गाैमुल खबर डटकम शनिबार १७, असोज २०८३ ०३:०३

किसानको खेतदेखि विद्यार्थीको थालीसम्म : गौमुलमा स्थानीय उत्पादन जोड्ने अभियान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १६, २०८३
किसानको खेतदेखि विद्यार्थीको थालीसम्म : गौमुलमा स्थानीय उत्पादन जोड्ने अभियान

बाजुरा ः स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई विद्यालयको दिवा खाजा कार्यक्रमसँग जोड्दै आपूर्ति शृंखला व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले बाजुराको गौमुल गाउँपालिकामा सहकारी, कृषक समूह तथा कृषकहरुका लागि एकदिने तालिम सञ्चालन गरिएको छ।

गौमुल गाउँपालिका घट्मुनामा आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रम’ अन्तर्गतको तालिममा सहकारी, कृषक समूह तथा कृषकहरुलाई विद्यालय दिवा खाजाका लागि आवश्यक स्थानीय कृषि उत्पादनको आपूर्ति, व्यवस्थापन तथा समन्वयका विषयमा जानकारी दिइएको हो।

तालिमको सहजीकरण विश्व खाद्य कार्यक्रम (WFP) का दानबहादुर साउँदले गरेका थिए। स्थानीय उत्पादनलाई व्यवस्थित रुपमा संकलन तथा आपूर्ति गर्दै विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा तालिम केन्द्रित रहेको जनाइएको छ।

कार्यक्रममा गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा, वडा अध्यक्षहरु देव रोकाया, अमर विक, गोरख बोहरा, देवेन्द्र रोकाया र प्रकाश रोकाया, कार्यबाहक वडा अध्यक्ष रामबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र विक लगायत विषयगत शाखाका प्रमुख, सहकारीका प्रतिनिधि तथा स्थानीय कृषकहरुको सहभागिता रहेको थियो।

स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजलाई विद्यालय दिवा खाजा कार्यक्रमको आपूर्ति प्रणालीसँग जोड्न सकेमा कृषकको उत्पादनको बजार सुनिश्चित हुनुका साथै विद्यालयका बालबालिकाले स्थानीय तथा पोषणयुक्त खाजा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया