गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ ०१:०८

दुर्व्यसनको दलदलमा युवा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २९, २०८१
दुर्व्यसनको दलदलमा युवा

नेपाली युवाको ठूलो संख्या लागुऔषध दुर्व्यसनको चपेटामा छ। पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले यो समस्या घट्दो नभई बढ्दाे देखाउँछ। लागुऔषध दुर्व्यसनमा लागेका २७ हजार २० जना व्यक्ति देशभरमा पक्राउ परेका छन्। यो चानेचुने संख्या होइन।

१७ हजार ७ सय ४५ वटा मुद्दा त प्रहरीले लागुऔषध सम्बन्धमा दर्ता गराएको छ। युवा खासगरी २६ देखि ३५ वर्षका व्यक्ति यसको कुलतमा परेको देखिन्छ। यो उमेरसमूह भनेको देशका लागि, समाज र परिवारका लागि अत्यन्तै आवश्यक जनशक्ति हो, तर कुलतमा परेको छ।

एकजना युवा कुलतमा फस्नु ऊ स्वयंको जीवन बर्बादीमात्रै होइन, परिवार र समाजका लागि, देशका लागि ठूलो नोक्सानी हो। आफैंलाई लठ्याउने नशामा परेको परिवारको सदस्यले परिवारलाई मात्रै तनाव दिँदैन, उसकै कारण थुप्रै आर्थिक र सामाजिक क्षतिसमेत हुन्छ। यो व्यक्तिगत कमजोरी होइन।

कोही लागुऔषध दुर्व्यसनमा फस्नु परिवार र समाजकै पनि कमजोरी हो। यसको समाधानमा राज्यसम्मले ध्यान पुर्‍याउन जरुरी छ। समाजमा भइरहेका दुर्घटना, चोरी, डकैती र लुटपाटजस्ता घटनाको भित्री कारण लागुऔषध दुर्व्यसन रहेको पनि देखिन्छ। तसर्थ सिंगो समाजको दायित्व यसको नियन्त्रणमा हुनुपर्छ।

कानुन र प्रहरीको प्रयासबाट मात्रै नियन्त्रण सम्भव हुँदैन। कानुनकै कुरा गर्ने हो भने लागुऔषध नियन्त्रण ऐन, २०३३ ले कारोबार र प्रयोगमा कडा सजायको व्यवस्था गरेको छ। कडा सजाय र दण्डमात्रै कुनै पनि गलत व्यवहार समाधानको उपाय पनि त होइन। त्यो एउटा उपाय होइन, सबथोक होइन।

सबथोक त समाजमा नैतिकता, संस्कार र इमान्दारीपनको विकास गर्नु र नागरिकलाई आफैंप्रति, परिवारप्रति, समाज र देशप्रति उत्तरदायी बनाउनु हो।  नेपालका सहर बजारमा सजिलै लागुऔषध भेटिनुको प्रमुख कारण भारतसँगको खुला सिमाना हो। त्यहाँबाट लुकीचोरी सजिलै नेपालमा लागुऔषध भित्रन्छ।

नेपालबाट गाँजा, चरेस भारत जाने र उताबाट ब्राउनसुगरजस्ता लागुपदार्थ भित्रिने गरेको प्रहरीकै अनुभव छ। सीमामा कडाइ गर्न जरुरी छ। अनि घरगाउँ र समाजमा लागुऔषध नियन्त्रणका लागि सचेतनालगायत अभियान पनि चलाउनुपर्छ। यसै सातादेखि नेपाल प्रहरीका विभिन्न एकाइले त्यस्तो अभियान पनि चलाएका छन्।

तर, प्रहरीले मात्रै यसमा सचेतना पुर्‍याउने र नियन्त्रण गर्ने गर्न सम्भव हुँदैन। उसलाई समाजको साथको आवश्यकता हुन्छ। आज कसैको परिवारको सदस्य कुलतमा छ भनेर अरुले वास्ता नगर्ने हो भने भोलि कुलतको डढेलोले जसलाई पनि खरानी बनाउन सक्छ भन्ने समाजका प्रत्येक सदस्यले मनन् गर्नुपर्छ। लागुऔषध मुक्त समाजका लागि बहुआयामिक पहल जरुरी छ। साभार ः अन्‍नपूर्णको सम्पादकीय

प्रतिक्रिया