गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५५
Dho

मुगुको गमगाड जहाँ एकै दिन ६ जना भेलमा खसे

३ वर्षमा पुलको पिलरमात्रै, साँघुको धरापमा जीवन
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०५, २०८१
मुगुको गमगाड जहाँ एकै दिन ६ जना भेलमा खसे

काठमाडौं : सोमबार जनै पूर्णिमाका दिन, मुगुको छायानाथ रारा नगरपालिका–१, अल्कासाँघुस्थित गमगाड खोलामा साँघुबाट महिला र बच्चा खसे, केही क्षणपछि एक पुरुष र महिला खसे, फेरि दुईजना खसे । यी फरक फरक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि दुनियाँको ध्यान तानिएको छ तर सर्वसाधारणको यो सास्तीमा सरकारको आँखा पुगेको छैन ।

मुगुम कार्मारोङ गाउँपालिकास्थित छायानाथधाम यो क्षेत्रको मुख्य तीर्थस्थल मानिन्छ । त्यहाँ आसपासका जिल्लाबाट समेत दर्शनार्थीको घुइँचो हुन्छ । सोमबार मेलाबाट फर्किंदै गरेका ६ तीर्थयात्री साँघुबाट खसे । धन्न, भीडभाड भएकाले उनीहरूको उद्धार भयो । काठे साँघुसँगै पक्की पुलको निर्माण भइरहेको छ ।

४० मिटरको पक्की पुल बनाउन २०७८ सालमै ठेक्का लागेको थियो । हिम सगरमाथा प्रालिले यो क्षेत्रमा साना ठूला १० पुल बनाउन ठेक्का पाएको ३ वर्ष भइसक्दा पनि प्रगति निराशाजनक छ । हिम सगरमाथाले ठेक्का लिएकामध्ये गमगाडको पुल सबैभन्दा लामो अर्थात ४० मिटर छ । सडक डिभिजनले ५० प्रतिशत काम भएको दाबी गरे पनि दुईतिर पिलर मात्र ठडिएका छन् ।

पुल नबन्दा गमगढीमा अध्ययन गर्ने विद्यार्थी, दैनिक उपभोग्य सामान किनमेल गर्नेहरू र जिल्ला अस्पतालमा उपचारका लागि धाउने बिरामीले सास्ती भोग्दै आएको स्थानीय शिक्षक मोहन शाहीले बताए । ‘गाउँसम्म गाडी पुगे पनि ६ महिनाभन्दा बढी चल्दैन, त्यही काठको लाप्कोबाटै वारपार गरी सदरमुकाम धाउनुपर्छ, लाप्कोबाट दुई–तीन जना नखसेको दिनै हुँदैन,’ उनले भने, ‘पक्की पुल बने कम्तीमा ढुक्कले खोला त तरिन्थ्यो ।’

उनका अनुसार अहिले गमगढीदेखि मुगुम कार्मारोङको छाइल बजारसम्म १८ किलोमिटरमा सडक पुगेको छ । तर, पुल नहुँदा हिँउदमा मात्रै यातायातमा सुविस्ता छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटी भन्छन्, ‘हिम सगरमाथाले ३२ करोड रुपैयाँमा १० वटा पुल निर्माण गर्ने ठेक्का पाएको हो । त्यसमा ४० मिटरका २ वटा र २० मिटरका ३ वटाबाहेक अन्य साना पुल छन् ।

आगामी असारसम्म सबै सक्ने योजना छ ।’ निर्माणाधीन १० वटै पुलको लम्बाइ जोड्दा २ सय ४५ मिटर हुन्छ । धेरैजसो पुलको प्रगति १०–२० प्रतिशत मात्र रहेको जनप्रतिनिधिहरूको भनाइ छ । छायानाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्लका अनुसार पक्की पुलको निर्माण नसकिएसम्म खोलामाथि राखिएको काठको साँघुबाट भेल तर्नुको विकल्प छैन ।

‘पुलमा एउटा मात्र फल्याक थियो, त्यसमाथि तीर्थयात्रीको घुइँचो,’ उनले भनिन्, ‘अरू तीर्थयात्री भएकाले धन्न साँघुबाट खसेकाको ज्यान बच्यो ।’ उनले घटनापछि पुल निर्माणमा संलग्न ठेकेदार कम्पनीलाई सम्पर्क गर्ने प्रयास गरेको तर सम्पर्कमा नआएको बताइन् । उपप्रमुख मल्लका अनुसार नगरपालिकाले गत वर्ष मात्रै १० लाख रुपैयाँ खर्च गरेर गमगाड खोलामाथि दुई ठाउँमा काठको साँघु हालेको थियो ।

आइतबार राति आएको बाढीले आसपासको जमिन कमजोर बनाएकाले साँघु हल्लिँदा तीर्थयात्री खसेका हुन् । उनका अनुसार मुगुम कार्मारोङका सबै वडा र छायानाथ नगरपालिकाका १०, ११, १२ वडाका बासिन्दाले सदरमुकाम गमगढी आउजाउ गर्ने मुख्य बाटो त्यही हो । गमगढी–नाग्चेनाग्ला सडकअन्तर्गत पर्ने उक्त बाटोबाट हिउँदमा यातायातका साधन सञ्चालन हुन्छन् तर बर्खाका ४ महिना भने साँघुकै भर पर्नुपर्ने बाध्यता छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले मंगलबार साँघुको निरीक्षण गरी आवतजावत सहज बनाउन पुलमा फल्याक फेरिएको बताए । उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जना परिचालन गरी पुलमा फल्याक फेरिएको हो । ‘२ वटा फल्याक लगाएका छौं, तत्काल ठूलो बाढी नआए कुनै समस्या छैन,’ उनले भने, ‘पक्की पुल छिटो बनाइसक्न पनि पहल भइरहेको छ ।’

गमगाड खोलामाथि सोही स्थानमा रहेको झोलुंगे पुल २०७९ असोजमा आएको बाढीले बगाएपछि त्यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको हो । पक्की पुल निर्माण भइरहेकाले यो वर्ष काठे पुलमा रकम विनियोजन नगरिएको नगरपालिकाका प्रवक्ता पदमराज मल्लले बताए ।

‘हामी प्राविधिक होइनौं । प्राविधिकले ५० प्रतिशत सकिएको छ भन्छन् । हामीले हेर्दा ३५–४० प्रतिशत सकिएको जस्तो लाग्छ,’ उनले भने, ‘ठेक्का अवधि बाँकी नै रहेकाले समयमै सकिने आश्वासन पाएका छौं ।’

प्रतिक्रिया