काठमाडौं : चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १५.५ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।
विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक
रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै जेठ मसान्तसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको छ । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि भएर २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको हो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
२०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
चालु खाता तीन खर्ब बढी बचतमा
समीक्षा अवधिमा चालु खाता ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २०० अर्ब ३८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो । द्दट। समीक्षा अवधिमा शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।
मुद्रा स्फीति ३ प्रतिशत तल
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।
त्यस्तै, तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया