बाजुरा ः पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले पश्चिमी नेपालका विभिन्न क्षेत्रमा वर्षासँगै हावाहुरी र चट्याङको सम्भावना रहेकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार मौसममा देखिएको प्रतिकूलताका कारण अन्नबाली भित्र्याउने लगायत कृषि कार्य गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।
मौसमविद् हरिप्रसाद दाहालले गौमुल खबर डटकमसँग कुरा गर्दै वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेकाले केही दिनपछि मात्रै अन्नबाली भित्र्याउने लगायतका काम गर्न किसानलाई सुझाव दिएका छन्।
मौसमविद् दाहालका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव एक-दुई दिनपछि नेपालबाट बाहिरिने सम्भावना छ। त्यसपछि मौसममा क्रमिक सुधार हुन सक्ने अपेक्षा गरिएको छ।
मौसम प्रतिकूल रहेका बेला हतारमा अन्नबाली भित्र्याउँदा कृषि उपजमा क्षति पुग्न सक्ने भएकाले मौसमको अवस्था हेरेर मात्रै काम गर्न किसानलाई आग्रह गरिएको छ। साथै, हावाहुरी र चट्याङको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन समेत सुझाव दिइएको छ।





प्रतिक्रिया