बाजुरा : गौमुल गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका अर्गानिक सुन्तला कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी गर्ने भएको छ । गौमुल गाउँपालिका र कृषि ज्ञान केन्द्रसंग समन्वय गरी ढुवानी गरेर विक्री गर्न चाहाने कृषकका सुन्तला बारीबाट नै ढुवानी गरिने भएको छ ।
ढुवानी गरेर सदरमुकाम मार्तडीसम्म विक्री गर्नका लागि समन्वय गरी कृषि ज्ञान केन्द्र गौमुल गाउँपालिका–४ खडीखेतमा उत्पादन भएका सुन्तला ढुवानी गरेर बुधबारदेखि मार्तडी बजारमा विक्री हुन थालेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहनीले बजारीकरणका लागि गौमुल गाउँपालिकाको समन्वय तथा ज्ञान केन्द्रको ढुवानी अनुदानमा मार्तडीमा विक्री गर्न थालेको बताएका छन् ।
ढुवानी र बजारीकरणको अभावमा बारीमै थन्किएको सुन्तला विक्रीका लागि ढुवानी अनुदानबाट विक्री गर्न सुरु भएको उनले बताएका छन् ।
त्यस्तै सुन्तला उत्पादक कृषक पारु रोकायाले आफूले सरस्वती पूजा बहुउदेश्यीय कृषि फर्म खोलेर लामो समयदेखि सुन्तला उत्पादन गर्दै आएको भएपनि बजारीकरण नहुँदा बारीमै खेर जाने गरेको बताएकी छन् ।
तर गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले कृषि ज्ञान केन्द्रसंग ढुवानी अनुदान सहयोग गर्न आग्रह गरेपछि बजारसम्म पुर्याउन सफल भएको बताएकी हुन् ।
पारुले अहिले बारीमा ५ सय बोट सुन्तला फलेर पाकिसकेको र बुधबारबाट मार्तडीमा विक्री कक्ष स्थापना गरेर विक्री गर्न सुरु गरिएको छ । मार्तडी बजारमा अहिले प्रतिकिलो सुन्तलाको मूल्य १ सय रुपैयाँमा विक्री गरिने भएको छ ।
गौमुल गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले कृषकलाई सुविधाहोस् भन्ने उद्देश्यले सदरमुकाम मार्तडीसम्म ढुवानीका लागि समन्वय गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
स्वादिलो सुन्तला भएका कारण अर्गानिक सुन्तला विक्री हुने विश्वास कृषि ज्ञान केन्द्रले लिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहनीले बताएका छन् । बाजुरामा १५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ ।
जिल्लामा सबै भन्दा बढी गौमुल, बडीमालिकाको माथिल्लो भाग, बुढीगंगा, जगन्नाथ र बुढीनन्दामा सुन्तला फाल्ने गरेको छ । पछिल्लो समय किसानहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
राम्रो उत्पादन हुन थालेपछि व्यवसायीक रुपमा धेरै किसानहरु अन्य खेती लागउन छोडेर सुन्तला खेतीमा लाग्ने गरेका छन् । पछिल्लो समय जिल्लामा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिन थालेपछि फलफूल तथा कृषि उपज वस्तुहरु बजारिकरण तथा जिल्ला बाहिर निर्यातमा वृद्धि भएको छ ।
प्रतिक्रिया