गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१९
Dho

नेपालको झन् नजिक सर्‍यो न्यूनचापीय रेखा, भोलीदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन २६, २०८०
नेपालको झन् नजिक सर्‍यो न्यूनचापीय रेखा, भोलीदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

काठमाडौं :  एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ । त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।

एरिया कभरेजको हिसाबले र मात्राको हिसाबले पनि धेरै पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद महर्जनले जानकारी दिइन् । ‘हिजो र आज अलिकति कम पानी परेको देखिएको छ, भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने क्रम फेरि बढ्ने छ’ उनले भनिन् । उनका अनुसार सोमबारसम्मै मनसुन सक्रिय रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना छ । तर पूरै प्रदेशभर नभई एक–दुई स्थानमा मात्र भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

भोलि (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । शनिबार राति भने सुदूरपश्चिम प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

भोलीदेखि अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिदेखि देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । पर्सि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

आज कोशी, महाकाली, नारायणी, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह सामान्य बढे पनि सतर्कता तहभन्दा तलै रहने छ । नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश र पश्चिम नेपाल सुक्खा थियो ।

लामो समयसम्म खण्ड खण्डमा मात्र वर्षा भए पनि गत सोमबार र मंगलबार देशका अधिकांश भूभाग ओगट्ने गरी पहिलो पटक वर्षा भएको थियो । सामान्य वर्षा हुँदा पनि काठमाडौं र भक्तपुरका केही वस्ती जलमग्न भएका थिए । नदी र खोला किनारका घरमा लेदो माटोसहितको बाढी पसेको थियो । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जलमग्न भएका वस्तीका बासिन्दा अझै पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।

प्रतिक्रिया