गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

बाजुराका कृषक स्याउ बारीमै कुहिने चिन्तामा

गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०४, २०८०
बाजुराका कृषक स्याउ बारीमै कुहिने चिन्तामा

बाजुरा : बाजुरामा यो वर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ। वर्षादमा  सधैँ जसो अवरुद्ध भइरहने मार्तडी कोल्टी सडक खण्ड यो बर्ष पनि  ठाउँ/ठाउँमा पहिरोका कारण अवरुद्ध बनेपछि स्याउ ढुवानी गरि बजार सम्म पुर्‍याउन नसकिने स्थिति बनेको छ।

स्याउ पाकेकै समयमा सडक अवरुद्ध भएका कारण स्याउ ढुवानी रोकिएपछि बारीमै कुहिने हुन् कि भन्ने चिन्तामा आफूहरू रहेको स्याउ कृषक हरुले गुनासो गरेका छन्।  बाजुरामा यो बर्ष अत्यधिक मात्रामा स्याउ फलेका छन् ।उत्पादनमा वृद्धि भए पनि पाकेका स्याउ बजार सम्म पुर्‍याउनु कृषकका लागि चुनौती बनेको छ।

बजार नजिक  नहुँदा विक्री गर्न सारै समस्या हुने थालेकाे स्याउ उत्पादक कृषकहरुले बताएका छन् । ढुवानी गरेर अन्यत्र लैजाने व्यवस्था नभएपछि स्याउ बारीमै कुहिने चिन्तामा किसानहरु छन् ।  धेरै ठाउँमा त सडकको पहुँच पुगेको छैन, पहुँच पुगेको ठाउँमा समेत नियमित यातायात सञ्चालन हुदैनन् , त्यसकारण दैनिक दिन थाेरै थाेरै पिठ्युँमा बोकेर मार्तडी लगायतका बजारमा  विक्री गर्ने गरेका छन् ।

यता कृषि ज्ञान केन्द्र बाजुराले विगतका वर्षहरुमा किसानहरुको बारिमै पुगेर स्याउ ढुवानी गर्दै आएको भएपनि यो वर्ष सडक अबरुद्ध भएका कारण समस्या भएको सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । पसडक सुचारु हुने बित्तिकै यो वर्ष पनि स्याउ ढुवानी गर्ने तयारी रहेकाे उनकाे भनाई छ । 

बुढिनन्दा नगरपालिकका नगर प्रमुख जनक बोहराले भने सडक अबरुद्धका कारण स्याउ ढुवानीमा समस्या भएको बताए । पालिका भित्रका किसानहरुको उत्पादनलाई बजारसम्म पुर्याउन पालिकाले विशेष पहल गरिरहेकाे र सडक सञ्चालन भएलगत्तै समस्या समाधान गर्ने बताएका छन् ।

नगरप्रमुख बोहराले नि:शुल्क कृषि एम्बुलेन्स सञ्चालन, कोल्ड स्टोर, निर्माण गर्ने, पकेट क्षेत्रहरु घोषण गर्नका लागी यो आर्थिक वर्षमा नै बेजेट विनियोजन गरेको र पालिकाभित्र खपत हुन नसकेको किसानहरुको उत्पादनलाई बाहिर निर्यात गर्नका लागि पनि पालिकाले पहल गरिहेको बताए । 

पछिल्लो समयमा बाजुरामा स्याउ खेती फस्टाउदै गएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । किसानहरुलाई सहजताका लागि कृषि ज्ञान केन्द्रले ढुवानीका लागी अनुदान दिने लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

हिमाली स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको बताइएको छ ।  बाजुरामा कुल क्षेत्रफको ३५० हेक्टर जमिनमा फलफुल खेती हुने गरेको छ ।  

बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । गत वर्षमा बाजुरामा एक हजार २० मेट्रिकटन उत्पादन भएकाे थियाे । याे वर्ष स्याउ उत्पादमा वृद्धि भएकाे अनुमान गरिएकाे छ ।

प्रतिक्रिया