गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:०९

स्वामीकार्तिक खापर उपनिर्वाचन : कांग्रेस र एमालेको मुख्य प्रतिस्पर्धा, माओवादी एक्लै लड्ने, समाजवादीको उम्मेदवार टुङ्गिएन

बाजुरा
भानुभक्त आचार्य
मङ्गलबार, कार्तिक २७, २०८१
स्वामीकार्तिक खापर उपनिर्वाचन : कांग्रेस र एमालेको मुख्य प्रतिस्पर्धा, माओवादी एक्लै लड्ने, समाजवादीको उम्मेदवार टुङ्गिएन

बाजुरा : आगामी मङ्सिर १६ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनको सरगर्मी सुरु भएको छ । मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नेगरी दलहरू उम्मेदवार छनोटमा लागिरहेका छन् । जोशी ०७९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेस एमाले सत्ता गठबन्धन भए पनि यहाँ दुवै पार्टी एकआपसमा भिड्दै छन् । कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले सघाउने सङ्केत गरेको छ तर, निर्णय भने गरेको छैन । उसो त माओवादीले पनि उपनिर्वाचनको लागि काङ्ग्रेससँगै रहने सङ्केत गरेको थियो । तर, केन्द्रीय सचिवालयले उम्मेदवार उठाउने निर्णय गरेपछि बाजुरामा माओवादीको पनि उम्मेदवार हुने भएको छ ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याइन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।

यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो । अहिले भने कांग्रेस एमालेसँगै माओवादीले पनि आफ्नो उम्मेदवार उठाउने जनाएको छ । नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढालाई, कांग्रेसले कुन्तिसरा शाही र नेकपा माओवादी केन्द्रले राजुकुमारी विकलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्।

नेकपा एकीकृत समाजवादी भने उम्मेदवारको नाम विना नै उपनिर्वाचनमा होमिएको छन् । कांग्रेस जिल्ला सभापति रामसिंह रावलले आफ्नो पार्टीले उम्मेदबारेको टुङ्गो लाइसकेको बताउँदै अन्य पार्टीलाई सहयोग गर्न सकिने अवस्था नरहेको बताएका छन् । उपनिर्वाचनका लागि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले वार्ता टोली गठन गरेका छन् ।

कांग्रेस सभापतिले भने आफ्नो पार्टीको उम्मेदवारलाई साथ दिने अवस्थामा मात्रै वार्ता टोलीको सार्थकता हुने बताए । ‘हामीले उम्मेदवारको टुङ्गो लगाइसकेका छौँ, हाम्रो उम्मेदवारलाई साथ दिने विषयमा वार्ता टोलीको सार्थकता होला हामी अरूलाई सहयोग गर्न सक्दैनौँ’ उनले भने । अघिल्लो पटक झिनो मतले पराजित भएको भन्दै अहिले पार्टीको जित निश्चित रहेको एमाले बाजुरा अध्यक्ष लालबहादुर ओली बताउँछन् ।

‘कांग्रेस र एमालेबिचकै मुख्य प्रतिस्पर्धा हो। अघिल्लो पटक गठबन्धनका कारण हामीलाई धक्का लागेको हो अहिले जित्छौँ’, उनले भने । केही दिन अघिसम्म एमाले बाहेकका तीन दलबिच चुनावी तालमेल गर्नेगरी वार्ता टोली समेत गठन गरिएको थियो । कांग्रेसले आफ्नो उम्मेदवारलाई बाहेक अन्यलाई समर्थन नगर्ने माओवादीले आफ्नै उम्मेदवार खडा गर्न भएपछि वार्ता टोलीको पनि औचित्य सकिएको विश्लेषण गरिएको छ ।

माओवादी प्रदेश कमिटी सदस्य सुरेश विक आफ्नो पार्टीको उम्मेदवार हुने बताउँदै गठबन्धन हुने अवस्थामा समाजवादी मोर्चासँग मात्रै हुने बताउँछन् । ‘हाम्रो केन्द्रीय सचिवालयले कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ । गठबन्धन गर्नै परे समाजवादी मोर्चासँग मात्रै गर्ने हो ’ उनले भने, ‘हामीले कांग्रेस एमालेसँग तालमेल गर्दैनौँ । ’

तीन वटै दलका तर्फबाट चुनावी तालमेलका लागि वार्ता टोली गठन गरिएको र त्यसैको आधारमा सहमतिको प्रयास अघि बढेको नेकपा एकीकृत समाजवादीका बाजुरा जिल्ला अध्यक्ष पुर रावतले जनकारी दिए ।

‘कांग्रेस माओवादी र हामीबिच चुनावी तालमेल हुने गरी हामीले छलफल गरिरहेका छौँ ’ उनले भने, ‘यी तीन दल मध्ये जसको उम्मेदवार भए पनि हामी सबैले मिलेर जिताउने विषय हामीले छलफल गरेर निष्कर्ष निकालिसकेका छौँ ।’

प्रतिक्रिया