वीरेन्द्रनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेलिब्रिज उद्घाटन गरेका छन् । नेपाली सेनाले ३५ दिनमा निर्माण गरेको हुम्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित चुवाखोलामा कर्णाली नदीमाथि निर्माण गरिएको बेलिब्रिजको आइतबार प्रधानमन्त्री ओलीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्ला पुगेर बेलिब्रिज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपालका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्र जिल्ला हुम्ला थियो ।अब हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएकोमा निकै खुसी छु ।
यो अवसरका लागि नेपाली सेनाले गरेको योगदानका लागि धन्यवाद दिन चाहान्छु ।’ प्रधानमन्त्री ओलीले आफू परराष्ट्रमन्त्री हुँदा नै हुम्लामा सडक यातायातले जोड्ने विषयमा पहल गरेको स्मरण गरे । उनले भने, ‘धेरै वर्ष पहिले म परराष्ट्रमन्त्री हुँदा नै हुम्लालाई सडक सञ्जालसँग जोड्ने विषयमा पहल गरेको थिएँ ।
तर, आज यो सपना पूरा भएको छ । हुम्लामा सडक सञ्जालसँग जोड्नु हुम्लाको मात्र नभएर देशकै सपना पूरा भएको छ ।’ गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कर्णाली करिडोरअन्तर्गतको खार्पुनाथ खोलामा मोटरेबल पुल निर्माणको काममा निर्माण व्यवसायीले ढिलाइ गरेकाले सरकारले आपत्कालीन रूपमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको कार्यान्वयन नेपाली सेनामार्फत गरिएको हो । सेनाले तोकिएको समय अवधिमै खार्पुनाथ खोलामा पुल निर्माण गर्न सफल भएको छ । उक्त पुल उद्घाटन गर्दै ओलीले चीनसँग सिमाना जोडिएको हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिनु नेपालको व्यापार वृद्धिका हिसावले निकै महत्वपूर्ण रहेको बताए ।
उनले चीनसँगको सिमाना जोडिएको हिल्सा नाकामा एसलीसहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिबद्धतासमेत जनाए । उनले हुम्लाका साथै समग्र कर्णालीको अर्थतन्त्र सुधारका लागि कर्णाली करिडोर एक महत्वपूर्ण कडिका रूपमा रहेको उल्लेख गरे । हुम्लाका पर्यटन व्यवसायी विजय लामाले हुम्लाका साथै समग्र कर्णालीको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरमा नियमित यातायात सञ्चालन अझै चुनौतीपूर्ण रहेको बताए ।
उनका अनुसार हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि सडकको स्तरोन्नति नभए यो अर्को मान्छे मार्ने राजमार्गका रूपमा हुन सक्ने जोखिम छ । अब सरकारले यसको स्तरोन्नतिका लागि पहल गर्न आवश्यक छ । कर्णाली करिडोरले दक्षिणी छिमेकी राष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोडेको छ ।
यसलाई कर्णालीवासीको समृद्धिको रेखाका रूपमा भन्ने गरिन्छ । यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भई हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४ सय १० किलोमिटर लामो यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पुर्याउनेछ ।
कर्णाली करिडोरअन्तर्गतको यो पुल निर्माण भएसँगै हुम्लाका नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन आउने र जिल्लाको आर्थिक तथा सामाजिक विकासले गति लिने अपेक्षा गरिएको छ । यो पुल नेपाली सेनाले ४ करोड लागतका विगत साढे एक महिनाभित्र बनाएको हो । जिल्लाका अन्य भू्भागमा सडक सञ्जाल विस्तार भएर गाडीहरू सञ्चालन भए पनि सदरमुकाम भने राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको थिएन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुककै विकट कर्णाली प्रदेशको हुम्ला जिल्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएर कर्णालीको एक सपना पूरा भएको बताए । उनका अनुसार अब कर्णालीका हरेक जिल्लामा सुविधायुक्त सडक पूर्वाधारका साथै अन्य सार्वजनिक सेवाहरूले सुगम बन्दै जाने बताए ।
प्रतिक्रिया