बडीमालिका अलौकिक छ। अद्भुत छ। अनि अकल्पनीय छ। समुद्री सतहदेखि करिब ४ हजारदेखि ४ हजार २ सय मिटरभन्दा माथिको उचाइमा फैलिएको बडीमालिका आँखाले जति हेरे पनि नसकिने विशाल फाँट हो । शब्दले जति वर्णन गरे पनि नपुग्ने सौन्दर्य हो। यहाँ के छैन ? आस्था छ, आकर्षण छ, आनन्द छ, अध्यात्म छ र प्रकृतिको अनुपम उपहार छ ।
बडीमालिका केवल एउटा धार्मिक स्थल होइन । यो आस्थाको धरोहर हो । प्रकृतिको ताज हो । भूस्वर्ग हो । आनन्दको संसार हो । इतिहास, धर्म, संस्कृति र प्रकृतिलाई एउटै थलोमा अनुभूति गर्न सकिने अद्वितीय गन्तव्य हो ।
राजादेखि राणासम्म, प्रजातन्त्रदेखि गणतन्त्रसम्म बडीमालिका राज्यसत्ता, शासन र सेनासमेतको आस्थासँग जोडिँदै आएको इतिहास छ । परापूर्वकालदेखि यहाँ पूजा हुँदै आएको विश्वास छ । राजा बहादुर शाहको पालादेखि बडीमालिकाको पूजाका लागि काठमाडौं बाट सरकारी पूजा सामग्री पठाउने परम्परा रहेको बताइन्छ । तत्कालीन बाइसे-चौबीसे राज्यअन्तर्गत डोटी र जुम्लाबाट समेत सरकारी पूजा टोली आउने परम्परा रहेको पाइन्छ ।
पुजारी खलकको दाबीअनुसार पृथ्वीनारायण शाहले अधुरो छोडेको एकीकरणको कामलाई पूर्णता दिन बहादुर शाहले समेत बडीमालिकाको पूजा गरेका थिए । यी दाबी, कथन र ऐतिहासिक सन्दर्भहरूका आआफ्ना व्याख्या होलान् । तर एउटा तथ्यमा विवाद छैन-बडीमालिका आजको मात्रै आस्थाको केन्द्र होइन । यसको महिमा र विश्वास पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ ।
समय बदलियो । सञ्चारमाध्यमहरु विस्तार भए । सामाजिक सञ्जाल आयो । तस्बिर, भिडियो र यात्राका अनुभव संसारभर फैलिन थाले । बडीमालिकाको चर्चा पनि तीव्र गतिमा फैलियो । हिजो ‘बाजुरा कहाँ पर्छ ?’ भनेर सोध्नेहरू आज ‘बडीमालिका बाजुरा’ भनेर बाजुरालाई चिन्ने अवस्थामा पुगेका छन् ।
बडीमालिकाका पुजारी नेत्र पाध्यायका अनुसार बडीमालिकाको धार्मिक आस्था र विश्वास व्यापक रूपमा प्रचारमा आउँदै भक्तजनको सङ्ख्या तीव्र रूपमा बढेको समय २०७९ सालपछि हो । त्यस वर्ष मात्रै ३० हजारभन्दा बढीले बडीमालिकामा पूजा तथा दर्शन गरेका थिए । त्यसपछि सङ्ख्या क्रमशः बढ्दै गयो । यस वर्षको यात्रा त झन् थेगिनसक्नु भयो । करिब ६५ हजारभन्दा बढीले दर्शन तथा मेलामा सहभागिता जनाएको तथ्याङ्क छ ।
यो सङ्ख्या केवल एउटा धार्मिक स्थलको लोकप्रियताको प्रमाण होइन । यो बडीमालिकाको सम्भावनाको संकेत पनि हो । २२ वटा पाटनको अनुपम सौन्दर्य, हिमाली भूगोल, हरियाली, खुला आकाश, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा र धार्मिक आस्थाको सङ्गमले बडीमालिकालाई विशिष्ट बनाएको छ । यहाँ पुग्ने जोकोहीको मुखबाट अनायासै निस्कन्छ-‘आहा !’ वा ‘क्या गजब !’
नेपाली सेनाले करिब दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरेको पुरातात्त्विक महिमा झल्काउने कलात्मक मन्दिरले यसको आकर्षणलाई अझ बढाएको छ । तर प्रश्न यहाँबाट सुरु हुन्छ।जति बडीमालिकाको प्रचार भएको छ, त्यति विकास भएको छ त ? उत्तर सहज छैन ।
प्रचार बढेको छ । भक्तजन बढेका छन् । सम्भावना बढेको छ । तर पूर्वाधार, व्यवस्थापन र संरक्षण त्यसको अनुपातमा बढ्न सकेको छैन । बाटो अझै सहज छैन । आवासको पर्याप्त व्यवस्था छैन । पैसा तिरेर व्यवस्थित रूपमा खाना खान र बस्न सकिने होटल तथा सेवा संरचना पर्याप्त छैनन् । संरचना सुधारको गति कमजोर छ । बडीमालिकाको संरक्षण, विकास र व्यवस्थापनमा कुन निकाय आधिकारिक हो भन्ने प्रश्नमै राज्यले स्पष्टता ल्याउन सकेको छैन ।
माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने प्रस्ताव अघि बढेको थियो । तर त्यसपछि अपेक्षित रूपमा ठोस र दीर्घकालीन निर्णय हुन सकेन । बाजुराकै नेता बद्री पाण्डे पर्यटनमन्त्री हुँदा पनि बडीमालिका पर्याप्त प्राथमिकतामा नपरेको गुनासो स्थानीय तहमा सुनिन्छ ।
यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले एक दातासँगको सहकार्यमा बडीमालिका–रामारोशन क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने योजनासमेत अघि सारेको छ । यो सकारात्मक सुरुवात हो। तर बडीमालिकाको आवश्यकता त्यतिमा मात्र सीमित छैन । अहिलेको सरकारसँग पनि आश थियो । तर बडीमालिका डाँफे रुटका नाममा सीमित बनाएको देखिन्छ।
सबैभन्दा ठूलो प्रश्न स्वामित्व र जिम्मेवारीको हो ।
संरक्षण कसले गर्ने ? विकासको अगुवाइ कसले गर्ने ? फोहोर व्यवस्थापनको जिम्मेवारी कसको ? भक्तजनको सुरक्षा र सुविधा कसले सुनिश्चित गर्ने ? धार्मिक व्यवस्थापन र पर्यटन विकासबीच समन्वय कसले गर्ने ?
यी प्रश्न अनुत्तरित रहँदा बडीमालिका विस्तारै व्यवस्थापन विहीनताको भार बोकिरहेको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीमा धर्मशाला बनाएको छ। बडीमालिका नगरपालिकाले बढीमाइको थान र मन्दिर आसपास धर्मशाला निर्माण गरेको छ । तर धर्मका लागि, तीर्थयात्रीका लागि र अपरिचित यात्रुलाई सुरक्षित बास दिन बनाइएका संरचना कतिपय अवस्थामा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका गुनासा सुनिन्छन् । कहिले होटल, कहिले कोठा भाडामा लगाउने शैली देखिन्छ । जो सभ्यता विपरित,संस्कार हिन, पर्यटक संस्कार विपरितको असभ्यता हो। जो काम बाजुरा र कालिकोट दुबैतिरबाट भइरहेको देखियो ।
धर्मशालामा खाना खाँदा आठ सय रुपैयाँ र सुत्दा पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आयो भने प्रश्न केवल पैसाको हुँदैन । प्रश्न बडीमालिकाको नाम, प्रतिष्ठा र आतिथ्य संस्कृतिको हुन्छ ।
बडीमालिका हाम्रो सम्पत्ति हो । हाम्रो पहिचान हो । पर्यटनको सम्भावना हो । स्थानीय अर्थतन्त्रको स्रोत हो । तर आस्थाको नाममा केही व्यक्तिको कमाइको माध्यम मात्रै बन्न थाल्यो भने त्यसले अन्ततः बडीमालिकालाई नै घाटा पुर्याउँछ ।
अझ ठूलो समस्या फोहोरको छ ।
बडीमालिका पुग्ने मानिसहरू प्रायः दुई कुरा लिएर फर्किन्छन्-आस्थाको अनुभूति र प्रकृतिको अनुपम सौन्दर्यको स्मृति । तर बडीमालिकाले वर्षौंदेखि बोकेको फोहोरको केही भारी घटाएर, सफा सोचको एउटा सन्देश छोडेर फर्किनेहरू कति छन् ?
यो प्रश्न हामी सबैले आफैँलाई सोध्नुपर्छ । हरेक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्छ । चतुर्दशीको बिहान देवीको पूजा हुन्छ । भक्तजनको चापलाई मध्यनजर गर्दै पछिल्ला वर्षमा दुई सातासम्म पूजा तथा मेला सञ्चालन हुने गरेको छ । वैशाख पूर्णिमा अर्थात् गंगादशहरामा पनि विशेष पूजा हुन्छ। त्यसबेला नेपाली सेनाको तर्फबाट समेत पूजा हुने परम्परा छ ।
यति ठूलो सङ्ख्यामा मानिस पुग्दा खानपान, आवास र यात्रामा प्रयोग हुने प्लास्टिक, कागज, खाद्यवस्तुका खोल लगायतका फोहोर बढ्नु स्वाभाविक हो ।
तर समस्या फोहोर उत्पादन हुनु मात्र होइन।समस्या त्यसको व्यवस्थापन नहुनु हो । मन्दिर परिसरदेखि त्रिवेणी, लौरीविनायक हुँदै पैदलमार्गका विभिन्न क्षेत्रमा देखिने प्लास्टिकजन्य फोहोरले बडीमालिकाको प्राकृतिक सौन्दर्य र धार्मिक गरिमामाथि प्रश्न उठाउन थालेको छ ।
केही व्यक्ति विशेषले गर्ने सरसफाइ अभियान, नेपाल स्काउट र नेपाली सेनाले गर्ने प्रयासबाहेक नियमित र संस्थागत रूपमा फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान पुग्न सकेको छैन ।
यही अवस्थाले एउटा गम्भीर प्रश्न जन्माउँछ-बडीमालिका हेर्न जाने मानिस धेरै छन्, तर बडीमालिका जोगाउने सोच लिएर जाने मानिस कति छन् ?
हामी देवीसँग वर माग्न जान्छौँ । जीवन सुखी होस् भनेर प्रार्थना गर्छौँ । मनका दुःख, तनाव र पीडा घटून् भनेर आस्था राख्छौँ। प्रकृतिको सुन्दरता हेरेर मन हलुका बनाउन जान्छौँ । तर त्यही प्रकृतिको काखमा प्लास्टिक, बोतल, कागज र खाद्यवस्तुका खोल छोडेर फर्किन्छौँ । कस्तो विडम्बना !
हामी बडीमालिकाबाट आशीर्वाद माग्छौँ । तर बडीमालिकालाई हाम्रो जिम्मेवारीको उपहार दिन तयार छैनौँ । अब सोच बदल्नुपर्छ । बडीमालिका बदलिनुअघि मानवीय सोच बदलिनुपर्छ । यो परिवर्तन राज्यबाट मात्रै सम्भव छैन । स्थानीय तहबाट मात्रै सम्भव छैन। पुजारीबाट मात्रै सम्भव छैन। सेनाबाट मात्रै सम्भव छैन। व्यापारीबाट मात्रै सम्भव छैन ।
यो परिवर्तन हामी प्रत्येकबाट सुरु हुनुपर्छ। यसको एउटा सुन्दर सुरुवात यस वर्ष भएको छ। बडीमालिका नेचर प्रालिको अगुवाइमा बाजुराका १६ जना युवाले बडीमालिका सरसफाइ अभियान सञ्चालन गरे ।
टोलीमा बडीमालिका नेचर प्रालिका अध्यक्ष कृष्ण ओली, कार्यकारी निर्देशक गणेश थापा, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख नरेन्द्र थापा, अधिवक्ता हर्क खडायत, नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पदम सिंह, बाजुरा क्याम्पसका स्ववियु सभापति लक्ष्मण रोकाया, युवा संघका अध्यक्ष विष्णु कार्की, पत्रकार जनक बोहरा तथा युवा विद्यार्थीहरू प्रकाश खड्का, रोहित विक, अंकित थापा, पवित्र रोकाया, आषिश रावत र धिरज विकलगायत सहभागी थिए ।
तीन दिनसम्म टोलीले बडीमालिका मन्दिर परिसर, त्रिवेणी, लौरीविनायक र पैदलमार्गका विभिन्न क्षेत्रमा सरसफाइ गर्यो । चिसोले शरीर कठ्यांग्रिन्थ्यो। हिउँ र पानीले बाटो कठिन बनाउँथ्यो। तर अभियान रोकिएन ।
किनकि उनीहरूको उद्देश्य केवल फोहोर उठाउनु थिएन।सोच उठाउनु थियो । यो अभियानको प्रभाव त्यहाँ पुगेका अरू यात्रुमा पनि देखियो। बडीमालिका यात्राका लागि काठमाडौं स्थित कीर्तिपुरबाट पुगेका दुई युवाले आफ्ना कारण उत्पन्न भएको फोहोर आफैँ बोकेर हिँडेको अनुभव सुनाए। यही हो परिवर्तनको सुरुवात ।
हामीले अरूलाई सिकाउनुअघि आफूले गर्न सक्यौँ भने धेरै समस्या आफैँ हल हुन्छन् । सरकारले फोहोर व्यवस्थापनका लागि उपयुक्त ठाउँमा बाकस वा केन्द्र राखिदियो भने राम्रो हुन्छ । तर त्योभन्दा पहिले हामीले आफूसँग लगेको फोहोर आफैँ फर्काएर ल्याउन सक्छौँ ।
पसल राखेर कमाउने व्यापारीले आफ्नो फोहोर व्यवस्थापन गर्नसक्छ । यात्रुले आफूले खाएको खानेकुराको खोल जथाभावी नफाल्न सक्छ । धर्मशाला सञ्चालन गर्नेले सफाइलाई व्यवसायको हिस्सा होइन, जिम्मेवारीका रूपमा लिन सक्छ । जनप्रतिनिधिले बजेट र नीति बनाउन सक्छन्। सम्बन्धित निकायले जिम्मेवारी स्पष्ट गर्न सक्छ ।
अर्थात् समाधान असम्भव छैन । समस्या सबैको हो भने समाधान पनि सबैको हुनुपर्छ । ‘बडीमालिका फोहोर भयो’, ‘बडीमालिका बिग्रियो’, ‘सरकारले केही गरेन’ भनेर गुनासो गर्ने हामी आफैँ पनि कतै समस्याको हिस्सा त बनेका छैनौँ ? यो प्रश्न अब उठाउनैपर्छ ।
बडीमालिकाको अर्को चुनौती मानव निर्मित मात्रै होइन। वातावरणीय सङ्कट पनि हो । छाडा पशुचौपाया, अनियन्त्रित चरिचरन र घोडा–भेडाका कारण कतिपय क्षेत्रमा फोहोर र प्राकृतिक सौन्दर्यमा असर परेको देखिन्छ । हिमाली प्रकृतिको नाजुक सन्तुलनमा सानो लापरबाहीले पनि ठूलो असर पार्न सक्छ ।
जलवायु परिवर्तन आज संसारकै प्रमुख चुनौती बनिरहेको छ । हिमालमा हुने परिवर्तन, असामान्य वर्षा, बाढी, पहिरो र प्राकृतिक विपत्तिका घटनाले हामीलाई बारम्बार चेतावनी दिइरहेका छन् । भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता घटना प्रकृति र मानवबीचको असन्तुलनप्रति गम्भीर सङ्केत हुन् ।
प्रकृति बचेन भने हिमाल बच्दैन । हिमाल बचेको छैन भने वातावरणीय सन्तुलन बच्दैन । वातावरणीय सन्तुलन रहेन भने मानव जीवनको भविष्य सुरक्षित रहँदैन । त्यसैले बडीमालिका संरक्षण केवल एउटा धार्मिक स्थल सफा गर्ने अभियान होइन । यो प्रकृति बचाउने अभियान हो ।
यो हिमाल बचाउने अभियान हो । यो हाम्रो संस्कृति, आस्था र पहिचान बचाउने अभियान हो।र अन्ततः यो मानव भविष्य बचाउने अभियान हो । बडीमालिका बाजुराको हो । तर यसको महिमा बाजुराको सीमाभन्दा धेरै पर पुगेको छ । त्रिवेणी क्षेत्रको भू–स्वामित्व वा प्रशासनिक दाबीका विषयमा बहस हुन सक्छ। कालिकोटतर्फबाट समेत केही भूभागमा दाबी रहने विषय उठ्न सक्छ । यस्ता विषय राज्यका सम्बन्धित निकायले तथ्य र कानुनका आधारमा समाधान गर्न सक्छन् ।
तर बडीमालिकाको वास्तविक चुनौती सीमाको विवादभन्दा ठूलो छ। मानवको व्यवहार हो । हामीले बडीमालिकालाई जोगाउन सकेनौँ भने स्वर्गलाई आफैँ नर्कमा बदल्नेछौँ । बडीमालिका आफैँ बिग्रिन चाहँदैन । प्रकृति आफैँ फोहोर हुन चाहँदैन । हिमाल आफैँ कुरूप हुन चाहँदैन । नदी आफैँ प्रदूषित हुन चाहँदैन ।
बिगार्ने हामी हौँ । त्यसैले बदलिनुपर्ने पनि हामी नै हौँ । अब बडीमालिका पुग्ने प्रत्येक व्यक्तिले एउटा सङ्कल्प लिएर जानुपर्छ- ‘म यहाँ फोहोर गर्न होइन, फोहोर घटाउन जान्छु। म बडीमालिका हेर्न मात्रै होइन, बडीमालिका जोगाउन जान्छु । म यहाँबाट आशीर्वाद लिएर फर्किन्छु । तर आफ्नो फोहोर छोडेर फर्किन्नँ ।’
बडीमालिका हाम्रो आस्थाको धरोहर हो । प्रकृतिको अनुपम उपहार हो । भू–स्वर्ग हो । तर यसको वास्तविक सौन्दर्य तब मात्र कायम रहन्छ, जब हाम्रो व्यवहार पनि यसको सौन्दर्यजस्तै सुन्दर हुन्छ ।
हामीले बडीमालिका बदल्नुपर्छ भन्ने होइन । हामीले बडीमालिकाप्रतिको आफ्नो सोच बदल्नुपर्छ । किनकि बडीमालिकालाई प्रकृतिले सुन्दर बनाइसकेको छ । अब हाम्रो पालो हो । त्यो सुन्दरतालाई जोगाउने । यहाँ पुग्ने प्रत्येक व्यक्तिले बडीमालिकाबाट केही न केही लिएर फर्किन्छ-कसैले आस्था, कसैले आशा, कसैले देवीको प्रसाद, कसैले हिमालको दृश्य, कसैले जीवनभर नबिर्सिने यात्राको स्मृति ।
अब फर्किँदा एउटा कुरा छोडेर जाने बेला आएको छ । फोहोर होइन, संरक्षणको प्रतिबद्धता । त्यसैले सुरुवात राज्यबाट मात्र होइन, हामी आफैँबाट गरौँ । एउटा मानिसले एउटा बोतल नफाल्दा पनि बडीमालिका सफा हुन्छ । एउटा यात्रुले आफ्नो फोहोर आफैँ बोकेर फर्किँदा पनि बडीमालिका सफा हुन्छ । एउटा व्यापारीले आफ्नो फोहोर व्यवस्थापन गर्दा पनि बडीमालिका सफा हुन्छ ।
एउटा जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि बडीमालिका सुरक्षित हुन्छ । र हजारौँ मानिसले यही सोच अपनाए भने बडीमालिका केवल धार्मिक गन्तव्यका रूपमा होइन, स्वच्छता, संरक्षण र जिम्मेवार पर्यटनको राष्ट्रिय नमुनाका रूपमा स्थापित हुन सक्छ ।
बडीमालिका हेर्न जाने मानिस धेरै छन्। अब बडीमालिका जोगाउने मानिस पनि धेरै बनौँ । त्यसैले आजको आवश्यकता एउटै हो-बदल्नु पर्ने बडीमालिका होइन, पहिले बदलिनु पर्ने हाम्रो सोच हो । सोच बदलियो भने व्यवहार बदलिन्छ । व्यवहार बदलियो भने बडीमालिका बदलिन्छ । र बडीमालिका बदलियो भने-हाम्रो प्रकृति, हाम्रो पहिचान र हाम्रो भविष्य पनि सुरक्षित हुनेछ ।





प्रतिक्रिया