गाैमुल खबर डटकम आइतबार २५, असोज २०८३ ०४:१८

कांग्रेस सभापतिमा गगन थापा विजयी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज २४, २०८३
कांग्रेस सभापतिमा गगन थापा विजयी

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। पार्टीको १५ औं महाधिवेशन अन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार थापाले ६५८४ मत ल्याउँदा खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कूल ७०१३ खसेको मतमध्ये ५४ मत बदर भएको समितिले जनाएको छ।

null

 

थापाले यसअघि पार्टी सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो। खड्गी विरुद्ध भारी मतसहित थापा सभापतिमा निर्वाचित भएका हुन्।

उनी यसअघि विशेष महाधिवेशनबाट सभापति भएका थिए। विशेष महाधिवेशनपछि पार्टी पनि दुई धारमा विभाजन भएको थियो। कांग्रेसको पार्टी आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले गगन थापालाई आधिकारिकता प्रदान गरेपछि निवर्तमान सभापतिसमेत रहेका शेरबहादुर देउवा समूहले समानन्तर गतिविधि गर्दै आएको छ।

देउवा समूहले संस्थापन पक्षको महाधिवेशन बहिष्कार गर्दै आफैंले १५औं महाधिवेशन गर्ने मिति तय गरिसकेको छ। यद्यपि, अदालतकै फैसलाको पुनरावलोकनसम्बन्धी मुद्दाको पनि किनारा लाग्न बाँकी छ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध भइसकेका छन्।

को हुन् गगन थापा ?

विसं २०३३ साउन ४ गते सोलुखुम्बुमा जन्मिएका थापाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनबाट सुरु भएको हो। त्यतिबेला कक्षा ९ मा अध्ययनरत १४ वर्षीय थापा बाल कांग्रेसका रूपमा आन्दोलनमा सहभागी भएका थिए। त्यसपछि उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएर सक्रिय विद्यार्थी राजनीतिमा लागे।

विसं २०५१ मा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य निर्वाचित भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति बने। विसं २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका उनी २०५९ देखि २०६१ सम्म संगठनको महामन्त्री रहे।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि थापा राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय भए। नेपाली कांग्रेसभित्र गणतन्त्रको मुद्दा स्थापित हुनुअघि नै उनले गणतन्त्र र संविधानसभाको पक्षमा आवाज उठाएका थिए।

विसं २०६२/०६३ को जनआन्दोलनमा विद्यार्थी नेताका रूपमा अग्रपंक्तिमा रहेका थापा आफ्ना आक्रामक भाषण र अभिव्यक्तिका कारण चर्चामा आए। तत्कालीन राजाको सक्रिय शासनको विरोध गर्दा उनले पटक–पटक पक्राउ पर्नुका साथै राजद्रोहको मुद्दासमेत खेप्नुपर्‍यो।

गणतन्त्र, संविधानसभा र राजनीतिक परिवर्तनका पक्षमा उनले लिएको अडानले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। कांग्रेसले पनि विसं २०६२ मा आफ्नो विधानबाट संवैधानिक राजतन्त्रप्रतिको प्रतिबद्धता हटाएको थियो।


विसं २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुँदै थापा संसदीय राजनीतिमा प्रवेश गरे। विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका उनी संविधान निर्माण प्रक्रियामा सक्रिय रहे।

विसं २०७१ मा संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थापा २०७३ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भए। करिब नौ महिना मन्त्री रहँदा उनले स्वास्थ्य क्षेत्रको सुधार र संघीय संरचनाअनुसार स्वास्थ्य सेवाको व्यवस्थापनका लागि विभिन्न पहल गरेका थिए।

विसं २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापा संसद्मा सार्वजनिक सेवा, सुशासन, जनजीविका र सरकारका कामकारबाहीबारे प्रश्न उठाउने नेताका रूपमा परिचित रहे।

विसं २०६७ मा सम्पन्न कांग्रेसको १२औँ महाधिवेशनमा अत्याधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थापाले पार्टीभित्र सुधारको आवाज उठाउँदै आएका थिए। १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिए पनि उनी निर्वाचित हुन सकेनन्।

विसं २०७८ मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनमा भने उनी महामन्त्री पदमा निर्वाचित भए। महामन्त्री बनेपछि पनि थापाले पार्टीको संगठन, नेतृत्व शैली र कार्यपद्धतिमा सुधार आवश्यक रहेको भन्दै आवाज उठाउँदै आएका थिए।

पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दालाई अघि बढाएका थापाले महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूसँग मिलेर विशेष महाधिवेशनको पक्षमा भूमिका खेले। पार्टी नेतृत्व परिवर्तनलाई प्रमुख एजेन्डा बनाएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए।

प्रतिक्रिया