बाजुरा ःप्रकृति संरक्षण, पर्यटन प्रवर्द्धन र खेलकुद विकासलाई एकीकृत गर्दै बाजुरामा ‘बडीमालिका कप-२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बडीमालिका नेचर प्रालिले आगामी कात्तिक ७ देखि १० गतेसम्म बडीमालिका नगरपालिका-८, मार्तडीस्थित खुला मञ्चमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो।
प्रतियोगिताको घोषणा मार्तडीमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको प्रालिका अध्यक्ष कृष्ण ओलीले जानकारी दिए। उनका अनुसार खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवर्द्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
‘प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई प्रालिले दीर्घकालीन अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिएको छ। यसै अभियानअन्तर्गत बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको आयोजकले जनाएको छ।
प्रालिका कार्यकारी निर्देशक गणेश थापाले खेलकुदको माध्यमबाट प्रकृति संरक्षणको सन्देश समाजका विभिन्न तहसम्म पुर्याउने उद्देश्य रहेको बताए। उनका अनुसार हिमाली तथा पर्वतीय क्षेत्रको पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्न प्रतियोगिताले भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा प्रालिका सदस्य पदमबहादुर सिंह, लक्ष्मण रोकाया, सञ्जय विक, विष्णु कार्की लगायतको सहभागिता थियो। आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दुई दर्जनभन्दा बढी टिम सहभागी गराउने लक्ष्य राखिएको छ। स्थानीय तथा प्रदेशस्तरका उत्कृष्ट खेलाडीका साथै राष्ट्रिय र उच्चस्तरीय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई अनुभवी तथा उच्चस्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको स्तर उकास्न सहयोग पुर्याउने विश्वास आयोजकको छ। व्यवस्थित खेलमैदान र प्राविधिक व्यवस्थापनसहित प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको प्रालिले जनाएको छ।
आयोजकले प्रतियोगितामा २५० भन्दा बढी खेलाडीको प्रत्यक्ष सहभागिता रहने र करिब ५० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अपेक्षा गरेको छ। उक्त संख्या आयोजकको अनुमानित लक्ष्य हो। प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आयोजकले प्रथम हुने टिमलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टिमलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रस्ताव गरेको छ। तृतीय पुरस्कार बारे आयोजकले पछि नै निर्णय लिने बताएको छ ।
यसका अतिरिक्त विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक ५ गते साँझ ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क आठ हजार रुपैयाँ तोकिएको छ। प्रत्येक टिममा १० जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १२ जना रहने व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुन क्लब वा अन्य कुनै आधिकारी समूह सञ्जाल हुनुपर्नेछ। त्यो नभएको अवस्थामा सम्बन्धित स्थानीय तहमा वडा वा पालिकाको लिखित सिफारिसपत्र पेस गर्नुपर्नेछ। उक्त पत्रमा सहभागी खेलाडीको नामसमेत उल्लेख भएको हुनुपर्नेछ। खेलाडीले आफ्नो परिचय खुल्ने आधिकारिक प्रमाण पनि बुझाउनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा विदेशी खेलाडीले समेत सहभागिता जनाउन पाउनेछन्।
टिमको खाना तथा बसोबासको व्यवस्था सम्बन्धित क्लब वा टिम आफैँले गर्नुपर्नेछ। कात्तिक ७ गते बिहान ९ बजेसम्म खेल तालिका सार्वजनिक गर्ने र बिहान ११ बजे औपचारिक उद्घाटनसहित खेल सुरु गर्ने तयारी गरिएको छ। उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारसहित खुला देउडा तथा मैत्रीपूर्ण खेल सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागि टिमले आफ्नो आधिकारीक जर्सीमा मदिरा तथा प्लास्टिकजन्य वस्तु वा पदार्थको प्रचारप्रसारमा पूर्ण रोक लगाइने पनि प्रालिले स्पष्ट पारेको छ। बडीमालिका धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनासँग जोडिएको महत्त्वपूर्ण पहिचान हो।
यही पहिचानलाई खेलकुदसँग जोडेर राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले मार्तडीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। प्रतियोगिताले खेलकुद गतिविधि विस्तार गर्नुका साथै स्थानीय व्यापार, होटल व्यवसाय, पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
खेलकुद मार्फत युवालाई अनुशासन, सहकार्य र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको छ। आयोजकले प्रतियोगितालाई केवल चार दिनको खेल गतिविधिका रूपमा नभई प्रकृति संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा विकास गर्न खोजेको जनाएको छ।
खेलाडी, दर्शक तथा अतिथिमाझ वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्ने र वातावरणीय चेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
बडीमालिका कपलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रालिले विभिन्न सरकारी तथा गैरसरकारी निकाय, वित्तीय संस्था, उद्योगी, व्यवसायी र अन्य संघसंस्थालाई सहकार्यका लागि आह्वान गरेको छ।
आयोजकले मुख्य र सहायक गरी दुई प्रकारका प्रायोजन प्रस्ताव गरेको छ। मुख्य प्रायोजकका लागि दुई लाख रुपैयाँ र सहायक प्रायोजकका लागि एक लाख रुपैयाँ सहकार्य राशि प्रस्ताव गरिएको छ।





प्रतिक्रिया