गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१६
Dho

बाजुराको गौमुलमा एक जनामा डेङ्गी संक्रमण

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ३०, २०८१
बाजुराको गौमुलमा एक जनामा डेङ्गी संक्रमण

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा एक जनामा डेङ्गी संक्रमण पुष्टी भएको छ । वडा नं.४ की २० वर्षीया गर्भवती महिलामा डेङ्गी पुष्टी भएको घट्मुना आधारभूत अस्पतालका डाक्टर रामानुज हाथिले बताएका छन् । 

संक्रमित गर्भवती महिलालाई अस्पतालको उपचार कक्षमा चिकित्सकीय निगारानी सहीत उपचार भईरहेको उनले बताए । स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि अस्पताल आएकी थिइन्, उनको चेकजाँचपछि डेङ्गी संक्रमण पुष्टि भएकोमा अहिले अस्पतालमै उपचार भईरहेको र अवस्था भने सामान्य रहेको डाक्टर हाथिले बताएका छन् ।

डेङ्गी संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्न उनले सुझाव दिएका छन् । वर्षभरी नै सितल हुने यहाँ डेङ्गी संक्रमित भेटिनु सामान्य नभएको बताउँदै मनसुन सुरु भएसँँगै डेङ्गी अझ बढ्न सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेको छ । 

मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेङ्गी फैलिने डाक्टर हाथिले बताए । चिकित्सकहरुका अनुसार डेङ्गी रोग डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।

डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुने चिकित्सकहरु बताएका छन् । यसले एक पटकमा १ सय देखि ४ सय वटासम्म अण्डा पार्छ । यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु नहुने घट्मुना अस्पतालका प्रमुख समेत रहेका डाक्टर हाथिले बताए । 

घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउँदा पनि लामखुट्टे छिर्न नपाई डेङ्गी संक्रमणबाट बच्न सकिने चिकित्सकले सल्लाह दिएका छन् । लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्ने उनको भनाई छ । 

घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोप्न, बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि डेङ्गीबाट बच्न सकिने चिकित्सकहरु बताएका छन् ।

प्रतिक्रिया