँग जुध्न र असफलताभित्र सफलता खाेज्न सिकाउने रङ्गिन जीवनकाे एउटा अविस्मरणीय अध्याय समेत हाे।”





प्रतिक्रिया