गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०७:२३
Dho

बाजुरा सहित सुदूरपश्चिममा वर्षा : पहिरो खसेपछि ठाउँठाउँमा सडक अवरुद्ध

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार २३, २०८१
बाजुरा सहित सुदूरपश्चिममा वर्षा : पहिरो खसेपछि ठाउँठाउँमा सडक अवरुद्ध

धनगढीः सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ। वर्षाका कारण खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ भने कतै बाढीका कारण स्थानीय जोखिममा परेका छन्। लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ–श्रीभावर सडक अवरुद्ध भएको छ।

सुर्नया गाउँपालिका–४ बङसल्लामा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो। सतबाँझ–श्रीभावर सडकमा नयाँ कटिङ भएका ठाउँमा पहिरो खसेको छ। उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवतजावतमा समस्या भएको छ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम भइरहेको छ। स्तरोन्नतीका लागि सडक डबल कटिङ गरेको र ठाउँ–ठाउँमा पहिरो खसेको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए। बङसल्ला हुँदै सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने र सनशेरीमाण्डौं हुँदै पालिकाको केन्द्र जोड्ने दुवै सडकमा पहिरो खसेको छ।

बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक/एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। वर्षापछि शनिबार दिउँसो दशरथचन्द नगरपालिका–९ गुवाडास्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको छ।

यस्तै मेलौली नगरपालिका–२ टाकतोलास्थित सुशीलबहादुर चन्दको दुईतले कच्ची घरमा क्षति पुगेको प्रहरी निरीक्षक पाण्डेयले बताए। बर्षाको पानीले घरको पर्खाल भत्किएको हो। त्यस्तै पुर्चौडी नगरपालिका नगरपालिका–९ डण्डाखाली रिउले सार्कीको घरमा पहिरोले क्षति पुगाएको छ।

रिउलेको निर्माणाधिन घरमा माथिबाट खसेको पहिरोले क्षति पुगाएको हो। पहिरोका कारण थप तीन घर जोखिममा परेका छन्। स्थानीय रिउले सार्की, झुसे सार्की र काशी सार्कीको घर उच्च जोखिममा परेका छन्। जोखिम परेका १५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। उता दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन्।

जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन्।लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन्।

सुदूरपश्चिममा तीन दिनसम्म वर्षा हुने अनुमान गरिएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन आग्रह गरेको छ। सो कार्यालयका प्रमुख सञ्जयकुमार साहले कैलाली र कञ्चनपुरका स्थानीयले सतर्कता अपनाउनुपर्ने बताए। पहाडी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकाले अझ बढी सतर्कता अपनाउनुपर्ने उनले बताए।

प्रमुख साहका अनुसार शुक्रबार ११ः३० पछिको तीन घण्टामा मात्रै ३६.६ मिलिमिटर पानी परेको छ। मनसुन न्यून चापीय रेखा केहीदिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले गरेको छ।

वर्षाले कैलालीको भजनी क्षेत्र डुबानमा परिसकेको छ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिममा गरेको मौसम पूर्वानुमान तथा त्यसले पार्ने प्रभावको आधारमा सुदूरपश्चिम प्रदेश सरकारले तयारी अगाडि बढाएको छ।

आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह कार्कीले खोज, राहत र उद्धार नै मन्त्रालयको प्रमुख कार्य रहेको बताउँदै यो मनसुनमा ५३ हजार ३६२ घरधुरी तथा २ लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुन सक्ने बताए।

मन्त्रालयसँग हाल हाल २ सय थान टेन्ट, २ सय थान त्रिपाल मात्र मौज्दात रहेको छ। ४३० थान त्रिपाल खरिद कार्य अगाडि बढाएको कार्कीले बताए। भूक्षय तथा नदी कटान रोकथामको लागि एक हजार थान बोरा खरिद गरिएको छ।

विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले विपत् व्यवस्थापन कोष खडा गरेको छ। सो कोषमा हाल १८ करोड बजेट रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया