जुम्ला : बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरू आमा बनेका छन् ।
स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर समूह हेर्दा यो तथ्यांक भेटिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
सबैभन्दा धेरै गुठीचौर गाउँपालिकामा ३३ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बनेका छन् । पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी आमा बनेका छन् ।
यो तथ्यांकले जुम्लामा बालविवाहको अवस्था निकै भयावह देखाएको छ ।जनस्वास्थ्य कार्यालय जुम्लाकी सिनियर अनमी मोर्चा शाही गाउँघरमा सानै उमेरमा विवाह गर्ने चलन कायमै रहेको बताउँछिन् ।
शिक्षाको कमी, गरिबी र देखासिकीका कारण बालविवाह हुने गरेको छ । बच्चा जन्माउने र हुर्काउनेबारे जानकारी नै नभईकन विवाह गर्दा आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘शरीरका अंग पूर्णरूपमा विकास भइसकेका हुँदैनन् ।
जसले गर्दा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने खतरा देखिएको छ । यो चिन्ताजनक अवस्था हो,’ अनमी शाहीले बताइन् ।
स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटा शिक्षाको स्तर बढ्दै गइरहेका बेला कम उमेरमै विवाह गर्नेको संख्या क्रमशः घटेको दाबी गर्छन् ।
उनका अनुसार कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएका परिवार रहेका छन् । जिल्लाका चारवटा वडा त बालविवाहमुक्त वडाका रूपमा घोषित भइसकेका छन् ।
गत आर्थिक वर्षमा जिल्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए । सबैभन्दा बढी चन्दननाथमा १ सय ९० जना किशोरी आमा बनेकामा पातारासीमा १ सय ३४ जना किशोरी आमा बनेका थिए ।
तातोपानीमा ६६ जना, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठीचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना किशोरी आमा बनेका थिए ।
बढ्दो बालविवाह रोक्न स्थानीय सरकारहरूले सरकारी सेवा सुविधा रोक्ने, कानुनी प्रक्रियामा लैजाने, बालविवाह गरेको भोजभतेरमा सहभागी नहुनेदेखि गाउँबस्तीमा सचेतना फैलाउने काम गरिरहेको जनाएका छन् ।
गुठीचौर–४ का वडाध्यक्ष टीकादत्त न्यौपाने बालविवाहले किशोरीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले कडाइ गरिएको बताउँछन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालविवाह कुनै व्यक्ति र एक संस्थाको मात्र प्रयासमा नरोकिने भएकाले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँछन् ।
उनका अनुसार सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह सबैको प्राथमिकताको विषय बनेको भए पनि रोक्न नसक्नु विडम्बना भएको बताए ।
जुम्ला हिमा–१ का किशोरीहरू नै बालविवाह रोक्ने अभियानमा छन् । तर, उनीहरूले बारम्बार धम्की र दबाब खेपिरहनुपरेका छ ।
२०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ । तर अशिक्षा, आर्थिक अवस्था कमजोर र बालविवाह गर्दा हुन सक्ने समस्याका बारेमा पर्याप्त जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन् ।
प्रतिक्रिया