गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२५
Dho

बुढीनन्दाका मोहनी लगाउने तालहरु

बाजुरा
रमित वि.क.
बुधबार, साउन ३०, २०८१
बुढीनन्दाका मोहनी लगाउने तालहरु

बाजुरा : १५ हजार फिट उचाईको पहाड । जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ । १० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ । पहाडै पहाडको शहर छ । थप शोभा बढाएको छ, तालहरूले । जहाँ दर्जनको सङ्ख्यामा साना ठूलो तालहरू छन् । ती तालहरूको विशेषता आ–आफ्नै छ ।

कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि त कोहीले मानवसँग पनि । पुग्नेहरू स्वर्गकै उपमाको संज्ञा दिन्छन् । सो स्थानमा बुढीनन्दा भगवतीले बास गर्छिन् । देवीको प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा वर्षको एक पटक पूजा हुन्छ । धार्मीक आस्थाको धरोहरका रुपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागमा रहेका तालहरूले दिएका छन् ।

उक्त क्षेत्रबाट मुगु, हुम्ला कालिकोट सहीतका जिल्लाहरूको दृश्य नियाल्न सकिन्छ, भने बझाङ्गमा रहेको साइपाल हिमाल र जेठीबैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ । तालहरू मध्ये राक्षस दहमा दर्शनार्थीहरूले नजर समेत लगाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । सोही मान्यता अनुसार ताल देखिएपनि दर्शनार्थीहरूले नदेखे झै गर्ने गर्छन् ।

त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकोले दृश्य पनि निकै कालो देखिने गरेको, बुढीनन्दा दर्शन गर्न गएकाहररू बताउँछन् । राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको बर नपाईने गरेको किवदन्ती रहेको छ । मन्दिर नजिकै रहेको अर्को तालमा दर्शनार्थीहरूले नुहाउने, गर्छन् । उक्त दहका नुहाएमा पापबाट मुक्त भइने र देवी खुसी भएर मागेको बर दिने भनाई छ ।

तर, त्यसको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन हुन सकेको छैन। १५ हजार फिट उचाईमा देवीको मन्दिर छ  त्यो पनि पूर्खाहरूुले ढुङ्गाले बनाएको छ । संरचना राम्रो नभएपनि स्थान प्रकृतिकै उपमा रहेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको भनाई रहेको छ ।

तिलिचो पछिको दोस्रो उचाईमा रहेका तालहरू बुढीनन्दामा पर्छन् । राज्यले कुनै खोजी गरेको छैन्, बोहराले गुनासो गरे । अब प्रचार प्रसार गर्ने र मुलधारमा ल्याउने जिम्मेवारी हाम्रो हो, हामी पालिका स्तरबाटै नै सुरुवात गर्छौ, बोहराले थपे । बुढीनन्दाको प्रचारप्रसार नहुँदा थाह भएकाहरू मात्र दर्शनका लागि जाने गरेका छन् ।

बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आएपनि प्रचारको कमी रहेको छ । तालैतालको पाटनले भरिएको क्षेत्र हो, बुढीनन्दा । जहाँ उच्च हिम श्रृंखला भएको क्षेत्रमा दर्जन बढी ताल छन् । भक्तजनहरूले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन् ।

बडिमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मीक विश्वास स्थानीयमा छ । निःसन्तानीलाई सन्तान, दुःखीलाई सुःख अन्न धन प्राप्त हुने विश्वास हुने विश्वास छ । मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ । कुरुखोलाको बासपछि धनभण्डार लेकमा पुगिन्छ ।

त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बढीनन्दा पुगिन्छ । नेपालगञ्जबाट कोल्टी विमान स्थल हुँदै गएमा दुई दिनमा पनि पुगिन्छ । तर, धार्मिक मान्यता अनुसार तीन दिन लगाएर पुग्नुपर्ने हुन्छ । सँधैको समयमा सो क्षेत्र जान सकिँदैन् । जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ ।

मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरूका लागि सन्तान प्राप्त हुने धार्मीक विश्वास रहि आएको छ । सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ । उनीहरूले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् ।

वर्षात्का चार महिना तल्लो क्षेत्रमा भेडा च्याङ्ग्रा चरिचरनका लागि छोडिन्छ भने हिउँ पग्लिएपछि जडिबुटीका लागि पनि स्थानीय बुढीनन्दा पाटन जाने गरेका छन् । आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झर्नाहरूले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।

खाली खुट्टाले एक दिनको पैदल यात्रा गरे पनि खुट्टामा कुनै प्रकारको कठिनाई नहुने विश्वास छ । सोही बमोजिम बुढीनन्दा यात्रामा जाने भक्तजनहरूले खाली खुट्टा दर्शनका लागि मन्दिर पुग्ने गर्छन्। दलित समुदाय जानु हुँदैन, अनिष्ट हुन्छ भन्ने कुमान्यता रही आएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ ।

बुहुमूल्य जडिबुटीको खानी तथा लोपन्मुख बन्य जन्तु र चराचुरुङ्गीहरूको बसोबास क्षेत्र पनि सोही स्थानमा पर्छ। रङ्गी चङ्गी फूलहरूको मनमोहक दृष्य हेर्न पाउनु भक्तजनहरूका लागि अर्को सौभाग्य पनि हो । यो क्षेत्र मानसरोसर क्षेत्रसँग पनि जोडिएकोले धार्मिक विशेष बढी रहेको छ ।

सरकारी प्रयास शून्य

बुढीनन्दा क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारी प्रयास भने भएको छैन् । प्रकृतिको उपमा बुढीनन्दा राज्यको नजर बाहिर छ । त्यसको न त प्रचार हुन सकेको छ नत संरक्षण नै । २०७० सालमा तत्कालिन नेकपा एमाले बाजुराले बुढीनन्दा यात्रा गरेको थियो ।

त्यसपछि मात्रै दलित समुदायले त्यो क्षेत्रमा प्रवेश पाएको थियो । त्यस अभियान पछि मात्र बुढीनन्दाले बढी महत्व पाएको हो । त्यो बाहेक नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले ब्रोसर प्रकाशन गरेको छ ।

हुनुपर्ने जति प्रचार नहुँदा पनि बुढीनन्दाको सौन्दर्य र महिमाले चर्चा पाएको छैन् । केही प्रचारका गतिविधि बुढीनन्दा नगरपालिकाले गरिरहेको छ । जसका कारण स्वर्ग जस्तै बुढीनन्दा ओझेलमा रहेको छ ।  

प्रतिक्रिया